कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेचर गाइड भए बेरोजगार

कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बन्यो । पर्यटकीय स्थल आसपास बस्ने स्थानीय यसबाट प्रत्यक्ष प्रभावित बने । नेचर गाइड पनि मर्कामा परे ।
भवानी भट्ट

कञ्चनपुर — बाइस वर्षीय दीपेन्द्रप्रसाद भट्ट स्नातक तहमा अध्ययनरत छन् । पढाइसँगै उनले नेचर गाइडको पनि काम गर्छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै भीमदत्त नगरपालिका–१४ नयाँ कटान घर भएका उनले गाइडकै काम गरेर पढाइ र घरको खर्च चलाउने गरेका थिए । सानोतिनो खर्चका लागि कुनै समस्या थिएन । झन्डै एक वर्षयता भने भट्टलाई घर खर्च चलाउनै समस्या भएको छ ।

नेचर गाइड भए बेरोजगार

कोरोना संक्रमणका कारण सबैभन्दा बढी पर्यटन क्षेत्र प्रभावित बन्यो । पर्यटकीय स्थल आसपास बस्ने स्थानीय यसबाट प्रत्यक्ष प्रभावित बने । त्यसकै उदाहरण हुन् भट्ट । ‘बिहान कलेज जान्थें, दिनमा पर्यटक घुमाउन निकुञ्ज पस्थें,’ भट्टले भने, ‘महिनामा १०/१५ हजार आम्दानी हुन्थ्यो, तर अहिले सबै रोकिएको छ ।’

भट्ट ७ वर्षदेखि शुक्लाफाँटा निकुञ्जमा स्वदेशी र विदेशी पर्यटक घुमाइरहेका छन् । उनले नेचर गाइडको काम सुरु गर्दा शुक्लाफाँटामा पर्यटक निकै कम आउँथे । पछिल्लो केही वर्षयता निकुञ्जमा पर्यटक आउने क्रम बढेसँगै उनको आम्दानी पनि वृद्धि हुँदै गएको थियो । यस वर्ष त झन् भ्रमण वर्षकै रूपमा घोषणा भएकाले पर्यटकको चाप अझै बढ्ने उनको अपेक्षा थियो । त्यहीअनुसार आम्दानी पनि हुने अनुमान गरेका थिए ।

‘अहिले त पर्यटकका लागि मुख्य सिजन हो, विगतका वर्ष जस्तै भए पनि हामीलाई भ्याइनभ्याइ हुन्थ्यो,’ भट्टले भने, ‘अहिले पर्यटक नआएर बेरोजगार बनेका छौं ।’ उनका अनुसार पछिल्लो पटक निकुञ्जमा जंगल सफारीलगायत गतिविधिहरू खुला गरेपछि आन्तरिक पर्यटक फाटफुट रूपमा आउन थालेका छन् । तर तिनले मात्रै गुजारा चलाउन सकिने अवस्था नरहेको उनी बताउँछन् । भीमदत्त नगरपालिका–१४ वनकट्टीका वीरेन्द्र खाती पनि नेचर गाइड हुन् । शुक्लाफाँटासँगै बर्दिया, चितवनलगायत क्षेत्रमा उनले पर्यटकहरू घुमाउने गरेका छन् । लकडाउन सुरु भएदेखि उनी पनि घरमै थन्किएका छन् । पछिल्लो पटक उनले वैकल्पिक व्यवसाय पनि सुरु गरेका छन् । ‘गाइडको काम एक वर्षदेखि ठप्प छ,’ खातीले भने, ‘अब घर परिवारको खर्च चलाउन पनि वैकल्पिक उपाय खोज्नुपर्ने भएको छ ।’ खातीले गाउँमै रहेको आफ्नो जमिनमा पोखरी निर्माण गरेर माछापालन सुरु गरेका छन् । उनी आफैं माछापालन व्यवसायमा जुटेका छन् । ‘पर्यटन क्षेत्र पुरानै अवस्थामा आउन त निकै समय लाग्न सक्छ,’ शुक्लाफाँटा नेचर गाइड एसोसिएसनका अध्यक्षसमेत रहेका खातीले भने, ‘गाइडसँगै वैकल्पिक व्यवसाय पनि सुरु गर्नुपर्ने बाध्यता भयो ।’ उनका अनुसार यस क्षेत्रमा सक्रिय रूपमा लागेका अन्य गाइडहरूले पनि वैकल्पिक पेसा अपनाउन थालेका छन् । कतिपय त भारततिरै लागिसकेका छन् ।

शुक्लाफाँटामा गाइडहरूले व्यावसायिक रूपमा काम गर्न थालेको सन् २००३ देखि हो । राष्ट्रिय प्रकृति संरक्षण कोषले नेचर गाइडको तालिम सञ्चालन गरेपछि यस क्षेत्रका युवाहरू पनि संरक्षणसँगै व्यवसायमा सक्रिय बनेका हुन् । हालसम्म २५० बढीले गाइडसम्बन्धी तालिम लिए पनि अहिले २०/२५ जना मात्रै सक्रिय रहेका छन् ।

‘आरक्षबाट निकुञ्ज बनेपछि गाइडहरू पनि आकर्षित हुन थालेका थिए,’ एक दशकदेखि नेचर गाइडको काम गरिरहेका कुमकरण ठाकुरले भने, ‘कोरोनाले फेरि पुरानै अवस्थामा फर्कायो ।’

ठाकुरका अनुसार पछिल्लो समय निकुञ्जमा चरा अवलोकनका लागि बाह्य पर्यटक निकै आकर्षित हुन थालेका थिए । दिनभरि जंगल डुलेर चरा हेर्न लालायित थिए । जसका कारण गाइडहरूले पनि काम पाइरहेका थिए ।

तर अहिले चरा अवलोकनका लागि आउने पर्यटकको संख्या शून्य छ । फाटफुट रूपमा आउने आन्तरिक पर्यटकहरूले समेत न्यून ज्याला दिने गरेको उनले बताए । शुक्लाफाँटामा पर्यटकलाई घुमाएबापत गाइडहरूले आधा दिनको १ हजार र दिनभरिको २ हजार शुल्क तोकेका छन् । कोरोनाको जोखिम कम भएपछि पर्यटन प्रवर्द्धनका लागि विभिन्न गतिविधिहरू गर्ने शुक्लाफाँटा नेचर गाइड एसोसिएसनको योजना छ ।

कोरोना संक्रमणका कारण बेरोजगार बनेका नेचर गाइडहरू । तस्बिर : भवानी/कान्तिपुर

प्रकाशित : मंसिर १३, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?