१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

‘हाम्रो समूहले चुनावी मुद्दा मात्रै बनाउँदैन, गरेर देखाउनेछ’

हिजोको महासंघ एक्लो थियो, आज प्रतिस्पर्धा छ । त्यसैले हामीले अझ फुर्तिलो र जाँगरिलो बनाउनु जरुरी छ– उमेशलाल श्रेष्ठ

काठमाडौँ — यही मंसिर ११–१३ मा हुने नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगततर्फको उपाध्यक्षमा उमेशलाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् । उक्त पदमा अञ्जन श्रेष्ठ उनका प्रतिस्पर्धी छन् ।

‘हाम्रो समूहले चुनावी मुद्दा मात्रै बनाउँदैन, गरेर देखाउनेछ’

चुनावी एजेन्डा, कोभिड–१९ ले थिलथिलो पारेको अर्थतन्त्र उकास्न निजी क्षेत्रको भूमिका, रोजगारी सिर्जना र उनीमाथि लाग्ने गरेका आरोपमाथि केन्द्रित रहेर कान्तिपुरका कृष्ण आचार्यनुमा थाम्सुहाङले गरेको कुराकानीको सम्पादित अंश :

महासंघको वस्तुगततर्फको उपाध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ, तपाईंका चुनावी एजेन्डा के–के छन् ?

निजी क्षेत्र र सरकारसँगको सहयोगी पुल कसरी बन्ने, नीति निर्माणको क्षेत्रमा कसरी तलदेखि माथिसम्मका सरकारसँग काम गर्ने र अहिले भइरहेका कमीकमजोरी कसरी हटाउने भन्ने विषय मुख्य हो । यो नै हाम्रो समूहको मूल एजेन्डा हो । अर्को एजेन्डा भनेको थुप्रै उद्योगी व्यवसायी साथीहरूले उद्योग वाणिज्य महासंघको सचिवालय दह्रो बनाउने भनिरहनुभएको छ । म पनि १०–१२ वर्षदेखि महासंघको अभियानमा छु । जबसम्म सचिवालयलाई चुस्तदुरुस्त र ‘प्रोफेसनल’ बनाउँदैनौं, तबसम्म उन्नति हुँदैन । महासंघको नीति निर्माणमा हामी लाग्दैनौं भने महासंघले खासै उन्नति गर्न सक्दैन । सायद थुप्रैले भनिआएको कुरा महासंघको साख गिरेको छ । महासंघलाई बलियो बनाउनु हाम्रो अर्को मुख्य एजेन्डा हो ।

महासंघको छवि उकास्न के गर्ने योजना छ ?

यसको छवि सुधार गर्नु आवश्यक छ । म वर्षौंदेखि महासंघमा छु । कोही २८ वर्षदेखि महासंघमा छन् । हालका वरिष्ठ उपाध्यक्ष अब स्वतः अध्यक्ष हुँदै हुनुहुन्छ । एक जना वरिष्ठ उपाध्यक्ष र अन्य तीन उपाध्यक्ष मिलेर काम गर्छौं । यसअघि त्यहाँ प्रोफेसनल तरिकाले काम भइरहेको छैन । अब भने हामीले गर्नुपर्छ । जसले नै जितेर आओस् । मैले कसैलाई आरोप, लाञ्छाना लगाएको छैन । १०औं महिनादेखि महासंघमा भ्रष्टाचारको कुरा आएको छ । महासंघ सुधार चुनावी मुद्दा होइन, गरेर देखाउने हो । हिजोको दिनमा महासंघ एक्लो थियो, आज प्रतिस्पर्धा छ । त्यसैले हामीले अझ फुर्तिलो र जाँगरिलो बनाउनु जरुरी छ । नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स पनि छन् । दुनियाँमा नेपाल मात्र एउटा मुलुक हो, जहाँ निजी क्षेत्रका ३/४ वटा संगठन छन् । हामी सबैभन्दा ठूलो छाता संगठन भएका हिसाबले उहाँहरूलाई साथै लैजान सक्नुपर्छ । त्यस्तो खालको नेतृत्वको विकास गर्नुपर्छ ।

तपाईं अहिले पनि उपाध्यक्ष हुनुहुन्छ । फेरि त्यही पदमा आफूलार्ई किन दोहोर्‍याउँदै हुनुहुन्छ ?

मैले यो प्रश्नको धेरै सामना गर्नुपरेको छ । म यसपालि समस्या पर्ने भएर ओत लाग्न मात्र खोजेको हुँ । मेरो सगरमाथा चढ्ने उद्देश्य हो । बेस क्याम्प अनि फस्ट क्याम्पतिर एकैछिन बस्ने काम मात्र गरेको हुँ । म यस पटक उपाध्यक्षमा पनि उम्मेदवारी दर्ता नगराएर छाड्ने कि अर्को पदमा जाने भन्ने विषयमा साथीहरूसँग सल्लाह भयो । विकल्प धेरै थिएनन् । छाड्ने नै भनेर विकल्प नसोचेको पनि होइन । तर साथीहरू मान्नुभएन । वस्तुगत संघका सदस्यका साथीहरूले पहिलेको चुनावमा थुप्रै मत दिएर जिताउनुभएको थियो । हाम्रो समूहका वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालजीले तपाईंको साथ चाहिन्छ, हामी सँगै हिँड्नुपर्छ पनि भन्नुभयो । म पनि वरिष्ठ उपाध्यक्षमा उठ्नुपर्ने थियो । तर उहाँले यसपालि एक चोटि सहयोग गरिदिनुहोस् भनी अनुरोध गर्नुभयो । त्यसैले फेरि उपाध्यक्षमै उम्मेदवारी दिएको हुँ । म महासंघमा सदस्यबाट प्रवेश गरेको हुँ । बस्दै, काम गर्दै गएँ, साथीहरूले रुचाए । अघिल्लोको चुनावमा उपाध्यक्ष भएँ । म चाहिँ कुनै पनि कामका लागि ठीक हो कि होइन ? यसलाई प्रमाणित गर्न सक्नुपर्छ अनि त्यसपछि साथीहरूले साथ दिन्छन् ।

अहिलेको अवस्थामा वर्तमान रोजगारीलाई नै निरन्तरतासँगै नयाँ रोजगारीका अवसर सिर्जना गर्नुपर्नेछ । यसमा महासंघका तर्फबाट केकस्ता काम भइरहेका छन् ? र अब के–कस्ता काम गर्ने योजना छ ?

यसमा महासंघभन्दा पनि सरकारले काम गर्नुपर्छ । त्यसका लागि महासंघले पहल गरेको छ । सरकारले के बुझ्नुपर्‍यो भने तहसनहस भएको अर्थतन्त्रलाई महासंघ एक्लैले उठाउन सक्दैन । सरकारको सहयोग चाहिन्छ । संसारको कुनै पनि देशको अर्थतन्त्र वा अर्थनीति निजी क्षेत्रले बनाउँछ र बिगार्छ, त्यो सही कुरा हो । देशको कुल गार्हस्थ्य उत्पादनको करिब ७०/८० प्रतिशत योगदान निजी क्षेत्रले दिन्छ । हामीले कमाएको पैसाबाट देश चल्छ । त्यसकारण अहिलेको अवस्थामा सरकारले एउटा राहतको प्याकेज ल्याउनुपर्थ्यो । नेपालमा कोरोना भाइरस आएको पनि झन्डै एक वर्ष हुन लाग्यो । तर आर्थिक प्याकेज प्रभावकारी रूपमा आएनन् । अहिले पनि प्याकेज ल्याउन सकिन्छ । हामीले सरकारलाई १ खर्ब ८० अर्ब रुपैयाँको राहतको प्याकेज ल्याएर विशेषतः साना र मझौला उद्योगहरूलाई दिन सकिन्छ भनेर भनेका थियौं । तर त्यसअनुसार काम भइरहेको छैन । अर्को साता महासंघको चुनाव सकिन्छ । त्यसपछि हामीले सरकारसँग नयाँ तरिकाले कुरा गर्नुपर्छ । कोभिड–१९ को बढ्दो संक्रमणसँगै सत्तारूढ दल आन्तरिक किचलोमा फसेको छ । हामी रेमिट्यान्समा निर्भर भएको मुलुक भनेर सोच्छौं । मलाई यो हो जस्तो लाग्दैन । ९ खर्ब रुपैयाँ रेमिट्यान्स ल्याउँछौं । ५ खर्ब रुपैयाँ जति रेमिट्यान्स पनि पठाउँछौं । त्यो हामी बिर्सन्छौं । नेट रेमिट्यान्सको फाइदा भयो जम्मा ४ खर्ब जति मात्र । त्यो रेमिट्यान्सलाई प्रयोग गर्ने कसरी भन्ने सरकारले सोच्नुपर्छ । हामीले सरकारसँग यसपालि कृषिका लागि थुप्रै दबाब दियौं । त्यो कुरा लागू भयो । अहिले हामी अप्ठ्यारो स्थितिमा छौं । त्यसैले अब महासंघमा आउने नेतृत्व प्रयत्नरत हुनुपर्छ । अब स्थानीय वस्तुमा आधारित उद्योगहरूलाई आत्मनिर्भर गर्ने र रोजगारी सिर्जनाका कार्यक्रममा लाग्नुपर्छ ।

तपाईं निजी क्षेत्रको नेतृत्वमा आउन खोजिरहनुभएको छ । तर उद्योग, व्यापार व्यवसाय छैन । कतिपय अवस्थामा निजी क्षेत्रका मर्म तपाईंले बुझ्नुहुन्न भन्ने खालका कुरा पनि सुनिन्छन् नि ?

यस्तो भन्नेसँग म बहस गर्न चाहन्छु कि कसरी म बुझ्दिनँ ? म स्पष्टतामा विश्वास गर्छु । मेरा बुवाबाजे व्यापारी भन्ने थिए भन्नेबित्तिकै मैलै पनि व्यापार व्यवसाय नै गर्नुपर्ने हो ? एउटा कुरा के हो भने म जमिनबाट उठेको व्यक्ति हुँ । हिजोको दिनमा ६ सय रुपैयाँको जागिर खान्थें । त्यसैले तलदेखि बुझ्दै–बुझ्दै अहिले यहाँसम्म आइपुगेको छु । कसैले समस्या बुझ्दैन भन्नुहुन्छ भने उहाँसँग म बहस गर्न चाहन्छु । भन्न त पाइन्छ तर म त्यस्ता साथीहरूसँग आर्थिक नीति र अर्थका विषयमा छलफल गर्न चाहन्छु । केही भ्रम छन् भने म हटाउन चाहन्छु । मलाई अर्थतन्त्रका विषयमा राम्रो ज्ञान छ । ४० वर्षदेखि म यसैमा छु ।

तपाईं अलि मिलनसार हुनुहुन्न । जस्तो तपाई अध्यक्ष रहेको हक्की संघमा लामो समयदेखि निर्वाचन नै हुन सकेको छैन । औषधि उत्पादक संघमा पनि वस्तुगतसम्बन्धी विवाद छ । यसमा के भन्नुहुन्छ ?

मेरो हक्की संघको कुरा यहाँ ल्याएर सान्दर्भिक छैन । करिब साढे तीन वर्षअगाडि निर्वाचन भएको थियो । अहिलेको निर्वाचन कोभिड–१९ को बढ्दो संक्रमणले सम्भव भएको छैन । मेरो स्वभावका विषयमा कुरा गर्ने हो भने चाप्लुसी मन पर्छ भने मसँग संगत नगर्नुहोस् । म कालोलाई कालो भन्छु, सेतोलाई सेतो । म पाँच कोस टाढाको कुरा सुनेर अहिले निर्णय लिन सक्दिनँ । म अहिले जे छ तुरुन्तै निर्णय लिनुपर्छ भन्ने व्यक्तिको मान्छे हुँ ।

म कस्तो छु भनेर आफैंले प्रमाणित गर्ने कुरा आएन । तिनै साथीहरूले गर्दा १२–१३ वर्ष महासंघमा बिताएँ । म यस्तो कुरामा सोच्ने मानिस होइन । म खुला विचार भएको व्यक्ति हुँ । नेतृत्व खोज्ने भनेको के हो त ? इमानदारी, जागरुकता होइन ? यी सबै कुरा मलाई लाग्छ मसँग छन् । अब चुनावमा भ्रमका खेती गर्ने थप्रै हुन्छन् । चुनावमा भनेको हार र जितलाई पचाउन सक्नुपर्‍यो । जितमा नमात्तिनू, हारमा नआत्तिनू । चुनाव लडेपछि दुई वटामा एउटा मात्र हुन्छ ।

महासंघमा यस पटक सहमतिको सम्भावना कतिको छ ?

सहमति भनेको अत्यन्तै राम्रो हो । सहमति नराम्रो हुँदै होइन । अब यो अवस्थामा आएर सहमति हुन्छ जस्तो लाग्दैन । लोकतान्त्रिक चुनावको प्रक्रियामा काम नलाग्ने तत्त्व फालिन्छ । हुन सक्छ मै फालिन्छु होला । त्यो अर्कै कुरा हो, समयले बताउँछ । सहमति भए ठीकै छ ।

प्रकाशित : मंसिर ५, २०७७ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?