१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

गाउँभरि माछापालन

किसानले खेत मासेर व्यावसायिक माछापालन गरिरहेका छन्
डम्बरसिं राई

खोटाङ — घरघरै माछा पोखरी । पोखरीमा लस्करै खेलिरहेका माछा । ग्रासकार्प, कमनकार्पलगायत माछाले सबैको मन लोभ्याउँछन् । यो साकेला गाउँपालिका–२ रतन्छाका स्थानीय युवाहरूको जाँगर हो ।

गाउँभरि माछापालन

यहाँका युवाले सामूहिक तथा व्यक्तिगत माछा पालेर मनग्गे आम्दानी गर्न थालेका छन् । रतन्छाका युवाहरूले २०५४ सालदेखि माछा पालेका हुन् । पछिल्लो समयमा व्यावसायिक माछापालन सुरु गरिएको साकेला गाउँपालिका–२ रतन्छाका वडाध्यक्ष उन्नत राईले बताए । पानीको स्रोत प्रशस्त भएकाले व्यावसायिक रूपमा माछापालन गर्न सहज भएको उनको भनाइ छ । राईसमेत १० वर्षदेखि माछापालनमा संलग्न छन् । उनले १० रोपनी धानखेत मासेर माछापोखरी बनाएका छन् । उनले यो साता मात्र ६० किलो माछा बेचे । अरू दुई सय किलो माछा पनि बिक्री गर्ने तयारीमा भएको राईले सुनाए । ‘यो वर्ष पनि माछा राम्रै उत्पादन गरिएको छ,’ राईले भने, ‘प्रतिकिलो ६ सय रुपैयाँका दरले बिक्री भएको छ ।’

रतन्छाकै पर्वत राईले पनि माछाबाट आम्दानी गर्न थालेका छन् । यो वर्ष मात्र उनले करिब तीन सय किलो माछा बिक्रीका लागि तयारी गरेका छन् । अन्य खेतीको तुलनामा राम्रो आम्दानी हुने भएपछि यसतर्फ लागेको पर्वतको भनाइ छ । ‘यो वर्ष करिब तीन सय किलो माछा बिक्री गरिन्छ होला,’ उनले भने ।

माछापालनबाट राम्रौ आम्दानी हुने भएपछि रतन्छा धिकुर्तुङका युवाले तीन वर्षदेखि सामूहिक व्यवसाय गरिरहेका छन् । यहाँका १३ जना युवाले एलेलेमा पौरखी माछापालन कृषक समूह स्थापना गरेर काम गरिरहेका छन् । यो वर्ष पनि उनीहरूले पालेको माछा बिक्री गर्ने बेला भएको छ । एउटै माछा करिब डेढ किलो हाराहारीको भएको माछापालन समूहका सचिव सन्तराज राईले बताए ।

प्रकाशित : मंसिर ४, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?