कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना बिमा भुक्तानीमा आनाकानी कायमै

साढे २७ हजार दाबीमा जम्मा ४ हजारलाई भुक्तानी
यज्ञ बञ्जाडे

काठमाडौँ — झन्डै साढे तीन महिनाअघि कोरोना संक्रमित भएपछि बिमा दाबी गरेकी प्रभा पन्थीले अझै भुक्तानी पाएकी छैनन् । कम्पनीमा सोधखोज गर्दा हरेक पटक दुई–चार दिनमा भइहाल्छ भने पनि अझै पैसा नपाएको उनले बताइन् ।

कोरोना बिमा भुक्तानीमा आनाकानी कायमै

‘अब त कम्पनीमा फोन गर्न पनि दिक्क लागिसक्यो, जहिले कुरा गर्दा पनि एउटै उत्तर आउँछ,’ उनले भनिन्, ‘पैसा आउने टुंगो छैन ।’ जनरल इन्स्यारेन्सबाट कोरोना बिमा गरेकी पन्थीले बुटवलस्थित एक निजी अस्पतालमा कोरोना परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।

काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने मनोज गौतमले गत असोज २६ मा कोरोना बिमाको दाबी पेस गरे । लुम्बिनी जनरल इस्योरेन्सबाट बिमा गरेका गौतमले अझै भुक्तानी पाएका छैनन् । ‘कम्पनीमा सम्पर्क गर्दा निजी प्रयोगशालामा परीक्षण भएका रिपोर्टको भुक्तानीमा समय लाग्ने भन्छन्,’ उनले भने, ‘कोरोना पोजिटिभ देखिएका बिमा कम्पनीकै कर्मचारीले अझै भुक्तानी पाएका छैनन्, अरूलाई के भन्ने ।’ निजी प्रयोगशालामा गरिएका परीक्षणका रिपोर्ट भुक्तानीका लागि कम्तीमा दुई–तीन महिना लाग्ने कम्पनीले बताएको गौतमको भनाइ छ । भुक्तानी नपाउँदा औषधोपचार रोक्नुपरेको उनले बताए । ‘कोरोनाको कारण फोक्सोमा समस्या भएकाले उपचार गर्नुपर्नेछ,’ उनले थपे, ‘पैसा नभएकाले थप उपचार गराउन पाएको छैन ।’

गोकर्णेश्वर नगरपालिका–८ की रञ्जना सापकोटाले बिमा दाबीका लागि गत असोज २६ मा आवेदन दिइन् । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबाट बिमा गरेकी सापकोटाले टेकु अस्पतालमै कोरोना परीक्षण गराएकी हुन् । सबै कागजातसहित आवेदन दिए पनि करिब डेढ महिनासम्म पनि उनले दाबी भुक्तानी नपाउँदा दुःख लागेको बताइन् । गोकर्णेश्वर–८ का प्रकाश अधिकारीले पनि गत असोज १७ मा दाबी भुक्तानीका लागि आवेदन दिए । एभरेस्ट इन्स्योरेन्स कम्पनीबाट बिमा गरेका अधिकारीले काठमाडौं मेडिकल कलेजमा कोरोना परीक्षण गराएका थिए ।

यी त उदाहरण मात्र हुन् । अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र बिमा दाबी भुक्तानी दिन निर्देशन दिएको तीन साता भइसकेको छ । तर बिमितको गुनासो यथावत् छ । आवश्यक सबै कागजात पुगे पनि लामो समयसम्म दाबी भुक्तानी नपाएका थुप्रै बिमितले जताततै गुनासो गरिरहेका छन् । उनीहरूको एउटै प्रश्न छ, बिमा भुक्तानी कहिले पाइन्छ ? कोरोना बिमा मापदण्ड, ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । कोरोना बिमा दाबी, भुक्तानी र भुक्तानी पाउन नसकेको तथ्यांक केलाउँदा कोरोना बिमा मापदण्ड २०७७ र अर्थमन्त्रीको निर्देशक कार्यान्वयन भएको देखिँदैन ।बिमक संघको तथ्यांकअनुसार कोरोना बिमामा हालसम्म २७ हजार ४ सय ३६ जनाले भुक्तानीको दाबी गरेका छन् । यसमध्ये करिब ४ हजार १ सय ८० को मात्र भुक्तानी भएको छ । भुक्तानी भएको संख्या कुल दाबीको १५.२३ प्रतिशत हो । दाबी परेकामध्ये ९ हजार ६ सय ४३ वटाको मात्र पूरा कागजात प्राप्त भएको छ । यो कुल दाबीको करिब ३५ प्रतिशत मात्र हो । बाँकी करिब ६५ प्रतिशत दाबीको आवश्यक कागजात नपुगेको संघले बताएको छ । भुक्तानी हुन बाँकी दाबीमध्ये १ हजार ६ सय ४१ वटा सक्कली वा नक्कली प्रमाणीकरणका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) मा पठाइएको, १ हजार ३ सय ६ वटा दाबी भुक्तानीका लागि तयार भएको र २ हजार १ सय ४४ वटा दाबीउपर अध्ययन भइरहेको संघले जनाएको छ ।

बिमा कम्पनीहरूले भने समयमै भुक्तानी दिएको दाबी गर्दै आएका छन् । आवश्यक कागजात र मापदण्ड पुगेका सबै दाबी एक साताभित्रै भुक्तानी हुँदै आएको बिमक संघका अध्यक्ष दीपप्रकाश पाण्डेले दाबी गरे । ‘करिब एक तिहाइ दाबीमा आवश्यक कागजात नै पुगेका छैनन्,’ उनले भने, ‘मापदण्ड पुगेका दाबी भुक्तानीमा कत्ति पनि ढिलाइ भएको छैन ।’ अहिले पनि दाबी भुक्तानी नपाएका बिमितले आफूले बिमा गरेको कम्पनीमा सम्पर्क राखेर दाबीको अवस्थाबारे जानकारी लिन र कागजात नपुगेको भए छिट्टै पुर्‍याइदिन पाण्डेले आग्रह गरे ।

विगतमा ईडीसीडीबाट प्रमाणीकरणमा ढिलाइ भएको थियो । अहिले त्यहाँबाट पनि छिटो भएको छ । दैनिक डेढदेखि दुई सय वटा रिपोर्ट परीक्षण भएर आउने गरेको उनले बताए । ‘दाबी भुक्तानी नियमित प्रक्रियामा गइसक्यो, मापदण्ड पुगेका सबै दाबी एक–दुई साताभित्रै भुक्तानी गर्छौं,’ उनले भने, ‘जति चाँडो प्रमाणीकरण हुन्छ त्यति छिटो दाबी भुक्तानी हुन्छ ।’

शंकास्पद र निजी प्रयोगशालामा गरिएको परीक्षणका रिपोर्ट प्रमाणीकरणका लागि ईडीसीडी पठाउनुपर्ने भएकाले समय लागेको हुन सक्ने बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए । ‘मापदण्ड पुगेका सबै बिमितले दाबी पाउँछन्,’ उनले भने, ‘धेरै दाबीमा आवश्यक कागजात नै नपुगेको जानकारी आएको छ ।’ बिमा गरिसकेपछि कम्पनीहरूले जसरी भए पनि दाबी भुक्तानी दिनुपर्ने भएकाले केही ढिलाइ भए पनि ढुक्क हुन उनले बिमितलाई आग्रह गरे ।

लामो समयसम्म दाबी भुक्तानी नदिएको भन्दै चौतर्फी विरोध भएपछि गत कात्तिक १८ मा सरकारले सात दिनभित्र भुक्तानी दिन बिमा कम्पनीलाई निर्देशन दिएको थियो । सो निर्देशनपछि (गत कात्तिकयता) मात्र थप करिब २ हजार ८ सय वटा दाबी भुक्तानी भइसकेका संघले बताएको छ । सरकारको निर्देशन आउनुअघिसम्म करिब १ हजार ४ सय वटा मात्र दाबी भुक्तानी भएका थिए । कोरोना बिमा मापदण्ड, ०७७ मा आवश्यक कागजात पुगेका बिमितले बढीमा सात दिनभित्र भुक्तानी पाइसक्नुपर्ने प्रावधान छ । संशोधित मापदण्डमा बिमा पुल (बिमक संघ) बाट मात्र दाबी भुक्तानी गर्न एकद्वार नीतिको व्यवस्था गरिएको छ । त्यसको व्यवस्थापन शिखर इन्स्योरेन्सले गरेको छ । गत सातासम्म १ लाख ५६ हजार ५ सय बिमालेखमार्फत १७ लाख ४ हजार जनाले बिमा गरेका छन् । सो बिमाबाट ९८ करोड ३३ लाख ७९ हजार ८ सय ६८ रुपैयाँ संकलन भएको छ । जसमध्ये २१ करोड २० लाख रुपैयाँ ५४ हजार ६ सय ८९ रुपैयाँ गत भदौ २८ गतेपछिको बिमाबाट संकलन भएको बिमा शुल्क हो । सो अवधिमा १५ हजार १ सय ८७ बिमालेखमार्फत ३ लाख ५५ हजार २ सय १८ जनाको बिमा भएको छ ।

भदौ २८ यता बिमा समितिले पुरानो बिमालेख खारेज गरी नयाँ जारी गर्न निर्देशन दिएको थियो । नयाँ बिमा लेखमा सामूहिक रूपमा प्रतिव्यक्ति १ लाख रुपैयाँको मात्र बिमा गर्न पाइन्छ । जसमा कोरोना संक्रमित भएको प्रमाणित भएपछि घरमै आइसोलेसनमा बसेको भए एकमुष्ट २५ हजार र अस्पतालमा उपचार गराएको भए उपचार खर्चअनुसार बढीमा ७५ हजार रुपैयाँसम्म भुक्तानी पाइन्छ । भदौ २८ अघि बिमा गरेका बिमितले भने कोरोना प्रमाणित भएपछि एकमुष्ट ५० हजार र एक लाख रुपैयाँ भुक्तानी पाउँछन् । बिमक संघको सहमतिअनुसार बिमा कम्पनीले मापदण्ड पुगेका सबै दाबी बिमा (पुल) मा पठाउने, पुलले पाँच दिनभित्र सबै प्रक्रिया पूरा गरी सम्बन्धित कम्पनीमा फिर्ता पठाउने र त्यसको दुई दिनभित्र कम्पनीले बिमितलाई भुक्तानी दिनुपर्नेछ । कोभिड–१९ को जोखिम सुरक्षणका लागि भन्दै गत वैशाख ७ देखि बिमा लेखको बिक्री सुरु गरिएको थियो ।

प्रकाशित : मंसिर ११, २०७७ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?