कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘चलखेल गरेर सेयर बजार बढाइयो’

धितोपत्र बोर्डले गरेको अध्ययनको निष्कर्ष
सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन्
यज्ञ बञ्जाडे

काठमाडौँ — सेयर बजारमा भएको उच्च वृद्धि स्वाभाविक नभई चलखेलबाट भएको नियामक निकाय धितोपत्र बोर्डको एक अध्ययनले देखाएको छ । अहिले धेरै कम्पनीका सेयर मूल्य बढ्नुमा उचित कारण नभएको अध्ययनको निष्कर्ष छ ।

‘चलखेल गरेर सेयर बजार बढाइयो’

धितोपत्रको दोस्रो बजार कारोबारमा भएको बिक्री सम्बन्धमा हालै गरिएको अध्ययन प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनमा बजारमा सिधै चलखेल भयो भन्ने उल्लेख नभए पनि अध्ययनको निष्कर्ष त्यही रहेको स्रोतको दाबी छ ।

‘२०७७ असारको तुलनामा मंसिर ११ सम्मको सूचीकृत कम्पनीको सेयर मूल्य अध्ययन गर्दा २७ कम्पनीको मूल्यमा शतप्रतिशतभन्दा बढी वृद्धि भएको, ५० प्रतिशतदेखि शतप्रतिशत मूल्य वृद्धि हुनेमा ३१ कम्पनी छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘वृद्धिको उल्लेख्य कारण यकिन हुन सकेन ।’ यी कम्पनीको मूल्य वृद्धिलाई उचित मान्न सक्ने कारण नदेखिएकाले त्यस्ता कम्पनीको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गर्न जरुरी रहेको प्रतिवेदनले सुझाएको छ । अस्वाभाविक रूपमा सेयर मूल्य बढ्ने कम्पनीले कम मात्र सेयर सर्वसाधारणलाई जारी गरेका छन् । सीमित व्यक्तिसँग मात्र सेयर भएकाले ती सेयर ‘कर्नरिङ’ गरी चलखेल गरेर मूल्य बढाइएको हुन सक्ने अध्ययनको निष्कर्ष छ ।

सेयर मूल्य शतप्रतिशत वृद्धि हुनेमा जलविद्युत् समूहका २१, अन्य र व्यापार समूहका २/२, उत्पादन तथा प्रशोधन अनि वित्त कम्पनी समूहका १/१ कम्पनी छन् । ५० प्रतिशतदेखि शतप्रतिशत वृद्धि हुनेमा ३१ कम्पनीमा जलविद्युत् उपसमूहका आठ, वित्त समूहका सात, निर्जीवन बिमा समूहका पाँच र वाणिज्य बैंक समूहका तीन कम्पनी छन् । यस्तै विकास बैंक, होटल, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहका दुई/दुई कम्पनी रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेप्सेको बजार पुँजीकरणमा उत्कृष्ट १० कम्पनीमा नेपाल पुनर्बिमा कम्पनी (वृद्धिदर १ सय ६६ प्रतिशत) र नेपाल दूरसञ्चार कम्पनी (वृद्धिदर ६६ प्रतिशत) पर्छन् । सूचीकृत अरू कम्पनीले बजारमा सानो मात्रामा सेयर जारी गरेका छन् । यी कम्पनीको सेयर मूल्यमा प्रभाव पार्ने खालका परिस्थिति तथा घटना केही नभएको तर सेयर मूल्य उच्च अंकले बढेकाले स्वाभाविक नभएको अध्ययनको निष्कर्ष छ । अहिले अस्वाभाविक रूपमा सेयर मूल्य बढेका केही कम्पनीको तथ्यगत अध्ययन पनि प्रतिवेदनमा समेटिएको छ ।

पहिलो, आर्थिक वर्ष २०७६/७७ को असार मसान्तको चौमासिक प्रतिवेदनअनुसार हाल उच्च वृद्धि भएको कम्पनी आँखुखोला जलविद्युत्को कम्पनीको प्रतिसेयर नेटवर्थ ६८ रुपैयाँ मात्र छ । उक्त अवधिमा यो कम्पनीको सेयर मूल्य सबैभन्दा बढी २ सय २७ प्रतिशत बढेको छ । २०७७ असार मसान्तमा यो कम्पनीको सेयर मूल्य ४९ रुपैयाँ रहेकामा यही मंसिर ११ मा १ सय ६० रुपैयाँ पुगेको छ । ‘यस्तो असाधारण वृृद्धिलाई पुष्टि गर्ने आधार यकिन गर्न सकिएन । जसको मूल्य सजिलै घटबढ गर्न सक्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

दोस्रो, अहिले बजारमा धेरै सेयर मूल्य वृद्धि हुने दोस्रो कम्पनी रैराङ हाइड्रोपावर कम्पनी हो । असारदेखि हालसम्म यो कम्पनीको सेयर मूल्यको वृद्धिदर १ सय ९७ प्रतिशत छ । असार मसान्तमा यो कम्पनीको सेयर मूल्य ८९ रुपैयाँ थियो । यही मंसिर ११ सम्म यो कम्पनीको मूल्य २ सय ६४ रुपैयाँ पुगेको छ । असार मसान्तमा यो कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय २ रुपैयाँ छ । तेस्रो, गत असारदेखि हालसम्म साल्ट ट्रेडिङ कर्पोरेसनको सेयर मूल्यमा १ सय ६७ प्रतिशतको वृद्धिदर देखिएको छ, जसको कारण ३५ प्रतिशत लाभांश देखिन्छ । तर सो कारणले मात्र उच्च मूल्य हुनुपर्ने अवस्था देखिँदैन ।

धितोपत्र बजारमा सहभागीहरूको सूचना प्रवाहलगायत सुशासनको कमजोर अभ्यास र धितोपत्रको दोस्रो बजार सुपरिवेक्षण पूर्वाधार तथा अभ्याससम्बन्धी कमीकमजोरीका कारणले समेत सेयर बजारमा ठूलो उतार चढाव आउने गरेको अध्ययनमा उल्लेख छ । ‘यसमा सुधारका लागि सूचना प्रवाहलगायत सुशासनसम्बन्धी ऐन–नियमका व्यवस्था तथा सम्बन्धित निर्देशनको परिपालना गराउन बजार सुपरिवेक्षणको सुदृढ पूर्वाधार तयार गर्नुका साथै कानुन प्रबलीकरण कार्य प्रभावकारी बनाउनुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ ।

धितोपत्र बजार हल्ला तथा बजार प्रवृत्तिमा आधारित हुने गरेकाले यसमा सुधार ल्याउन लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धिसम्बन्धी कार्यक्रम व्यापक रूपमा सञ्चालन गर्नुपर्ने सुझाव पनि प्रतिवेदनमा छ । त्यसो त बजारमा भित्री कारोबार मौलाएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले पनि स्वीकार गरेको छ । धेरै कम्पनीका सेयर मूल्य प्रभावित हुने निर्णय सार्वजनिक गर्नुअघि सेयर मूल्य अत्यधिक बढ्नु र ती निर्णय घोषणापछि सेयर मूल्यको वृद्धि रोकिनुले भित्री कारोबार भएको पुष्टि हुने स्रोतले बताएको छ । नियामक निकाय धितोपत्र बोर्डले प्रभावकारी रूपमा नियमन तथा सुपरिवेक्षण गर्न नसक्दा यस्तो गतिविधि मौलाएको बताइएको छ । ‘अहिलेको सेयर बजारको वृद्धिमा अपी हाइड्रोपावर, प्राइम कमर्सियल बैंक, नेको इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्सलगायत तीन दर्जनभन्दा बढी सूचीकृत कम्पनीको सेयर कारोबार भित्री सूचना चुहाएर भएको स्पष्ट रूपमा देखिन्छ,’ स्रोतले भन्यो, ‘यस्ता गतिविधि रोक्न नियामक निकायका गतिविधि प्रभावकारी हुनुपर्‍यो । जिम्मेवारी पूरा गर्न नसक्ने अनि चलखेल बढ्यो भन्दै हिँड्नुको कुनै अर्थ हुँदैन ।’

बजारमा ख्याति कमाएका राम्रा कम्पनीको सेयर कारोबारमा यस्तो अवस्था देखिएको बताइएको छ । ‘सेयर बजारलाई असर गर्ने निर्णयहरू कम्पनीबाट औपचारिक रूपमा सार्वजनिक हुनुअघि विभिन्न माध्यममार्फत चुहाएर सेयर गर्ने प्रचलन निकै बढेको छ,’ स्रोतले भन्यो, ‘बजार बढेको समयमा यस्तो गतिविधि धेरै देखिन्छ ।’ यस्तो प्रवृत्ति नयाँ भने होइन । तर विगतको तुलनामा अहिले ह्वात्तै बढेको छ । बढेको बजारमा चलखेल गर्ने उद्देश्यले यस्तो प्रवृत्ति अकासिएको जानकारहरू बताउँछन् । पछिल्ला महिनायता सेयर बजार निरन्तर रूपम बढिरहेको छ । सोही क्रममा नेप्सेले यसअघिको उच्च विन्दु (१ हजार ८ सय ८१) पार गरी उकालो लागिरहेको छ । यस्तै कारोबार रकम, कारोबार संख्या र बजार पुँजीकरणले पनि हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । अर्थतन्त्रका अधिकांश परिसूचकको अवस्था राम्रो नभएको अवस्थामा आधारबिना सेयर बजार उच्च अंकले बढ्नुले दीर्घकालमा राम्रो नगर्ने विज्ञहरूको भनाइ छ ।

के हो इनसाइडर ट्रेडिङ ?

कुनै व्यक्तिले सार्वजनिक भइनसकेका भित्री सूचना चुहाई गरिने सेयर कारोबार इनसाइडर ट्रेडिङ (भित्री कारोबार) हो । यसरी सूचना चुहाई आफूले वा अरूलाई कारोबार गर्न लगाए भित्री कारोबार भएको मानिन्छ । आफूलाई थाहा भएको सूचना वा जानकारी आफ्नो कर्तव्य पालनाको सिलसिलामा बाहेक अरूलाई दिन मिल्दैन ।

प्रकाशित : मंसिर १८, २०७७ ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?