कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

म्याद नाघेका खाद्यान्न बेच्नेविरुद्ध मुद्दा टुंग्याउन ढिलाइ

आयानलाई थुनछेक अभियोग दर्ता
थप तीन कम्पनी छानबिनमै
राजु चौधरी

काठमाडौँ — सरकारले म्याद नाघेका खाद्यान्न रिलेबलिङ गरेर बजार पठाउने आयान डिस्ट्रिब्युटर्स प्रालिलाई मुद्दा दायर गरे पनि थप तीन कम्पनीको हकमा ढिलाइ गरेको छ ।

म्याद नाघेका खाद्यान्न बेच्नेविरुद्ध मुद्दा टुंग्याउन ढिलाइ

बजारमा म्याद नाघेका सामानलाई पुनः रिलेबलिङ गरेको अध्ययनपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र प्रहरीको संयुक्त र छुट्टाछुट्टै टोलीले विभिन्न मितिमा चार कम्पनीका गोदाममा छापा मारेको थियो । असोज १५ मा आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्समा छापा मार्दा करिब ४ करोडको म्याद नाघेको सामान फेला परेको थियो ।

दुईमध्ये आयानलाई महानिर्देशकसमक्ष मुद्दा दायर गरिएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले जानकारी दिए । ‘आयानकी सञ्चालक पुष्पादेवी अग्रवालसहित रोनक बोथरा, मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रम गुप्ताको बयानपछि विभागका निरीक्षण अधिकृत ध्रुव खनालले महानिर्देशकसमक्ष मुद्दा पेस गरिएको छ,’ उनले भने, ‘निरीक्षण अधिकृतले सरकारी वकिलको राय लिएर मुद्दा पेस गरिसकेका छन् । अब महानिर्देशकबाट बयान लिएर थुनछेक आदेश हुन्छ ।’

रोनक बोथरा भारतीय नागरिक हुन् । उनको गोदाममा म्याद नाघेका उपभोग्य वस्तु र रिलेबलिङ गर्ने मेसिन तथा लेबल मेटाउन प्रयोग गर्ने केमिकल फेला परेका थिए । थुनछेक आदेशमा पुष्पादेवी अग्रवाललाई १ करोड धरौटी माग गर्ने, उक्त कम्पनीका म्यानेजर रोनक बोथरालाई एक वर्ष जेल सजाय गर्ने, ५ जना कामदारलाई ५ लाख धरौटी माग गर्ने र एक जना अर्का प्रतिवादीलाई पक्राउ गर्ने मुद्दा दर्ता भएको छ । भारतीय नागरिकलाई नियन्त्रण गर्न धरौटी माग गरिएको विभागका अनुगमन शाखा निर्देशक सागर मिश्रले बताए । ‘थुनछेक आदेश र धरौटी माग गर्नुका कारण भारतीय नागरिकलाई नियन्त्रण गर्नु हो । महानिर्देशकबाट एक चरणको बयान भइसकेको छ,’ उनले भने, ‘अब पुनः बयान लिएर महानिर्देशकबाट आदेश हुन्छ ।’

पुष्पादेवी अग्रवाललाई मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा ६८ बमोजिम १ करोड जमानत माग गरिएको छ । साथै रोनक बोथराले अपराध स्वीकार गरेको र उनी विदेशी नागरिक भएकाले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४० को उपदफा १० को खण्ड ख बमोजिम एक वर्षसम्म कैद सजाय दाबी गरिएको छ । मुन्ना ठाकुर, पप्पुकुमार ठाकुर, श्यामप्रसाद सिंह, रामबहादुर बयलकोटी र विक्रम गुप्तालाई प्रतिव्यक्ति ५ लाख धरौटी जमानत माग गरिएको छ । यही मुद्दामा संलग्न रहेर फरार रहेका शंकर बयलकोटीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ५७ को उपदफा १० बमोजिमको पक्राउ पुर्जी जारी गर्न माग गरिएको छ । ‘महानिर्देशकले ३ महिनादेखि १ वर्षसम्म कैद र ३ लाख रुपैयाँ जरिवाना गर्न सक्ने अधिकार छ,’ आचार्यले भने, ‘बिगोअनुसार जरिवाना गर्न मिल्दैन, विभागबाट सफाइ पाए राजस्व छलीबाट पनि कारबाही हुन सक्छ ।’

अमेजन डिस्ट्रिब्युटर्सको विषय भने छानबिनकै क्रममा रहेको विभागले जनाएको छ । अमेजनको गोदाममा म्याद नाघेका सामान भेटिए पनि रिलेबलिङ गर्ने मेसिन नभेटिएको विभागले बताएको छ । ‘अमेजनले बजारबाट उठाएर राखेको हो भने तत्काल कारबाही गर्न मिल्दैन, किनभने रिलेबलिङ गर्ने मेसिन भेटिएको छैन,’ आचार्यले भने, ‘त्यही भएर गम्भीर छानबिन गरिरहेका छौं ।’ संयुक्त अनुगमन टोलीले यी दुई गोदामबाट ठूलो मात्रामा स्निकर चकलेट, प्रिगल्स नामक आलु चिप्स, ओरियो बिस्कुट, हर्लिक्स, बर्नभिटा, क्याडबरीलगायत खाद्य सामग्री बरामद गरेको छ ।

महानगरीय प्रहरी वृत्त कालीमाटीले कलंकीस्थित अर्को गोदाममा छापा मारेर म्याद गुज्रिएका सामग्रीमा नयाँ मिति टाँसेर वितरण गर्ने समूहका सात जनालाई पक्राउ गरेको थियो । पर्साको वीरगन्ज घर भएका प्रवीणकुमार बंकासहितको समूहले करिब साढे चार करोड रुपैयाँभन्दा धेरै मूल्यका म्याद गुज्रिएका विभिन्न खाद्य सामग्रीको उपभोग्य मिति पालिस वा नङ सफा गर्न प्रयोग गरिने इथानोल र स्प्रिटले मेटेर नयाँ मिति प्रिन्ट गरिरहेको प्रहरीले जनाएको छ । तर विभागले भने सबै कामदार मात्रै पक्राउ परेको बताएको छ ।

‘प्रहरीले १८ गते पक्राउ गर्‍यो । तर विभागमा १९ गते मात्रै पठायो, पक्राउ परेकामध्ये सञ्चालकभन्दा कामदार नै थिए,’ विभागका एक अधिकारीले भने, ‘छानबिन गर्दा घटना हलुंगो देखिन्छ । रिलेबलिङ गरिरहेको पुष्टि भएको छैन, कारबाही नहुन पनि सक्छ ।’ निरीक्षक अधिकृतले चाहेमा भने म्याद नाघेका सामानको कसुरमा जरिवाना गर्न सक्ने ती अधिकारीले बताए । प्रहरीले विशालनगर र कमलपोखरीमा छापा मार्दा करिब ३ करोड रुपैयाँ बराबरका म्याद नाघेका सामान भेटिएको दाबी गरेको थियो ।

जोजियाक मार्केटिङ एन्ड डिस्ट्रिब्युसन कम्पनी नामक गोदाममा छापा मारेर प्रहरीले सञ्चालक जितेन्द्रकुमार लोहिया, अकाउन्टेन्ट मुकेशकुमार रौनियार र स्टोर किपर अनिल मगरलाई पक्राउ गरेको छ । उक्त फाइल काठमाडौंका सहायक सीडीओ जीवनप्रसाद दुलालले हेरिरहेका छन् । कम्पनीले रिलेबलिङ गरेको फेला परे मुद्दाका लागि पुनः वाणिज्यमै पेस गर्नुपर्ने प्रवक्ता आचार्यले बताए ।

प्रकाशित : आश्विन २६, २०७७ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?