कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जिपलाइनमा सरर

कोभिड–१९ को संक्रमणबीच केही महिना जिपलाइन स्थगन भयो । अहिले पुनः सञ्चालनमा आएको छ ।
नुमा थाम्सुहाङ

नुवाकोट — नुवाकोट विदुर नगरपालिका–२ स्थित ‘दरबार एड्भेन्चर जिपलाइन प्रालि’ नौ महिनादेखि सञ्चालनमा छ । ०७६ पुस १६ देखि सञ्चालनमा आएको यो जिपलाइनले आन्तरिक पर्यटक आकर्षित गरिरहेको छ ।

जिपलाइनमा सरर

तिनै आन्तरिक पर्यटकमध्येका हुन्, भक्तपुरका निकास त्यात श्रेष्ठ । उनले पहिलो पटक जिपलाइनको अनुभव लिए । जिपलाइनले आफूलाई नयाँ अनुभूति दिलाएको उनी सुनाउँछन् ।

डोरीको सहायतामा उचाइबाट तल झर्ने जिपलाइन रमाइलो खेल भएको उनको भनाइ छ । ‘उचाइबाट तल झर्दा माथि नुवाकोट दरबार र तल नुवाकोट बजार वरिपरिका सबै दृश्य देखिन्छ,’ उनले भने, ‘तल झर्दा अलिकति डर लागे पनि जिपलाइन फेरि खेलौं–खेलौं हुँदो रहेछ ।’ जिपलाइनका लागि काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ र रसुवाबाट पर्यटक आउने गरेका छन् । नुवाकोट दरबार जस्ता ऐतिहासिक ठाउँ नजिकै पर्ने भएकाले जिपलाइन खेल्न र अन्य ठाउँ अवलोकनका लागि समेत पर्यटक आउने गरेका छन् ।

अघिल्लो शनिबार बिदा मनाउन आएका काठमाडौंका निखिल कुँवरले पनि जिपलाइनले नौलो अनुभव भएको सुनाए । ‘साथीहरूसँग जिपलाइन जस्तो साहसिक खेल खेल्न रमाइलो हुने रहेछ,’ उनले भने, ‘मुड फ्रेस पनि हुने, ठाउँ पनि घुम्न पाइने ।’ यस किसिमका पर्यटकीय गन्तव्य घुम्दा काम गर्न थप ऊर्जा मिल्ने उनको भनाइ छ । यातायातको सुविधा, होटल तथा लज र खानपिनका लागि रेस्ट्रुेन्टको सुविधा भए आन्तरिक पर्यटक मात्र नभई बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने जिपलाइन आएकी काठमाडौंकी सबिना श्रेष्ठले बताइन् । ‘कोभिड–१९ ले लामो समयसम्म घरभित्र बस्दा मानिसलाई बाहिर गएर रमाइलो गर्ने रहर हुन्छ,’ उनले भनिन्, ‘यस्तो बेला उपत्यकाबाट नजिकैका पर्यटकीय गन्तव्यमा परिवारसँग रमाइलो गर्न र घुम्न यस्तो ठाउँ उपयुक्त हुन्छ ।’

दरबार एड्भेन्चर जिपलाइन १३ सय मिटर उचाइमा छ । जिपलाइन १६ वर्षदेखि माथि ७० वर्षसम्म र ४० देखि १ सय २० केजीसम्मको तौलका समूहले यसको अनुभव लिन सक्ने यसका अध्यक्ष सनिब राईले जानकारी दिए । ‘स्टार्टिङ पोइन्टदेखि ल्यान्डिङ पोइन्टसम्म आउन करिब ९० सेकेन्ड लाग्छ,’ उनले भने, ‘यसबीचमा नुवाकोट वरिपरिका दृश्य सबै देख्न पाइन्छ ।’

राईसहित १२ जनाको संयुक्त लगानीमा बनेको जिपलाइन प्रालि कोभिड–१९ को प्रभावको कारण बीचमा सात महिना बन्द रह्यो । सरकारले लकडाउन खुकुलो गरेसँगै भदौ १५ देखि फेरि सञ्चालनमा आएको छ । ‘हामीले संयुक्त रूपमा ९ करोड रुपैयाँ लगानी गरेका छौं,’ उनले भने, ‘स्थानीयको सेयर करिब १० प्रतिशत छ ।’

जिपलाइनमा मात्रै साढे ३ करोड रुपैयाँ लगानी लागेको छ । असोजभित्रै १२ मिटर उचाइको पिङ बनाउन लगाएको राईले बताए । ‘यहाँ स्विमिङ पुल, गेस्टहाउस निर्माणका क्रममा छन्,’ उनले भने, ‘बीचमा कोरोना भाइरसले गरेर काम रोकिएको थियो । अब चाँडै सक्ने योजना छ ।’ जिपलाइनले १५ जना स्थानीय युवालाई रोजगारी दिएको छ । स्विमिङ पुललगायत सबै संरचना बनेपछि थप १५ जनालाई रोजगार दिन सकिने उनले जानकारी दिए ।

जिपलाइन सिंगल र डबल गरी खेल्न मिल्छ । नेपालीहरूलाई सिंगलको २ हजार ५ सय रुपैयाँ र डबलको ४ हजार ५ सय रुपैयाँ शुल्क लाग्छ । सार्क राष्ट्रकालाई सिंगलको ३ हजार ५ सय रुपैयाँ र डबलको ५ हजार ५ सय रुपैयाँ, विदेशी पर्यटकलाई सिंगलको ४ हजार रुपैयाँ र डबलको ६ हजार ५ सय रुपैयाँ पर्ने राईले बताए । ‘हामीले ल्यान्डिङ पोइन्टदेखि स्टार्टिङ पोइन्टसम्मका लागि गाडीको सुविधा मिलाएका छौं,’ उनले भने, ‘जिपलाइनको अनुभव रेकर्ड राख्न भिडियो क्यामेराको सुविधासमेत छ ।’

प्रकाशित : आश्विन २४, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?