उपत्यकाबाट ६ दिनमा १ लाख ४३ हजार मात्र बाहिरिए- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उपत्यकाबाट ६ दिनमा १ लाख ४३ हजार मात्र बाहिरिए

विमल खतिवडा

काठमाडौँ — उपत्यकाबाट ६ दिनमा १ लाख ४२ हजार ७ सय ६९ यात्रु बाहिरिएका छन् । घटस्थापनायता बाहिरिनेको संख्या दैनिक बढ्दो छ । तर गत वर्षको तुलनामा दसैंमा बाहिरिने यो संख्या भने धेरै कम हो ।

कोभिड–१९ का कारण लकडाउन भई विद्यालय, क्याम्पसलगायत बन्द भएसँगै १२ लाखभन्दा बढी यात्रु पहिला नै बाहिरिसकेका छन् । लकडाउन खुलेपछि उपत्यका छाड्नेको संख्या झन् बढेको हो ।

कात्तिक १ गते घटस्थापनाका दिन ४ हजार २ सय २१ सवारी र २१ हजार ४ सय ७८ जना यात्रु बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यही दिन ४ हजार ४ सय ४ सवारीसँगै १६ हजार ६ सय ४९ यात्रु उपत्यका भित्रिएको ट्राफिक प्रहरीको तथ्यांक छ । बिहीबार साँझसम्म २६ हजार ५ सय ४६ जना यात्रु बाहिरिएका छन् ।

असोज १ गते सरकारले लामा तथा मध्यम दूरीका सवारी सञ्चालन गर्न दिएसँगै १ लाख ६० हजार ७ सय ४५ सवारीसँगै ६ लाख २८ हजार ७६ जना यात्रु भित्रिएका छन् । १ लाख ६१ हजार ५ सय ३६ सवारी र ७ लाख २१ हजार ८ सय ४५ सय यात्रु बाहिरिएका छन् । दसैंका बेला अघिपछि भीड हुने बसपार्क, टिकट काउन्टर भने यो वर्ष सुनसान बने । यात्रु नहुँदा व्यवसायीले खाली सवारी सञ्चालन गर्दै आएका छन् । गत वर्षजस्तो यो पटक उपत्यकाबाट बाहिरिने सवारी चाप कम रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए । ‘कोभिड–१९ को जोखिम दैनिक बढ्दो छ,’ उनले भने, ‘त्यसैले स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरिएको छ ।’ स्वास्थ्य सुरक्षाअनुसार सवारी नचलाउनेलाई नियमअनुसार कारबाही गर्ने गरेको उनले बताए ।


गत वर्ष फूलपातीको अघिल्लो दिन आठ सय यात्रु बस बाहिरिने गरेको नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवरको भनाइ छ । यस पटक भने दुई सय हाराहारीमा बस बाहिरिएका छन् । अहिले यात्रु नभएर फुर्सदिलो जस्तो भएर बस्नुपरेको उनले बताए । उनका अनुसार एउटा बसमा २० भन्दा बढी यात्रु छैनन् । गत वर्षसम्म फूलपातीका दिन मारामार यात्रु हुन्थे । यो पटक फूलपातीका दिनलाई बुकिङ नै छैन । ‘कोभिडले गर्दा दसैंको खासै रौनक छैन,’ उनले भने, ‘यात्रु नै नभएर अहिलेसम्म यसरी बस खालीखाली पठाउनुपरेको थिएन ।’ कोभिड–१९ को संक्रमणले सबैभन्दा ठूलो आर्थिक क्षति यातायात क्षेत्रमा भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला बताउँछन् । ‘अहिलेसम्म यसरी चाडवाडमा गाडी खालीखाली गुडाउनुपर्ने अवस्था आएको थिएन,’ उनले भने, ‘त्यसैले सबैभन्दा ठूलो मार यातायात व्यवसायीले खेप्नुपरेको छ ।’ गत वर्षसम्म फूलपातीको अघिल्लो दिन करिब साढे २ लाख यात्रु बाहिरिन्थे । अहिले गाडी भए पनि यात्रु नभएको उनले गुनासो गरे । ‘बल्लतल्ल करिब ४० प्रतिशत सवारी सञ्चालनमा छन्,’ उनले भने, ‘तिनमा पनि यात्रु छैनन् ।’

प्रकाशित : कार्तिक ७, २०७७ ०७:१३
प्रतिक्रिया
पठाउनुहोस्

दसैंमा लुम्बिनीमा बिक्री हुन्छन् ६० हजार खसीबोका

अमृता अनमोल, रूपा गहतराज

बुटवल/नेपालगन्ज — रूपन्देहीको सैनामैना नगरपालिका–११ वनभुसडीकी राधिका भुसालले यसपालि दसैंमा २० वटा खसीबोका बेचिन् । अझै १५ वटा खसी बेच्न तयार भएका छन् । खसीबोका बेच्न उनी कतै धाउनु पर्दैन ।

उनी आबद्ध मुहान महिला सहकारी संस्थाले तयार भएका सबै खसीबोका बेचिदिन्छ । चुलोचौकोमा सीमित राधिकाले सात वर्षयता बाख्रा पाल्न थालेकी हुन् । अहिले उनीकहाँ दुई सय बाख्रा छन् ।

‘सहकारीबाटै ऋण लिएर बाख्रापालन थालेकी थिएँ,’ उनले भनिन्, ‘सहकारीकै सहयोगमा बर्सेनि बाख्राको संख्या बढाउँदै गएकी छु । सैनामैना–१० सालझन्डीकी विमला सोमरेले दसैंमा १६ वटा खसीबोका बेचिन् । सबै खसीबोका सहकारीले नै बेचिदिएको उनले बताइन् । १६ वटा माउबाख्रा पालेकी उनका १० वटा अरू पाठापाठी पनि छन् ।

सैनामैनामा महिला आबद्ध उपहार र मुहान सहकारी संस्थाले बाख्रापालन र बिक्रीवितरण गर्छन् । दसैंका लागि दुई हजार खसीबोका बिक्री गर्दै छन् । यसबाट २ करोड रुपैयाँ बराबरको आम्दानी गर्ने लक्ष्य रहेको मुहान सहकारीकी सचिव लक्ष्मी रेग्मीको भनाइ छ । लुम्बिनी प्रदेशमा महिलाद्वारा सञ्चालित ८७ सहकारी संस्थाले व्यावसायिक बाख्रापालन गरेका छन् । यसअन्तर्गत करिब ४३ हजार महिला बाख्रापालनमा संलग्न छन् । आफ्ना सदस्यले पालेका बाख्राका खसीबोकासमेत सहकारीले नै बेचबिखन गरिदिने गरेका छन् । यसपालि दसैंमा मात्रै उनीहरूले ६० हजार खसीबोका बेच्दै छन् । जसमा ४० हजार जिल्लाबाहिर र २० हजार जिल्लाभित्रै बिक्री गर्ने लक्ष्य छ । यसबाट ६० करोड रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य छ । त्यसमध्ये मंगलबारसम्म ६० प्रतिशत खसीबोका बिक्री भएको महिला सहकारी सञ्जालको तथ्यांक छ । सञ्जालका अनुसार दसैंमा बाँके र बर्दियाबाट ९/९ हजार, दाङ र पाल्पाबाट ५/५ हजार खसीबोका बिक्री गरिँदै छ । अर्घाखाँचीबाट ४ हजार, प्यूठानबाट ३ हजार, गुल्मीबाट २ हजार ५ सय, रूपन्देहीबाट २ हजार र कपिलवस्तुबाट १ हजार गरी ४० हजार ५ सय खसीबोका जिल्लाबाहिर बिक्री हुँदै छन् । पाल्पा र बाँकेमा १५/१५ महिला सहकारीले बाख्रापालन गरेका छन् । बर्दिया र अर्घाखाँचीमा ९/९ वटा, दाङमा ८, प्यूठान र पाल्पा ५/५, रूपन्देहीमा ३ र कपिलवस्तुमा एक महिला सहकारीले बाख्रापालन गरेका छन् । ती सहकारी आफैंले खसीबोकासमेत बेच्ने गरेका छन् ।

यस वर्ष यी सहकारीको १ अर्ब १० करोडको कारोबार गर्ने लक्ष्य छ । गत वर्ष यी सहकारीले ७० हजार खसीबोका बिक्री गरेका थिए । त्यसबाट ७० करोडको कारोबार भएको थियो । महिला सहकारीले उत्पादन गरेका बाख्राको बजार प्रवर्द्धनमा हेफर इन्टरनेसनल नेपालले सघाएको छ । संस्थाका प्रदेश संयोजक अनन्त सिलवालले महिलालाई उपहारका रूपमा बाख्रा दिएर १९ वर्षदेखि संस्थाले बाख्रापालनमा लाग्न प्रेरित गरेको बताए । अहिले प्रदेश सरकार र स्थानीय तहले समेत बाख्रापालनमा सघाएका छन् । गुल्मीका ५, बाँकेका २ र पाल्पाको तानसेन नगरपालिकाले अनुदानका रूपमा बाख्रा दिएर महिला सहकारीलाई बाख्रापालनमा लगाएका छन् । बाख्रापालनमा लागेका महिलाका लागि अनुदान र बजार प्रवर्द्धनका कार्यक्रम ल्याएको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले बताइन् ।

खस्कियो बजार

बाँकेका महिला किसानले गत वर्ष दसैंमा पाँच हजार खसीबोका संकलन गरेर काठमाडौंदेखि अन्य सहरसम्म लगेर बेचे । तर कोरोना महामारीका कारण यस वर्ष दुई हजार खसीबोका पनि बेच्न हम्मेहम्मे भएको उनीहरूले बताए । लागत मूल्य पनि नपाएपछि महिला किसान अहिले निराश छन् । यहाँका महिलाले उत्पादन गरेका खसीबोका स्थानीय महिला उद्यमी सहकारीले खरिद गरेर सहकारी जिल्ला संघमार्फत काठमाडौंलगायतका सहरमा पठाउने गरेका हुन् । यहाँका खसीबोका काठमाडौंको कलंकीस्थित खसी बजारसम्म पुग्छन् ।

दसैं र तिहारलाई लक्ष्य गरी अहिले विभिन्न सहकारीमा आबद्ध महिलाले थोरै भए पनि खसीबोका बजारमा पठाउन लागेको सामाजिक उद्यमी जिल्ला सहकारी संघका अध्यक्ष एमीकुमारी बोहराले बताइन् । उद्यमी महिलाले स्थापना गरेको सहकारीमा आबद्ध १५ वटा सहकारीका १२ हजार सदस्य महिलाले उत्पादन गरेका २ हजार ५ सय खसीबोका काठमाडौं पठाउन लागिएको उनले जानकारी दिइन् । ‘असोजभित्र ७ सय ५० वटा खसीबोका काठमाडौं पठाएका छौं,’ उनले भनिन्, ‘अष्टमीसम्म थप १ हजार ५ सय खसीबोका काठमाडौं पठाउने सोच छ ।’ किसानलाई मर्का नपर्ने गरी जिउँदो खसी प्रतिकिलो ५ सय १५ देखि ५ सय ३५ रुपैयाँका दरले खरिद गर्दै आएको उनले सुनाइन् ।

गत वर्षको दसैंमा काठमाडौंमा १ हजार ७ सय खसीबोका पठाएका उनीहरूले खसीको शारीरिक बनोट हेरेर मूल्य निर्धारण गर्ने गरेका छन् । उनीहरूले बाँकेको खजुरा र बैजनाथ, राप्तीसोनारी गाउँपालिकाको बैजापुर, कुसुम, बिनौना, कचनापुर, ढकेरी, शमशेरगन्ज, रनियापुर खजुरा र एफगाउँको सहकारीबाट खसीबोका संकलन गरेका हुन् । जसमा राप्तीसोनारीका ९ वटै वडाबाट खसीबोका संकलन गर्ने गरिएको परिवर्तन सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष सुनिता खाँडले बताइन् । उनको सहकारीले २ सय ५० वटा खसीबोका संकलन गरेको छ । खसीबोकाको भाउ बढ्न नसकेपछि समयमा टार्गेट पूरा हुन नसकेको संघका व्यवसाय प्रबन्धक नवीन साहूको भनाइ छ ।

नेपाल खाद्य संस्थानले यस वर्ष किसानबाट खसीबोका नकिन्ने भएपछि किसान थप सकसमा परेका हुन् । गत वर्ष पनि खसीबोका नकिनेको संस्थानले यस वर्ष केन्द्रबाट स्वीकृति नपाएपछि किसानका खसीबोका खरिद नगर्ने निर्णय गरेको खाद्य संस्थान नेपालगन्जका प्रमुख निर्मल थापाले बताए । ‘काठमाडौं लैजान दाङबाटै सजिलो हुने भएकाले तीन वर्षदेखि बाँकेबाट खसीबोका संकलन गरेका छैनौं,’ उनले भने, ‘लागत मूल्यअनुसार दाङबाट ढुवानी सस्तो पर्ने भएकाले उतैबाट खरिद गरेका हौं ।’

प्रकाशित : कार्तिक ७, २०७७ ०७:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×