कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

निजी आवासको किस्ता बुझ्न प्राधिकरणको ताकेता

‘अनुदान सम्झौता गर्ने यो अन्तिम समय हो’
विमल खतिवडा

काठमाडौँ — राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले लाभग्राहीको सूचीमा रहेकाहरूलाई रकम बुझ्न ताकेता गरेको छ । प्राधिकरणले अन्तिम पटक अनुदान सम्झौता गर्ने र किस्ता बुझ्ने समय थप गरेसँगै तोकिएकै समयमा रकम बुझ्न भनेको हो ।

निजी आवासको किस्ता बुझ्न प्राधिकरणको ताकेता

‘अहिलेसम्म लाभग्राहीको सूचीमा परेर पनि अनुदान सम्झौता नगरेका र रकम नबुझेकालाई थप गरिएकै समयमा बुझ्न आग्रह गर्छौं,’ प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले भने, ‘यो अन्तिम मौका हो, अब फेरि समय थपिने छैन ।’ जिल्ला तहका प्राविधिकलाई यसबारे सूचना पठाएर घर बनाउन नचाहनेहरूको सूची मागिएको उनले जानकारी दिए । प्राधिकरणका अनुसार अहिलेसम्म ९३ प्रतिशत निजी आवास निर्माण सकिने चरणमा छ । जसमध्ये ७१ प्रतिशत सम्पन्न भइसकेको छ । २२ प्रतिशत निर्माणको क्रममा छ । ७ प्रतिशतले अझै रकमका लागि सम्झौता गरेका छैनन् । लाभग्राही सूचीमा परेका ८ लाख ३४ हजार ९ सय २१ मध्ये ७ लाख ९१ हजार ७ सय ६७ जनाले मात्र अनुदानका लागि सम्झौता गरेका छन् । तथ्यांकअनुसार ४३ हजार १ सय ५४ जनाले अनुदान सम्झौता गरेका छैनन् । ६ हजार ८ सय १७ जनाले अनुदान सम्झौता गरे पनि पहिलो किस्ता बुझेका छैनन् ।

अहिलेसम्म ७ लाख ८४ हजार ९ सय ५० जनाले पहिलो र ६ लाख ७७ हजार ९४ जनाले दोस्रो किस्ता बुझेका छन् । यस्तै पहिलो किस्ता बुझेर दोस्रो किस्ता नबुझ्नेको संख्या १ लाख ७ हजार ८ सय ५६ छ । अहिलेसम्म तेस्रो किस्ता बुझ्नेको संख्या ६ लाख ५ हजार ८३ छ । त्यसमा दोस्रो किस्ता बुझेर तेस्रो किस्ता नबुझ्नेको संख्या ७२ हजार ११ छ । प्राधिकरणको समय पुसमा सकिँदै छ । प्राधिकरणको निर्देशक समिति बैठकले समय एक वर्ष थप गर्न यसअघि नै सिफारिस गरिसकेको छ । प्राधिकरणको कार्यअवधि थप्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए । ‘अब बस्ने मन्त्रिरिषद् बैठकमा छलफल भएर निर्णय हुनेछ,’ उनले भने । निजी आवासको समयसीमा जेठ मसान्तसम्म तोकिएको सहप्रवक्ता घिमिरेले जानकारी दिए । ‘तेस्रो किस्ताका लागि वैशाख मसान्तभित्र सम्बन्धित वडामा निवेदन दिइसक्नुपर्नेछ,’ उनले भने ।

पहिलो किस्ता लिइसकेका सबै लाभग्राहीले घर निर्माण सुरु गरी दोस्रो किस्ता लिन २०७७ माघ मसान्त, तेस्रो तथा अन्तिम किस्ताका लागि २०७८ वैशाख मसान्तसम्म सम्बन्धित स्थानीय तहमा प्रमाणीकरणका लागि निवेदन दिनुपर्नेछ । ‘अहिले हामीले निजी आवासलाई बढी जोड दिएका छौं,’ उनले भने, ‘त्यसैले निजी आवासको काम चाँडै सक्न लागिपरेका छौं ।’ निजी आवास निर्माणको काम अहिलेसम्म सन्तोषजनक रहेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवाली बताउँछन् । अहिले रोकिएको किस्ता वितरणको काम चलिरहेको उनले बताए । किस्ता वितरणमा अहिले कुनै समस्या छैन । ‘तर निजी आवासमा अली पछि केही रकम अपुग हुने देखिएको छ,’ सहप्रवक्ता घिमिरेले भने, ‘उक्त रकमबारे अहिले अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ ।’

प्रकाशित : मंसिर ७, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?