कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतबाट २५० मेगावाट बिजुली ल्याउन स्वीकृति

काठमाडौँ — नेपाल विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट २ सय ५० मेगावाट विद्युत् आयात गर्न भारतीय सरकारी निकायबाट स्वीकृति पाएको छ । यो भारतबाट आयात हुने विद्युत्को वार्षिक रूपमा हुने सम्झौताको नवीकरण भएको प्राधिकरणले जनाएको छ ।

भारतबाट २५० मेगावाट बिजुली ल्याउन स्वीकृति

प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाका अनुसार अघिल्ला वर्षहरूमा ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट ३ सय ५० मेगावाटसम्म विद्युत् आयात हुने गरेकोमा यो वर्ष परिमाण घटाइएको छ । विद्युत् व्यापारको लागि भारत सरकारको नोडल एजेन्सी एनभीभीएनले सम्झौता नवीकरणको औपचारिक पत्र पठाएको उनले जानकारी दिए । भारतबाट आयात हुने विद्युत्ले सुक्खायामको विद्युत् माग धान्न सहज हुने प्राधिकरणको अनुमान छ । यसअघि २२० केभीएमा चार्ज गरिएको ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनलाई तिहारअघि नै ४ सय केभीए क्षमतामा स्तरोन्नति गरिसकिएको छ । प्रसारण लाइनको स्तरोन्नतिसँगै नेपाल र भारतबीच १ हजार मेगावाटसम्म विद्युत् आदानप्रदान गर्ने पूर्वाधार तयार भएको छ ।

नेपालमा उत्पादित विद्युत् खपतभन्दा बढी भएको अवस्थामा भारतको इनर्जी एक्सचेन्ज बजारमा बिक्रीका लागि पनि दुई देशका सरकारी निकायबीच छलफल भइरहेको प्राधिकरणका प्रवक्ता तिम्सिनाले बताए । मन्त्रिपरिषद्ले भारतको डे अहेड र टर्म अहेड बजारमा विद्युत् बिक्रीका लागि प्राधिकरणलाई स्वीकृत दिइसकेको छ । निर्माणाधीन आयोजना सम्पन्न भए यो आर्थिक वर्षभित्र राष्ट्रिय प्रणालीमा १ हजार मेगावाट विद्युत् थपिने सरकारको अनुमान छ । तर कोभिड–१९ को प्रभावका कारण निर्माणको अन्तिम चरणमा रहेका आयोजना सम्पन्न हुन ढिलाइ भइरहेका छन् । यो आर्थिक वर्षभित्र निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित केही आयोजना राष्ट्रिय प्रणालीमा जोडिने अनुमान गरिएको छ ।

प्रकाशित : मंसिर ९, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?