कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पार्किङ समस्याले नाकाबाट आयात असहज

आयात महँगो पर्न थालेपछि वैकल्पिक नाकातिर आकर्षित हुन थाले व्यवसायी
माधव ढुंगाना

भैरहवा — भैरहवा भन्सार परिसरमा पार्किङ स्थलको सुविधा पर्याप्त नहुँदा भैरहवा नाकाबाट हुने आयात प्रक्रिया असहज र बढी खर्चिलो हुन थालेको गुनासो आउन थालेको छ ।

पार्किङ समस्याले नाकाबाट आयात असहज

भैरहवा नाकाबाट आयात गर्दा ढुवानीका लागि धेरै दिन लाग्ने र डेमरेज, डिटेन्सनलगायत अतिरिक्त शुल्क तिर्नुपर्दा आयातित सामानको लागत बढ्ने गरेको हो । यसले गर्दा भैरहवा क्षेत्रको उत्पादन र व्यवसाय नै प्रभावित हुन थालेको छ ।

भैरहवा नाकाबाट गरिने आयात प्रक्रिया बढी खर्चिलो हुने गरेकाले अन्य नाकाबाट आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसकिने भन्दै व्यवसायीले भैरहवाको वैकल्पिक नाका खोजी र प्रयोग गर्न थालेका हुन् । भारतबाट नेपाल आएका मालवाहक गाडी भैरहवा नाकाबाट नेपाल प्रवेश गर्न चार दिनदेखि हप्ता दिनसम्म पालो कुरेर सडकमै बस्न बाध्य हुने गरेका छन् । सुनौली नाकामा भन्सार बिन्दुबाट १६ देखि २० किमि परसम्म भारततर्फ गाडीको लाइन लाग्ने गरेको छ ।

भन्सार जाँच पास होउन्जेल रोकिन भैरहवा भन्सारको पार्किङस्थल (भन्सार यार्ड) पुरानो संरचना भएकाले साँघुरो र अपर्याप्त छ । यसले गर्दा भन्सार नाकामा २० किमि परसम्म नेपाल आउने मालवाहक गाडीको लाम लाग्ने गरेको हो । पार्किङस्थल थपेर व्यवस्थित गर्नेतर्फ भन्सार विभागलगायत सम्बन्धित सरकारी निकायले चासो देखाएका छैनन् । एकै दिनमा भन्सार पास हुनुपर्ने गाडी हप्तौं दिनसम्म रोकिनुपर्दा आयातित सामानको लागत बढ्ने गरेको छ । यसले अन्य नाकाबाट आयातित सामानसँग प्रतिस्पर्धा गर्न नसकिएको व्यवसायीले बताएका छन् । भन्सारमा पर्याप्त पार्किङको व्यवस्था नगर्ने हो भने भैरहवा क्षेत्रको उद्योग व्यवसाय नै विस्थापित हुने खतरामा पुगेको छ । ढुवानीमा हुने विलम्बका कारण विभिन्न अतिरिक्त शुल्कबापत मात्रै प्रतिदिन डेढ करोडभन्दा बढी रुपैयाँ भारततर्फ खेर जाने गरेको व्यवसायीको दाबी छ ।

सिमानादेखि ९ किमि मात्र पर रहेको नौतनवादेखि ६ ट्रक चामल मगाउँदा सडकमा गाडीको लाइनका कारण चार दिनसम्म पनि नेपाल भित्रिन नसकेको भैरहवाको प्रमुख खाद्य बजार गल्लामन्डीस्थित पवित्रा स्टार्सका सञ्चालक नेत्र आचार्यको भनाइ छ । ‘चार दिनसम्म ती गाडीले सडकमा लाइन लाग्दै नेपाल आउन पालो कुर्दै बसेका छन्,’ सिद्धार्थ उद्योग वाणिज्य संघका महासचिवसमेत रहेका आचार्यले भने, ‘हामीले मगाएको सामान पसलसम्म आउँदा लागेको सबै दिनको भाडा गाडीवालालाई तिर्नुपर्ने हुन्छ ।’ भैरहवा नाकाबाट सामान मगाउँदा धेरै दिन लाग्ने र धेरै दिनको अतिरिक्त भाडा तिर्नुपर्दा लागत धेरै पर्ने भएकाले अब भैरहवा नाकाको विकल्पमा अन्य नाकाबाट सामान मगाउने सोचमा आफू रहेको उनको भनाइ छ । विकल्पमा कपिलवस्तुको सुठौली र नवलपरासीको महेशपुर भन्सार नाकाबाट आयात गर्ने योजना रहेको उनले सुनाए । यस्तै समस्या भोगेका गोयन्का औद्योगिक समूहका प्रबन्ध निर्देशक अरुण गोयन्काले भैरहवा नाकाको विकल्पमा आफूले अन्य नाकाको प्रयोग गर्न थालेको बताए । ‘मैले दुई हप्तादेखि कपिलवस्तुको सुठौली भन्सार नाकाबाट चामल, गहुँ, कोइलालगायत सामान आयात गर्न थालेको छु,’ उनले भने, ‘भैरहवा नाकाबाट आयात गर्दा धेरै लागत पर्ने भएकाले अन्य औद्योगिक कच्चापदार्थको आयातका लागि पनि भैरहवाको विकल्प खोज्दै छु ।’

भारतको गुजरातबाट कोइला आयात गर्दा पहिले प्रति टन ३ हजार २ सय रुपैयाँ भाडा लाग्ने गरेकामा अहिले भैरहवा नाकामा लाइन लाग्न थालेपछि ४ हजारभन्दा धेरै पर्ने गरेको गोयन्का बताउँछन् ।

वीरगन्ज नाकाको तुलनामा भैरहवा नाकाबाट एक कन्टेनर तोरी आयात गर्दा ६८ हजार रुपैयाँ भाडा महँगो हुने गरेको छ । ‘आयातित सामानमा फरक पर्ने यस लागतबाट भैरहवा क्षेत्रका उद्योग व्यवसायले अन्य ठाउँमा उत्पादित सामान तथा वस्तुसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् ?’ गोयन्काले भने, ‘भैरहवा क्षेत्रको उत्पादन व्यवसाय नै धराशायी हुने अवस्थामा पुगेको छ ।’ भैरहवा भन्सारमा पार्किङ संरचना पुरानो छ । भैरहवा भन्सार परिसरमा मुस्किलले तीन वटा गाडी अट्ने क्षमता छ । जतिसक्दो छिटो ती गाडी भन्सार प्रक्रिया पूरा भई बाहिरिन्छन्, त्यो ठाउँ खाली हुँदै जाने हो । सार्वजनिक बिदा वा कुनै कारणले भन्सारको काम रोकिनासाथ गाडीको जाम लाग्ने गर्छ । तरकारी, फलफूल पेट्रोलियम पदार्थका ट्यांकरबाहेक यति बेला चाडपर्व र अनुकूल मौसमका कारण दैनिक ६ सयभन्दा धेरै मालवाहक गाडी नेपाल आउँछन् । भन्सार परिसरबाटै पल्टी (अर्को गाडीमा लोड गर्ने) गर्नुपर्ने सामान लोड गर्न आउने गाडीे उत्तिकै हुन्छन् । पल्टी गर्न आउने गाडी पनि त्यही पार्किङ स्थलको प्रयोग गर्छन् । ७० प्रतिशत गाडी पल्टीका लागि आउने भैरहवा भन्सार कार्यालयले जानाएको छ ।

भन्सार जाँचपास भएका गाडी भन्सार परिसरबाट बाहिर निस्किएपछि मात्रै खाली ठाउँ हुने भएकाले त्यही अनुपातमा सिमानाबाट गाडी नेपालतर्फ छिर्ने गर्छन् । भारततर्फ अत्यधिक गाडीको लाइन हुने भएकाले त्यसलाई व्यवस्थापन गर्न सीमावर्ती भारतको सुनौली भन्सारले टोकन दिएपछि मात्रै बल्ल गाडीको जाँचपास भई नेपाल आउने अनुमति पाउने गर्छन् । भैरहवा नाकाबाट सामान आयात गर्न भारतीय ट्रान्सपोर्ट कम्पनी सामान लोड गर्न तयार नहुने गरेको सिद्धार्थ औद्योगिक समूहका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका सदस्य राजेश अग्रवालले बताए । ‘यसको मुख्य कारण अन्य नाकाबाट तीन ट्रिप नेपालका लागि ढुवानी गर्ने बेलासम्म भैरहवा नाकाबाट एक पटक पनि गर्न नसकिनु हो,’ उनले भने, ‘भन्सारमा आवश्यकताअनुरूपको पूर्वाधारको कमी भयो । पूर्वाधार तयार गर्नेतर्फ सरकारको ध्यान जान सकेन ।’

१५ वर्ष पुरानो संरचनाबाटै काम चलाउन खोज्ने र सरकारले राजस्व जसरी पनि उठाउने तर भन्सार सहजीकरणका लागि पूर्वाधार तयार पर्नेतर्फ ध्यान नदिँदा यस्तो समस्या आएको अग्रवालको भनाइ छ । ‘भन्सारमा पार्किङको समस्याका कारण पछिल्लो समय भैरहवा क्षेत्रमा लगानीको वातावरण खुम्चिँदै गएको छ,’ उनले भने, ‘अविलम्ब पार्किङको उचित व्यवस्थापन गरिएन भने भएका उद्योग पनि विस्थापित हुने निश्चित छ ।’ भैरहवा नाकाबाट नेपाल आउने मालवाहक गाडीका चालक र अन्य स्टाफले हप्तौंसम्म भारततर्फको सडकमा पालो कुरेर बस्नुपर्दा पकाउने, खाने, सुत्ने र शौचालयको चर्को समस्या सामना गर्नुपर्ने बाध्यता छ । व्यवसायीका अनुसार भैरहवा नाकाबाट आउने न्यूनतम दैनिक ४ सय मालवाहक गाडीको हिसाबले प्रतिगाडी ३० टनका दरले कुल सामान १२ हजार टन हुन आउँछ ।

प्रकाशित : आश्विन ३०, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?