कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

व्यापार सुस्ताएपछि सीमा कडाइ माग्दै व्यवसायी

सिमानामा कडाइ गरिएपछि व्यवसाय उकासिएको रुपन्देहीका उद्योगी, व्यवसायीको भनाइ
माधव ढुंगाना

भैरहवा — कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न लकडाउन र नेपाल–भारत सिमाना सिल गरिएका बेला यहाँका उद्यमी व्यवसायी खुसी थिए । त्यसबेला घरायसी प्रयोजनका नाममा मूल नाकाबाट विभिन्न सामान किनमेल गर्न नेपाली उपभोक्ता अनियन्त्रित रूपमा सीमावर्ती भारतीय बजार जान पाएका थिएनन् । साथै भन्सार छलेर हुने अवैध आयात धेरै नियन्त्रण भयो ।

स्वदेशी व्यवसायी खुसी हुनुको मुख्य कारण यही थियो । लकडाउनका बेला सार्वजनिक यातायातका साधन सञ्चालन नभएकाले प्रायः नेपाली आफ्नै टोलछिमेकबाहेक अन्यत्र जान सम्भव भएन । लत्ता कपडा, खाद्यान्नलगायतका दैनिक उपभोग्यका सम्पूर्ण सामान घर नजिकका पसलमा किनमेल गरे । गल्लीगल्ली र टोलभित्रका ससाना पसलदेखि होलसेल सबैको व्यापार राम्ररी चल्यो । सीमावर्ती भारतीय बजारमा हुने गरेको किनमेल स्वदेशमै हुन थालेपछि स्वदेशी उद्योग पनि राम्ररी चले । भन्सार छलेर तस्करीको माध्यमबाट भित्रिने कोरोबार रोकिएर भन्सार हुँदै आउन थालेपछि स्वदेशी उत्पादनले पनि विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न सहज भयो ।

‘कोभिडका कारण नेपाल–भारतबीचको सिमाना सिल गरे जस्तै अब पनि सिमानामा कडाइ गरिनुपर्छ,’ सिद्धार्थ उद्योग वाणिज्य संघले यहाँ आयोजना गरेको सार्वजनिक कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजूले भने, ‘सिमाना सिल र अन्य खुला सिमानामा पनि गरिएको नियन्त्रणले आम स्वदेशी व्यवसायीलाई सकारात्मक प्रभाव पार्‍यो ।’ भारतसँगको खुला सिमाना नियन्त्रण हुन नसक्दा र मूल नाकामै कडाइ नहुँदा धराशायी अवस्थामा पुगेको बुटवलका व्यवसायीलाई सिमाना सिलले धेरै प्रोत्साहन मिलेको उनले बताए ।

सिमाना सिल गरिएपछि बुटवलमा विशेषगरी कपडा र तयारी पोसाकको कारोबारमा २ सय प्रतिशतले वृद्धि भएको उनले जनाए । उनका अनुसार अन्य कारोबार र उत्पादनमा पनि वृद्धि भएको छ । राजस्व पनि बढेको छ । सस्तो मूल्यमा सामान पाइने प्रलोभनमा घरायसी प्रयोजनका लागि भन्दै दैनिक हजारौं नेपाली उपभोक्ता सीमावर्ती भारतीय बजारमा किनमेल गर्ने प्रवृत्तिले स्वदेशी व्यवसाय र उत्पादन संकटमा पर्दै आएको छ । ‘बुटवलका मात्रै होइन, कोरोनाका कारण भारतसँगको सिमाना सिल गरिएपछि पाल्पा, गुल्मी र अर्घाखाँचीजस्ता पहाडी जिल्लाका व्यवसायी पनि खुसी छन्,’ कसजूले भने, ‘सिल गरिएको सिमाना खुला गरिए पनि कडाइ र नियन्त्रण भने सिल गरिएका बेलामा जस्तै हुन अति जरुरी छ ।’

हरेक दिन बिहानैदेखि साँझसम्म सीमावर्ती भारतको सुनौली बजारमा किनमेल गर्न जाने नेपाली उपभोक्ताको ताँती नै लाग्थ्यो । नेपाल र भारत दुवैतर्फ लकडाउन र सिमाना सिल गरिएपछि सीमावर्ती बजार सुनसान बन्यो । घरायसी प्रयोजनका नाममा दैनिक करोडौं रुपैयाँ विदेश पलायन हुनबाट जोगियो । भन्सार हुँदै हुने वैध कारोबारले प्रोत्साहन पायो । सीमावर्ती आसपासका क्षेत्रका मात्र नभएर ठूलो कार्य र धेरै सामान खरिद गर्न परेमा कास्की, चितवन, पाल्पा, गुल्मी, अर्घाखाँचीलगायतका नेपाली ग्राहकको रोजाइमा सुनौली बजार हुने गर्थ्यो । भन्सार नतिरी सामान ल्याउने पेसेवर तस्कर र क्यारिअरको संख्या पनि उत्तिकै हुने गर्थ्यो । कोरोनाका कारण सिमाना सिल भएपछि दुई गुणाले उत्पादनमा वृद्धि भएको भैरहवास्थित सिद्धार्थ आयल इन्डस्ट्रिज तथा सिद्धार्थ रिफाइनरी उद्योगका प्रबन्ध निर्देशक राजेश अग्रवालले बताए । सम्पूर्ण सामान भारतमा गएर किनमेल गरी भन्सारमा घरायसी प्रयोजन भन्दै ल्याउने प्रवृत्ति र तस्करीको माध्यमबाट बिनाभन्सार तयारी सामान सिधै नेपाल भित्रिने गरेको उनको भनाइ छ । सिमाना सिल हुनुअगावै सीमा क्षेत्रका स्वदेशका तेल उद्योगले ४० प्रतिशत क्षमतामा मात्र उत्पादन गर्ने गरेको उनले जनाए ।

‘तेल उद्योग मात्रै नभएर चामल, पिठो, मैदालगायत खाद्य उद्योग पनि राम्ररी चलेकाले सबै व्यवसायी खुसी छन्,’ नेपाल उद्योग वाणिज्य महासंघका सदस्यसमेत रहेका अग्रवालले भने, ‘नेपाल–भारतबीचको सिमानामा अहिलेको जस्तै कडाइ र नियन्त्रण नभएसम्म नेपालको व्यवसाय फस्टाउन सक्दैन । आवश्यक परे सिमानामा तारबार नै भए पनि लगाउन जरुरी छ ।’

सस्तो मूल्यमा सामान पाइने प्रलोभनले आमनेपाली उपभोक्तालाई सिमानापारि जाने प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल सरकारले नै कडा कानुन ल्याएर कार्यान्वयन गर्नुपर्ने सुझाव उनको छ । सुनौली बजारको ९० प्रतिशतभन्दा धेरै कारोबार नेपाली उपभोक्तामाथि निर्भर छ । झन्डै ६ सयको संख्यामा विभिन्न पसल छन् । विशेषगरी चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिस, तेल, घिउ, चिसो पेय पदार्थ, कुरमुरे, कुर्ता सलवार, साडीलगायत कपडा, साबुन सेम्पु, कापी कलम, शृंगारका सामान, हार्डवेयरका सामान, सुर्ती, बिजुलीका केबुल, बल्ब, साइकल, मोटरसाइकलका टायर, ट्युब, टीभी, फ्रिज, पंखा, पानी तान्ने मोटरलगायत भाँडावर्तन, मासु, मोबाइलजस्ता सामग्री घरायसी प्रयोजनका नाममा बिनाभन्सार नेपाल भित्रिने गरेका छन् ।

प्रकाशित : पुस ४, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?