कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गहुँ छर्ने बेला छैन मल

भारतबाट तस्कारी गरी ल्याइएको मल महँगोमा किन्न बाध्य छन् किसान
ठाकुरसिंह थारू

नेपालगन्ज — गहुँ छर्ने बेला बाँके र बर्दियामा मलको चरम अभाव देखिएको छ । मल किन्न नपाउँदा यहाँका किसान भारतबाट चोरी तस्करी गरेर ल्याएको मल प्रयोग गर्न बाध्य छन् । मल अभावमा कतिपय किसानले गहुँ छर्न पाएका छैनन् ।

गहुँ छर्ने बेला छैन मल

भारतबाट तस्करी गरी ल्याएको मल प्रहरीले बरामद गर्दा किसान दोहोरो मारमा छन् । कृषि सामग्री संस्थान कम्पनी लिमिटेडले खरिद गरेर ल्याएको मल करिब सकिएको छ । बंगलादेशबाट पैँचोमा ल्याउने भनेको मल आउने अनिश्चित छ । सरकारले बंगलादेशबाट पैँचोमा मल ल्याउन मन्त्रिपरिषद्मा पेस गरेको प्रस्तावमा निर्णय हुन नसकेपछि किसानले कहिले मल पाउने भन्ने अनिश्चित बनेको हो ।

मौज्दात मल सकिएका कारण बाँके र बर्दियामा अभाव भएको कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख रमेश पौडेलले बताए । ‘चीनबाट किनेर ल्याएको मल बिक्री गरेर सकिएको छ, मल मौज्दात छैन । किसानलाई भने मल आवश्यक छ,’ उनले भने । उनका अनुसार बाँकेका लागि तीन हजार टन युरिया, ६ हजार टन डीएपी र एक सय टन पोटास आवश्यक पर्छ । मल बिक्रीका लागि १ सय २० सहकारी संस्था कृषि सामग्री लिमिटेडमा दर्ता छन् । हिउँदको सिजनमा मलको मूल्य प्रतिबोरा ५० रुपैयाँ बढेको छ । बाँकेका युरिया प्रतिबोरा ८ सय ४६, डीएपी २ हजार २ सय ९६ र पोटास १ हजार ६ सय ९६ रुपैयाँ तोकिएको छ । धानको सिजनमा युरिया ७ सय ९६, डीएपी २ हजार २ सय ४६ र पोटास १ हजार ६ सय ४३ रुपैयाँ प्रतिबोरा थियो । ‘मल नपाए पनि वर्षाभन्दा यो सिजनमा मूल्य बढेको छ । किसान मूल्य तिर्न तयार छन् तर मल कहाँबाट ल्याउने भन्ने समस्या छ,’ कृषि सामग्री संस्थान कम्पनी लिमिटेड बाँकेका प्रमुख पौडेलले भने, ‘मल कहिले आउने हो भन्ने अनिश्चित छ । किसान समस्यामा परेका छन् ।’

भारतबाट तस्कारी गरी ल्याएको सरदार नामक डीएपी मल कम्तीमा १ हजार ८ सयदेखि २ हजार ५ सय रुपैयाँमा किन्न किसान बाध्य छन् । त्यसरी किनेर ल्याएको मल पनि घरसम्म ल्याउन किसानलाई मुस्किल छ । मल ल्याइरहेको अवस्थामा प्रहरीको निगरानीमा परे बरामद डर उनीहरूलाई छ । ‘मल पनि नदिने र भारतबाट ल्याउँदा प्रहरीले बरामद गरेर दुःख दिने काम भइरहेको छ,’ खजुरा गाउँपालिका रनियापुरका जाबेद खाँले भने । उनका अनुसार बाँकेका किसान बर्दियाको सीमावर्ती भारतीय बजारबाट मल लैजाने गरेका छन् ।

भारतबाट तस्करी गरिएको मलले धान खेती गरेका किसान हिउँदे खेतीको सिजनमा फेरि पनि मल पाउनबाट वञ्चित भएका छन् । उनीहरूले धान काटेर धमाधम हिउँदे बाली छरिरहेका छन् । ‘मल पाएको भए गहुँ छरेर भ्याइन्थ्यो । अरू हिउँदे बाली लगाइसकियो,’ उढरापुरकै अर्का किसान मोहम्मद अलि शेषले भने, ‘हामी किसानलाई जहिले पनि मलकै चिन्ता छ । सरकारले मल समयमै नदिँदा किसानलाई दुःख हुन्छ ।’ स्थानीय कृषि सहकारीमा तीन/चार पल्ट धाए पनि मल पाउन नसकेको उनले बताए । मल नहाल्दा उत्पादन घट्ने कृषि अधिकारी बताउँछन् ।

प्रकाशित : मंसिर २१, २०७७ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?