कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीरगन्ज भन्सारको राजस्व १७ अर्ब ७७ करोड

शंकर आचार्य

पर्सा — वीरगन्जका दुई भन्सार कार्यालयले असोजमा १७ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेका छन् । वीरगन्ज र सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले उक्त परिमाणमा राजस्व असुली गरेका हुन् ।

वीरगन्ज भन्सारको राजस्व १७ अर्ब ७७ करोड

यति ठूलो परिमाणमा राजस्व उठाए पनि दुवै भन्सारले असोजमा राजस्व असुली लक्ष्य भेटाउन सकेनन् । अघिल्ला वर्षमा दसैं, तिहारजस्ता चाडपर्व नजिकिएपछि आयात–निर्यात व्यापार उकालो लाग्ने गरेकामा यस वर्ष चाडपर्वको रौनक दुवै भन्सार कार्यालयमा देखिएन ।

असोजमा वीरगन्ज भन्सार कार्यालयको १६ अर्ब ९० करोड ६५ लाख ७१ हजार रुपैयाँ राजस्व असुली लक्ष्य रहेकामा ७९ दशमलव ९ प्रतिशत अर्थात् १३ अर्ब ३७ करोड १५ लाख ४८ हजार रुपैयाँ संकलन भएको छ । चालु आवमा असोजसम्म ३५ अर्ब ३३ करोड ४९ लाख ९६ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकामा २९ अर्ब ७७ करोड ८३ लाख ४४ हजार रुपैयाँ उठेको छ । यो लक्ष्यको ८४ दशमलव २७ प्रतिशत मात्र हो ।

मासिकभन्दा त्रैमासिक राजस्व असुलीको अवस्था सन्तोषजनक छ । तैपनि यो भन्सारले चालु आवका तीन वटै महिनामा मासिक राजस्व असुली लक्ष्य भेट्टाउन सकेको छैन । लकडाउन खुलेसँगै आयात–निर्यात व्यापारको अवस्था सुधारोन्मुख रहे पनि मासिक राजस्व असुली लक्ष्य भेटाउन त्यो पर्याप्त नरहेको कार्यालयका सूचना अधिकृत विमल साह बताउँछन् । राजस्वमा योगदान गर्ने मुख्य वस्तु सवारी साधन र इन्धनको आयात क्रमशः बढ्दै गएकाले कात्तिकदेखि राजस्व असुलीको अवस्थामा सुधार आउने सम्भावना रहेको उनको भनाइ छ । वीरगन्ज मुलुककै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार कार्यालय हो ।

यता सुक्खा बन्दरगाह भन्सार कार्यालयले असोजमा लक्ष्यको ८६ दशमलव ९३ प्रतिशत राजस्व असुली गरेको छ । यो महिनामा ४ अर्ब ४६ करोड २६ लाख ९२ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य रहेकामा ३ अर्ब ८७ करोड ९६ लाख ३९ हजार रुपैयाँ उठेको छ । चालु आवमा असोजसम्म ९ अर्ब ३७ करोड १२ लाख ४७ हजार रुपैयाँ लक्ष्य रहेकामा ८ अर्ब २६ करोड ४४ लाख ९३ हजार रुपैयाँ राजस्व असुली भएको छ । यो लक्ष्यको ८८ दशमलव १९ प्रतिशत हो ।

लकडाउनकै कारण चालु आवमा यो नाकाबाट आयात–निर्यात व्यापार प्रभावित हुन पुगेकाले त्यसको असर मासिक राजस्व असुलीमा पनि पर्न गएको कार्यालयका सूचना अधिकृत जगदीश पूर्वे बताउँछन् । ‘अब अवस्थामा क्रमशः सुधार आउँदै गएको छ,’ उनले भने, ‘स्थिति सामान्य हुँदै गए पनि राजस्व उठ्ने गति पनि बढ्ने संकेत देखिएको छ ।’

प्रकाशित : कार्तिक ३, २०७७ ०७:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?