कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन्तला उत्पादनमा तँछाडमछाड

वीरेन्द्र केसी

अर्घाखाँची — पाणिनि गाउँपालिका–१ सिम्लेका हरिप्रसाद पौडेल र रेवतीप्रसाद पौडेल सहपाठी किसान हुन् । दुवै जनाबीच अहिले कसको बारीमा धेरै सुन्तला फलेको र ठूला दाना फलेको भन्नेमा होडबाजी चलेको छ ।

सुन्तला उत्पादनमा तँछाडमछाड

हाँगा भुइँमा लत्रिएपछि टेको लगाएर दाना अड्याएका छन् । हरि र रेवतीले लगाएका सुन्तलाका बोटमा लटरम्मै दाना छन् । हिउँदमा गोबर, कम्पोस्ट मल राख्ने, खनजोत र सिँचाइ गर्दा लटरम्मै दाना फलेको उनीहरूले बताए ।

रेवतीका धेरै बोट भएर आम्दानी धेरै भए पनि हरिका बोटमा पनि रेवतीका जस्तै लटरम्मै फलेका छन् । यसपालि हावाहुरी, असिना र रोगकिरा केही लागेन । ‘हिउँदभर स्याहार गरेपछि बोटले थेग्न नसक्ने गरी लटरम्मै दाना फलेका छन्,’ रेवतीले भने, ‘यसपालि ठूला र धेरै दाना छन् । राम्रो आम्दानी हुन्छ ।’ दाना पहेंला हुन थालेका छन् । बोटलाई आवश्यक तत्त्व सबै पुगेपछि छिट्टै पाक्ने उनले बताए । यसपालि विगतका वर्षमा भन्दा तेब्बर फलेको उनले बताए ।

बुटवल र तराईका व्यापारीले बोट नै किन्न थालेका छन् । रसिलो र मिठो हुनाले यहाँको अधिकांश सुन्तला तराईमा खपत हुन्छ । हिउँदमा सुन्तलाका बोटमा मलजल पुर्‍याएपछि ठूला दानासहित बाक्लै फल दिन्छ । रेवतीले सुन्तलाबाट वर्षमा ६ लाखभन्दा बढी आम्दानी गर्छन् । बोटमुनि काउली, बन्दा, साग, मुला, सखरखण्ड, पिँडालु, अदुवा, बेसारलगायत खेती गरेका छन् । तरकारीबाट पनि उत्तिकै आम्दानी भएपछि वैदेशिक रोजगारी छाडेर १० वर्षदेखि सुन्तला खेतीमा सक्रिय भएको उनले बताए । एउटा बोटमा चार वटासम्म टेको लगाएर सुन्तला अड्याएको उनले सुनाए । सुन्तलालाई आवश्यक तत्त्व पुगेकाले असिना र रोगबाट बचेमा बोटमा सोचेभन्दा धेरै दाना फल्ने हरिप्रसादको भनाइ छ । गत वर्ष भने असिनाले नोक्सान गर्दा कम उत्पादन भएको उनले सुनाए ।

सिम्लेकी तुलसा पौडेलले हिउँदमा सुन्तलाका बोटमा गोबरमल राख्छिन् । बेलाबेलामा सिँचाइ गर्छिन् । ‘मिहिनेत गरेपछि फल राम्रो लाग्दो रहेछ,’ उनले भनिन्, ‘काठ र बाँसका खम्बाले हाँगा भाँचिनबाट जोगाएकी छु । यस वर्ष ४ लाख रुपैयाँभन्दा बढी आम्दानी होला भन्ने आशा छ ।’ गाउँका सबै कृषकबीच नै सुन्तला कसले धेरै फलाउने भन्ने होडबाजी हुनाले हरेक वर्ष उत्पादन बढ्दो छ । किसानले बर्सेनि नयाँ बिरुवा थप्छन् ।

अन्नखेती छाडेर सिम्लेका डेढ सयभन्दा बढी किसानले अहिले सुन्तला खेती गरेका छन् । यसपालि सबैका बोटमा लटरम्मै दाना फलेका छन् । गाउँलेबीच कसको बोटमा लटरम्मै फल्यो र कति ठूला दाना फले भनेर छलफल हुन्छ । बिक्री गरेर निख्रिसकेपछि आउँदो वर्ष लटरम्मै दाना फलाउन बोटलाई मलजल गरिने उनले बताइन् । ‘कसले कति धेरै दाना फलाउने भनेर हामीबीच अहिलेदेखि नै प्रतिस्पर्धा हुन्छ,’ उनले भनिन्, ‘आपसी मेलमिलाप छ । तर दाना ठूला र धेरै फलाउनेबीच घरैपिच्छे होडबाजी चल्छ ।’ होडबाजीको परिणाम लटरम्मै सुन्तला फलेको उनले बताइन् । सिम्ले गाउँ यतिबेला पहेँलपुर हुन थालेको छ ।

सिम्लेकी सीता पौडेल पनि आफ्नै बारीका एक सय बोटमा लटरम्मै दाना देख्दा फुरुंग छिन् । यतिबेला उनलाई बोटको हाँगा भाँचिनबाट जोगाउन भ्याइनभ्याइ छ । आधा बोट बिक्री भइसकेका छन् । तराईका व्यापारीले खरिद गरिसकेका छन् । यसपालि दोब्बर आम्दानी हुने उनले बताइन् । गत वर्ष नोक्सानी बेहोर्नुपरेको थियो । यसपालि फलेका सुन्तलाले ५ लाखभन्दा बढी आम्दानी दिने उनको अनुमान छ ।

सिम्लेमा सुन्तलाबाट वार्षिक ३ करोडजतिको कारोबार हुन्छ । यहाँबाट गाडीमा तानसेन हुँदै बुटवल निर्यात हुन्छ । वैदेशिक रोजगार त्यागेर सुन्तला खेती गर्नेमा पढेलेखेका युवा सक्रिय रहेको उनले बताइन् । सुन्तलाको आम्दानीले घरगोठ जस्तापाताले चिटिक्क पारेका छन् । छोराछोरीलाई सहरका महँगा निजी स्कुलमा पढाएका छन् । धेरैले घरघडेरी जोडेका छन् ।

प्रकाशित : मंसिर २८, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?