कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्से दुई हजार नजिक

बजार निरन्तर बढ्न थालेपछि अर्थ मन्त्रालय, नियामक निकाय धितोपत्र बोर्ड र नेप्सेको चासो बढेको छ

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार करिब २९ अंक बढेर २ हजारनजिक पुगेको छ । अघिल्लो दिनको तुलनामा सोमबार नेप्से १.४६ प्रतिशत बढी हो ।

नेप्से दुई हजार नजिक

नेप्सेले यसअघिको उच्च विन्दु १ हजार ८ सय ८१ विन्दु पार गरेपछि हरेक दिन नयाँ रेकर्ड बनाउँदै आएको छ । सोही क्रममा सोमबार नेप्से १ हजार ९ सय ९७.०५ विन्दुमा पुगेको छ । बजार खुलेको पाँच मिनेटमै नेप्से उच्च अंकले बढेर २ हजार २७ विन्दुमा पुगेको थियो । त्यसपछि घट्न थालेको नेप्से १ हजार ९ सय ७५ विन्दुमा ओर्लियो । करिब साढे ११ बजेदेखि सम्हालिँदै अघि बढेको नेप्से २ हजार नजिक पुगेर बन्द भएको हो ।

बजार निरन्तर बढ्न थालेपछि अर्थ मन्त्रालय, नियामक निकाय धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) को चासो बढेको छ । धितोपत्र बोर्डले सोमबार विज्ञप्ति जारी सजगतापूर्वक लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । ‘पछिल्ला केही दिनयता दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पुँजी बजारका लागि खुसीको कुरा हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, समग्र वित्तीय तथा आर्थिक परिसूचकलगायतका विवरण विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’

धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता लगायत पक्ष हेरेर मात्र लगानी गर्न बोर्डले आग्रह गरेको छ । ‘आफनो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न सम्पूर्ण लगानीकर्तालाई आग्रह छ,’ विज्ञप्तिमा उल्लेख छ ।

धितोपत्र बजारमा भएका विकास तथा सुधारका कार्यबाट धितोपत्रको प्राथमिक बजारमा ८ लाखभन्दा बढी लगानीकर्ता, डिम्याट खाताको संख्या २१ लाख ८० हजार (कुल जनसंख्याको करिब ७.२५ प्रतिशत) रहेको र नेप्सेको अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेको बोर्डको दाबी छ ।

सोमबार करिब साढे ८३ हजार कारोबारबाट १ सय ९८ वटा कम्पनीका २ करोड ५१ लाख ९१ हजार कित्ता सेयर किनबेच भए । सो किनबेचबाट ८ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार रकम आइतबारको भन्दा कम हो । आइतबार ९ अर्ब २२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । यो दैनिक रूपमा हालसम्मकै उच्च कारोबार हो । सोमबार सेयर बजारको आकार (कुल बजार पुँजीकरण पनि २६ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ । यो पनि हालसम्मकै उच्च हो ।

सो दिन कारोबारमा आएकामध्ये बैकिङ, विकास बैंक, वित्त कम्पनी र सामूहिक लगानी कोष समूहको परिसूचक घटे भने बाँकी समूहका बढे ।

प्रकाशित : मंसिर १६, २०७७ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?