कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिजनमै कच्चा जुटको मूल्य बढ्यो

विनोद भण्डारी

विराटनगर — सिजनमै कच्चा जुटको मूल्य ह्वात्तै बढेपछि कृषिमा आधारित यहाँका जुट उद्योग समस्यामा परेका छन् । सुनसरी, मोरङ औद्योगिक क्षेत्रमा खुलेका ११ मध्ये हाल ५ वटा मात्र जुट उद्योग सञ्चालनमा छन् । ती उद्योगले भारत र बंगलादेशबाट कच्चा जुट आयात गरी तयारी वस्तु भारत निकासी गर्दै आएका छन् ।

सिजनमै कच्चा जुटको मूल्य बढ्यो

लामो लकडाउनका कारण नेपाल, भारत र बंगलादेशमा कच्चा जुटको उत्पादनमा कमी आएपछि जुटको मुख्य सिजनमै मूल्य ह्वात्तै बढेकाले उद्योग प्रभावित भएको सम्बद्ध उद्योगीको भनाइ छ । गत वर्ष यही सिजनमा कच्चा जुटको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो । यसपालि ९० रुपैयाँ पुगेको छ । ‘भारत र बंगलादेशमा किलोमा ३० रुपैयाँसम्म मूल्यवृद्धि भएपछि कच्चा जुट आयात गरेर तयारी वस्तु निकासी गर्न उद्योगलाई गाह्रो भयो,’ जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले भने ।

चालु अवस्थामा रहेका यहाँका पाँचवटा जुट उद्योगले गत वर्ष ६ अर्ब २५ करोड मूल्य बराबरका जुटका तयारी वस्तु निकासी गरेको विराटनगर भन्सारको तथ्यांक छ । भन्सारका अनुसार चालु आर्थिक वर्षको अढाई महिनामा करिब ७० करोड मूल्य बराबरका जुट सामग्री भारत निकासी भएका छन् । अघिल्लो वर्ष जोगबनी नाकाबाट ५ अर्ब रुपैयाँ मूल्यका जुटका सामग्री निकासी भएका थिए ।

यहाँका उद्योगलाई वार्षिक ७० हजार टन कच्चा जुटको आवश्यकता पर्छ । त्यसमध्ये स्थानीय उत्पादनले मुस्किलले ३० प्रतिशत थेग्दा ७० प्रतिशत कच्चा जुट भारत र बंगलादेशबाट आयात हुँदै आएको छ । गत वर्ष स्थानीय उत्पादन करिब २० हजार टन रहेको जुट विशेषज्ञ मोहनचन्द्र घिमिरे बताउँछन् । यसपालि मुस्किलले १५ हजार टन संकलन हुने स्थिति छ । यहाँका उद्योगका लागि बाँकी ५५ हजार टन कच्चा जुट आयात गर्नुपर्ने अवस्था रहेको उनले जानकारी दिए ।

सरकारले जुट खेती विस्तारका लागि किसानलाई अनुदान सहयोग दिने हो भने कच्चा जुट आयात घट्ने उद्योगी गोल्छाको भनाइ छ । ‘प्रदेश र संघीय सरकारलाई जुट खेतीमा किसानलाई सहुलियत दिन हामीले आग्रह गर्‍यौं,’ गोल्छाले भने, ‘तर दुवै सरकारले वास्ता नगर्दा कृषिमा आधारित जुट उद्योग कच्चा जुट आयातमा निर्भर छन् ।’ दुई दशकअघिसम्म यताबाट भारततर्फ कच्चा जुट निकासी हुन्थ्यो । तर अहिले यहाँका उद्योगले कच्चा जुट आयात गरेर ९० प्रतिशत तयारी वस्तु भारत निकासी गर्दै आएका छन् ।

जुटका तयारी वस्तु निकासीमा सरकारले तीन प्रतिशत नगद अनुदान दिँदै आएको छ । तर भारतले चार वर्षअघि लगाएको एन्टिडम्पिङ शुल्क कायमै रहेकाले निकासीमा अझै समस्या रहेको गोल्छाको गुनासो छ । यहाँबाट निकासी हुने सुतली, बोरा र हेसियन चट्टीमा भारतले तीन वर्षदेखि सुतलीमा ३ देखि ४ प्रतिशत, बोरामा ४ देखि ५ प्रतिशत र हेसियन चट्टीमा शून्यदेखि दुई प्रतिशत एन्टिडम्पिङ शुल्क लगाएको छ ।

दशक पहिलाअघिसम्म यहाँका ११ वटा जुट उद्योग सञ्चालनमा हुँदा ती उद्योगमा ४० हजारभन्दा बढीले रोजगारी पाएका थिए । कच्चा जुट अभाव, निकासीमा समस्या र विद्युत् संकटले ६ वटा उद्योग बन्द हुँदा २० हजारभन्दा बढीले रोजगारी गुमाएको जुट विशेषज्ञ घिमिरेले बताए । उनका अनुसार विराटनगर जुट, सीएम, पाथीभरा, निकी, नेपाल जुट र गुह्येश्वरी जुट उद्योग बन्द भइसकेका छन् ।

प्रकाशित : आश्विन २४, २०७७ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?