कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवल–नारायणगढ सडक निर्माण ठप्प

नारायण शर्मा

नवलपरासी — पूर्वपश्चिम महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक विस्तारका मजदुरहरुले हडताल गरेका कारण तीन दिनदेखि काम रोकिएको छ । सडक फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले डेढ महिना अवधिको २ सय ५० मजदुरको ज्याला नदिएको भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका हुन् ।  

बुटवल–नारायणगढ सडक निर्माण ठप्प

गत शनिबारबाट सडक विस्तारको काममा खटाइएका २ सय ५० मजदुरहरुले काम रोकेर आन्दोलन ठप्प पारेका छन् । काम गरेको तलब नपाएका मजदुरहरुले गत शनिबारदेखि रजहरको टांगिकोटमा रहेको ठेकेदार कम्पनीको साइट अफिस घेराउ गरेका छन् । उनीहरुले काम गरेको ज्याला नपाएको भन्दै आन्दोलन गरेका छन् । बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने गैंडाकोट सडकखण्डका मजदुर आन्दोलनमा उत्रिएका हुन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघ पूर्वी नवलपरासीका अध्यक्ष सानुकाजी डंगोलले मजदुरहरुलाई काममा लगाएर भुक्तानी नदिएका कारण आन्दोलन गरिएको टेलिफोनमा जानकारी दिए । उनले मजदुरहरुलाई बिना नियुक्ति ठेकेदारमार्फत काममा लगाइएको, दैनिक १२ घण्टासम्म काममा खटाएर ८ घण्टाको मात्र तलब दिने गरेको, काममा खटिँदा मजदुरले लगाउन पर्ने सेफ्टी ड्रेस (हेल्मेट, पन्जा,जुत्ता) नदिएको, दुर्घटना बिमा, कामदारलाई यातायात सुविधा, शनिबार र ओभरटाइम काम गराउँदा डेढ गुणा बढी तलब पाउनुपर्ने, दक्ष कामदारको र सामान्य मजदुरका तलब फरक हुनुपर्ने, कारण बाध्य भएर मजदुरहरु आन्दोलनमा उत्रिएको बताए ।

मजदुर हडतालका कारण राजमार्ग विस्तारको काम रोकिएको छ । सडक फराकिलो पार्ने काममा खटिएका मजदुरले चाइना कम्पनीका प्राविधिकहरुलाई पनि फिल्डमा काम गर्न रोक लगाएका छन् । यसले सडक विस्तारको काम पूरै रोकिएको छ ।


मजदुरहरुले जिल्ला प्रशासन कार्यालय, गैंडाकोट, देवचुली र कावासोती नगरपालिकामा समेत आइतबार १४ बुँदे ज्ञापनपत्र बुझाएर मजदुरलाई ज्याला नदिइ काममा लगाएको भन्दै तलब लगायतका सुरक्षाको प्रत्यभूति गर्ने व्यवस्था गरियोस् भन्ने माग गरेका छन् ।

पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले काम ठप्प पारेर माग अघि नतेर्साउन उनीहरुलाई जानकारी गराएको बताए । उनले काम चालु गरेर वार्ता गर्दा दुवैलाई फाइदा हुने स्मरण गराएको जानकारी दिए । मजदुर कज्याउने चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट सोमबारसम्म कसैले पनि सम्पर्क नगरेको थापाले कान्तिपुरलाई बताए ।

यस बारेमा प्रतिक्रिया लिन खोज्दा चिनियाँ ठेकेदार कम्पनी सम्पर्कमा आउन चाहेन । बुटवल नारायणगढ सडक खण्डको ११४ किलोमिटर सडक फराकिलो पार्न चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले १७ अर्बमा ठेक्का लिएको हो । आगामी ०७९ सालमा काम सम्पन्न गर्न पर्ने सम्झौता छ ।

प्रकाशित : मंसिर १५, २०७७ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?