कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडाका उद्योग खुले पनि उत्पादन बढेन

सुवास विडारी

मकवानपुर — कोरोनाका कारण लामो समय ठप्प रहेको हेटौंडा औद्यागिक क्षेत्रभित्रका उद्योग खुले पनि पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । सरकारले स्वास्थ्य मापदण्ड तोकेर दुई महिनाअघिदेखि उद्योग खुलाएको हो । 

हेटौंडाका उद्योग खुले पनि उत्पादन बढेन

‘औद्योगिक उत्पादनको बजार माग नै कमजोर छ । जसले गर्दा उद्योगहरूले बढीमा ५० प्रतिशत उत्पादन गरिरहेका छन्,’ उद्योग संघ हेटौंडाका अध्यक्ष लेखराज पोखरेलले भने । उनका अनुसार विशेष गरी निर्माण सामग्री उत्पादन गर्ने, फर्निचर तथा रंग उद्योगहरूको उत्पादन ज्यादै न्यून छ ।

औद्योगिक क्षेत्रमा रहेका १ सय ११ वटा उद्योगमध्ये हाल ९० प्रतिशत मात्र सञ्चालनमा छन् । ‘सार्वजनिक यातायात चलेसँगै मजदुर आउन थालेपछि प्रायः उद्योग सञ्चालनमा आएका छन् । बाँकी उद्योग बजार माग हुँदा सञ्चालन हुने, अन्य समयमा बन्द हुने गरेका छन्,’ हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड कार्यालयका प्रमुख राजेन्द्र कँडेलले भने । उनका अनुसार अत्यावश्यक सामग्री र खाद्यान्न उत्पादन गर्ने उद्योगहरू लकडाउनको समयमा पनि सञ्चालनमा थिए ।

यस वर्ष औद्योगिक उत्पादन घटेपछि हेटौंडाको निर्यात व्यापार घट्ने निश्चित छ । औद्योगिक क्षेत्रको निर्यात व्यापारमा पछिल्लो समय निरन्तर गिरावट आइरहेको छ । आर्थिक वर्ष २०७५/७६ को तुलनामा बितेको आर्थिक वर्ष २०७६/७७ मा निर्यात व्यापारमा झन्डै २ करोड रुपैयाँभन्दा बढीले गिरावट आएको थियो । आर्थिक वर्ष २०७५/७६ मा मकवानपुरको निर्यात व्यापार ३८ करोड ५० लाख रुपैयाँ रहेकोमा बितेको वर्ष ३६ करोड ११ लाखमा सीमित बन्न पुगेको हो ।

उद्योगहरू पूर्णरूपमा सञ्चालनमा नआउँदा करिब दुई हजार जनाले रोजगारी गुमाइसकेका छन् । औद्योगिक क्षेत्रका उद्योगमा करिब ५ हजार ५ सय जना रोजगाररत थिए । उद्योग सञ्चालनमा आए पनि ४० प्रतिशतसम्म घाटा बेहोरेर उद्योग सञ्चालन गर्नुपर्ने भएपछि कर्मचारी तथा मजदुर कटौती गरेको उद्योगहरूले जनाएका छन् । पोखरेलका अनुसार कोरोना संक्रमणको अवस्था सामान्य भएपछि र उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि उनीहरूलाई पुनः काममा फर्काइनेछ । ‘उद्योगहरू पहिलेकै अवस्थामा सञ्चालनमा आउन अवस्था सामान्य भएपछि पनि कम्तीमा ६ महिना लाग्छ,’ उनले भने ।

कोरोनाकै कारण औद्योगिक क्षेत्रले हाल मासिक करिब ३३ करोड रुपैयाँ राजस्व घाटा बेहोरिरहेको छ । औद्योगिक क्षेत्रबाट दैनिक एक करोड रुपैयाँभन्दा बढी राजस्व घाटा भइरहेको व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ । कार्यालय प्रमुख कँडेलले उद्योगहरू पूर्ण रूपमा सञ्चालन हुँदा औद्योगिक क्षेत्रबाट सरकारले मासिक १ अर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन गर्ने गरेको बताए । ‘अहिले दैनिक कति राजस्व संकलन हुन्छ भन्न सकिँदैन । कहिले बढी हुन्छ, कहिले कम । औद्योगिक उत्पादन र बजारीकरणमा अहिलेको राजस्व संकलन निर्भर भइरहेको छ,’ उनले भने ।

औद्योगिक क्षेत्रमा १ सय ३५ वटा उद्योग रहेकामा हाल १ सय ११ वटा सञ्चालनमा छन् । सातवटा खारेज भएका छन् भने १७ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको करिब ५ अर्ब ५० करोड र सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक २०, २०७७ १०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?