१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विराटनगर विमानस्थललाई ‘अन्तर्राष्ट्रिय स्तर’ को बनाइने

नागरिक उड्‍डयन प्राधिकरणद्वारा १२६ बिघा जमिन अधिग्रहण गर्ने तयारी
विनोद भण्डारी

विराटनगर — विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले १ सय २६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्ने भएको छ ।

विराटनगर विमानस्थललाई ‘अन्तर्राष्ट्रिय स्तर’ को बनाइने

संघीय सरकारको कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले यस विमानस्थललाई विस्तार गरी अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नतिका लागि प्राधिकरणलाई १२६ दशमलव ४६ बिघा जमिन अधिग्रहण गर्न अनुमति दिएको थियो।

यसअघि गत असोज १९ गते विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न र तीन हजार मिटर लामो धावन मार्ग निर्माणका लागि अधिग्रहण गरिने जमिनको मुआब्जा प्राधिकरणले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत रकम बेहोर्ने त्रिपक्षीय सहमति भएको थियो ।

२०२५ सालमा भारतको लगानीमा स्थापना भएको यो विमानस्थलको क्षेत्रफल हाल १ सय १९ बिघा ८ कठ्ठा र धावन मार्गको लम्बाइ १ हजार ५ सय मिटर छ । गत वर्ष प्राधिकरणले विमानस्थलपूर्वको उत्तर र दक्षिणतर्फका २६ वटा घरसहित ४ बिघा ८ कठ्ठा जमिन ६९ करोड रुपैयाँ मुआब्जा तिरेर अधिग्रहण गरेको थियो ।

हाल विमानस्थलको दक्षिण र उत्तर तारजाली बीचको दूरी २ सय १२ मिटर छ । त्यही तारजालीको बीचमा धावन मार्ग छ । धावन मार्गको बीच प्वाइन्टवाट कम्तीमा एक सय ५० मिटर दक्षिण र एक सय ५० मिटर उत्तर अधिग्रहण गर्दै पश्चिम केशलिया खोलातर्फको जमिन अधिग्रहण गरिने नागरिक उड्डयन प्राधिकरण विराटनगरका प्रमुख उत्सव खरेलले बताए ।

जग्गा अधिग्रहण गर्ने स्वीकृति प्राप्त भएको तर सम्पूर्ण विवरण आइनसकेकाले विस्तार हुने धावनमार्गका बारेमा अहिलै केही भन्न नसकिने स्थिति रहेको उल्लेख गर्दै खरेलले भने, ‘हालको धावन मार्गको बीचबाट १५० मिटर दक्षिण र १५० मिटर उत्तर अधिग्रहण गर्दै पश्चिमतर्फको जमिन अधिग्रहण हुने चाहिँ पक्का हो ।’

अहिले उत्तर–दक्षिण चौडाई ९० मिटरदेखि १५० मिटर सम्मको छ । खरेलले भने, ‘त्यसलाई समान १५० मिटर बनाउँदै टर्मिनल भवन रहने उत्तरतर्फ केही बढी जमिन अधिग्रहण गरिनेछ ।’

प्रकाशित : मंसिर ८, २०७७ १७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?