कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सात दिन बढेको नेप्से १५ अंकले घट्यो

काठमाडौँ — सात कारोबार दिन उच्च अंकसहित लगातार बढेको नेप्से बिहीबार १५.५७ अंक घटेको छ । यो गिरावटसँगै नेप्से परिसूचक २ हजार ५५.४५ विन्दुमा ओर्लिएको छ । अघिल्लो दिनको तुलनामा यो करिब ०.७५ प्रतिशत कम हो । यसअघि यही मंसिर ८ मा नेप्से २.३८ अंक घटेको थियो ।

सात दिन बढेको नेप्से १५ अंकले घट्यो

त्यसपछिका सबै कारोबार दिनमा बढेको नेप्सेमा बिहीबार भने दोहोरो अंकले करेक्सन भएको हो । मंसिर ८ अघि कात्तिक २० मा नेप्से ४.४७ अंक घटेको थियो ।

बिहीबार करिब साढे ६४ हजार कारोबारबाट २ सय कम्पनीका १ करोड ५८ लाख ८९ हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ८ अर्ब २ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । यससँगै सेयर बजारको आकार (कुल बजार पुँजीकरण) पनि २७ खर्ब ५५ अर्ब रुपैयाँ कायम भएको छ ।

सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलका माध्यमबाट भएको नियामक निकाय धितोपत्र बोर्डको अध्ययन प्रतिवेदन बाहिरिएको छ, जसमा उचित कारणबिनै धेरै कम्पनीका सेयर मूल्य बढेकाले बजारमा जोखिम रहेको उल्लेख छ ।

बिहीबारको बजारमा यसको असर पनि परेको जानकारहरू बताउँछन् । २०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी रहेको प्रतिवेदनमा औंल्याइएको छ । यी कम्पनीको मूल्यवृद्धिलाई उचित मान्न सक्ने कुनै कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनको सुझाव छ । धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणसमेत सेयर बजारमा ठूलो उतारचढाव आउने गरेको अध्ययनमा उल्लेख छ ।

यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐननियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरिवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण काम प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ ।

बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) स्रोतले बताएको छ । धेरै कम्पनीका सेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि सेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि सेयर मूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको जानकारहरू बताउँछन् ।

प्रकाशित : मंसिर १९, २०७७ ०७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?