कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

किसानले पाएनन् तीन वर्ष पुरानो भुक्तानी

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका उखु किसान तीन वर्षअगाडि बिक्री गरेको उखुको बक्यौता रकम अहिलेसम्म पनि नपाउँदा पीडामा छन् । जिल्लाका दुई चिनी उद्योगले उखु किसानको तीन वर्षअगाडिको १८ करोड रुपैयाँ दिन बाँकी छ । लुम्बिनी चिनी उद्योगले १० करोड र इन्दिरा सुगर मिलबाट ८ करोड रुपैयाँ किसानले पाउनुपर्ने उखु उत्पादक किसान समिति नवलपरासीले जनाएको छ । बक्यौता रकम नदिएपछि अघिल्लो वर्ष किसानले वाग्मती सुगर मिललाई मात्र उखु बिक्री गरेका थिए ।

पटक–पटक बक्यौता रकम उपलब्ध गराउने सहमति भए पनि उद्योगीले प्रशासन र किसानलाई टेरेका छैनन् । भुक्तानीका लागि किसानले पटकपटक सडक आन्दोलन गरे पनि उद्योगीले चिनीको मूल्य सस्तो भएको, उद्योग घाटामा सञ्चालन भएको बहाना देखाउँदै भुक्तानी रोक्ने गरेको उखु उत्पादन किसान समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।

‘भुक्तानीका लागि सहमति गरेर पनि बहाना बनाउने उद्योगीविरुद्ध हामी अब सडक संघर्षमा उत्रिँदै छौं,’ उनले भने, ‘कोभिड–१९ का कारण सडक संघर्षमा जान नसके पनि अब भोकै मर्नुभन्दा आन्दोलनमा उत्रिने तयारीमा छौं ।’ भुक्तानीका लागि उद्योग र जिल्ला प्रशासन कार्यालय धाउँदा पनि भुक्तानी नपाएपछि खेती लगाउँदा लिएको ऋण तिर्न नसकेको सरावल–२ का बुद्धिबहादुर चौधरीले गुनासो गरे । ‘प्रशासनलाई नटेर्ने उद्योगीले हामीलाई के टेर्थे ?’ उनले भने, ‘उखु नलगाऊँ, अरू खेती खासै हुँदैन । लगाऊँ, समयमा रकम पाइँदैन । अहिले त हाम्रा लागि उखु खेती निल्नु न ओकल्नु भएको छ ।’

पहिले–पहिले उद्योगले समयमै भुक्तानी दिने, नजिकै तौल केन्द्र स्थापना गरेर तौलिने र लैजानेसमेत गर्थे । तर पछिल्लो सात वर्षयता उद्योगले किसानलाई विभिन्न बहाना बनाएर ठग्ने तथा भुक्तानी दिन आनाकानी गरेर सस्तोमा उखु किनिरहेका छन् । बर्सेनि उधारोमा उखु बेच्नुपर्ने भएपछि यस क्षेत्रका किसानले विकल्प खोज्न सुरु गरेका छन् ।

पश्चिम नवलपरासीका किसान अहिले उखु काट्ने तर्खरमा छन् । तर यस वर्ष पनि उखुको मूल्य के हुने भन्नेमा अन्योल छ । समयमा नकाट्ने हो भने उखु फुलेर तौल कम हुँदै जान्छ । काटौं भने कहाँ लगेर बिक्री गर्ने भन्ने चिन्ता छ । चिनी उद्योगलाई उधारोमा बिक्री गर्नुपर्ने र भेली उद्योगलाई बिक्री गर्दा मूल्य कम आउने चिन्ता छ ।

जिल्लामा ७ हजार ५ सय हेक्टर क्षेत्रमा उखु खेती हुँदै आएको छ । यहाँ करिब २० लाख क्विन्टल उखु उत्पादन हुन्छ । जिल्लामा इन्दिरा सुगर इन्डस्ट्रिज, वाग्मती खाडसारी र लुम्बिनी चिनी मिल गरी तीन वटा ठूला उद्योग सञ्चालनमा छन् भने एक सयभन्दा बढी भेली बनाउने क्रसर सञ्चालनमा छन् ।

प्रकाशित : मंसिर २०, २०७७ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?