कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिलिगुडी–चारआली ५० किलोमिटर पेट्रोलियम पाइपलाइनको सर्भे सकियो

पर्वत पोर्तेल

काँकडभिट्टा — नेपाल–भारत दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन अन्तर्गत भारत पश्चिम बंगालको सिलिगुडीबाट झापा मेचीनगर, चारआलीसम्मको करिब ५० किलोमिटर विस्तारका लागि सर्भे सकिएको छ ।

सिलिगुडी–चारआली ५० किलोमिटर पेट्रोलियम पाइपलाइनको सर्भे सकियो

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले सर्भे लगायतका धेरै काम सम्पन्न भइसकेको जनाए । उनले भने,‘निगमको तर्फबाट सबै काम सकेर सरकारलाई लेखी पठाउँछाैं’, पौडेलले भने, ‘त्यसपछि सरकारले काम सुरु गर्न निर्देशन गर्ने विश्वास छ ।’

उनका अनुसार पाइपलाइन विस्तारमा करिब १० अर्ब खर्च लाग्ने अनुमान निगमको छ । ‘पाइपलाइनको लागत खर्च आ–आफ्रनो सीमाभित्र सम्बन्धित देशले नै बेहोर्ने सम्झौता छ’, पौडेलले भने ।

उनका अनुसार पाइपलाइन सिलिगुडीबाट सीमावर्ती सहर पानीट्यांकीको दक्षिण भेग भएर मेची पुल तार्दै नेपाल पुर्‍याइने छ । मेची पुल तारेपछि मेची भन्सार क्षेत्र हुँदै पूर्व पश्चिम राजमार्गको करिब २५ फुट नजिकबाट २ मिटर मुनी पाइपलाइन विस्तार हुनेछ । जसका लागि भन्सार र सडक विभागले स्वीकृति दिइसकेको पौडेलले जनाए ।

सिलिगुडीदेखि चारआलीसम्म करिब ५० किलोमिटर लामो पाइपलाइन रहने छ । जसमा १५ किलोमिटर क्षेत्र मात्रै नेपाली भूभाग पर्छ । बाँकी ३५ किलोमिटर भारत पर्छ ।

यसअघि पाइप लाइन विस्तारवारे संसदको उद्योग, श्रम तथा उपभोक्ता हित संरक्षण समितिको एक टोलीले स्थलगत अवलोकन गरेको थियो । त्यसअघि भारतीय टोलीले प्रारम्भिक रेखांकनको काम सकेको थियो ।

पाइपलाइनसँगै बोटलिङ प्लान्ट समेत बनाइने छ । जसका लागि परामर्श दाताको चयन भइसकेको छ । निगमका अनुसार करिब चार हजार मेट्रिक टन क्षमताको एलपीजी ग्यासको भण्डारसमेत निर्माण गरिने छ ।

नियमका निर्देशक वीरेन्द्रकुमार गोइतका अनुसार भारतको पानीट्यांकी क्षेत्रमा पाइपलाइन विस्तारमा चुनौती हुन सक्ने जनाए । भारतीय क्षेत्रमा दाँया भागमा घना बस्ती र बाँया पट्टी जंगल रहेकाले चुनौती देखिएको छ । त्यसका सबै जिम्मा भारतले लिने छ ।

प्रकाशित : पुस १०, २०७७ १५:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?