कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

यात्रु आउँछन् कि भन्दैमा बित्छ दिन

दसैंलाई अग्रिम टिकट बुकिङ खोल्ने विषयमा अझै टुंगो लागेन
विमल खतिवडा

काठमाडौँ — दसैं नजिकिँदै छ । विगतका वर्षमा दसैं आउनु महिना दिनअघिबाटै सर्वसाधारण घर जान चलमलाउँथे । टिकट लिन घण्टौं लाइनमा बस्थे । टिकट काउन्टरवरपर यात्रु खचाखच हुन्थे । तर यो पटकको बसपार्कको दृृश्य फेरिएको छ । दसैं निजिकिए पनि लामा दूरीका सवारीमा त्यति यात्रु छैनन् । बसपार्क र टिकट काउन्टर सुनसान छन् ।

यात्रु आउँछन् कि भन्दैमा बित्छ दिन

यो वर्ष दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने तयारी पनि छैन । यसको एउटै कारण हो— गाडी चढ्ने यात्रु छैनन् । यात्रु नभएपछि गाडी चालक पनि निराश छन् । कुल सिट संख्याको आधा यात्रु राख्नुपर्ने नियम छ । तिनै आधा सिट पनि यात्रुले भरिँदैनन् । पहिलो पटक सिट संख्याको आधाभन्दा पनि कम यात्रु बोक्नुपर्दा तेल खर्च पनि उठाउन कठिन भएको ९ वर्षदेखि रात्रिबस चलाउँदै आएका बारा निजगढका वासु दाहालले गुनासो गरे । यात्रु आउलान् र गाडीमा आधा भए पनि सिट भरिएलान् भनेर कुर्दैमा सवारी चालकको दिन बित्ने गरेको उनले बताए ।

असोज १ बाट लामा दूरीका सवारी सञ्चालनमा आएका हुन् । विराटनगर–काठमाडौं रात्रिबस चलाउने उनले अहिलेसम्म दुई ट्रिपभन्दा यात्रु बोक्न पाएका छैनन् । ‘मधेस आन्दोलनताका पनि यस्तो भएको थिएन, आन्दोलनकारीले ढुंगा हाने पनि यात्रुले गाडी भरिएकै हुन्थे,’ उनले भने, ‘अहिले नियमले १८ जना यात्रु बोक्ने भनिए पनि १० जना पुर्‍याउनै गाह्रो छ ।’ गाडीको सिट संख्या ३१ छ । विगतमा यति बेला यात्रु बोक्न भ्याइनभ्याइ हुन्थ्यो । कति यात्रु मुढामा बसेर जान पनि तयार हुन्थे । गाडीको सधैं चाप हुने काठमाडौं नयाँ बसपार्क सुनसान देख्दा उनी आश्चर्यमा छन् । ‘अहिले सबैतिर सुनसान छ, खै अब त गरिखान पाइएला जस्तो छैन, कसरी परिवार पाल्ने भन्ने चिन्ता लाग्न थालेको छ,’ उनले भने । लकडाउन भएको ६ महिनापछि लामा दूरीका सवारी सञ्चालनमा आएका हुन् । सवारी सञ्चालनमा आएको दुई साता भए पनि यात्रु बढ्न सकेका छैनन् ।

नयाँ बसपार्क सञ्चालन गर्दै आएको ल्होत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनील कुँवर पनि यात्रु बढ्न नसकेको गुनासो गर्छन् । ‘दैनिक साढे २ सय गाडी बसपार्कबाट छुट्ने गरेका छन्,’ उनले भने, ‘तर यात्रु छैनन्, एउटा गाडीमा १०/१२ जनाभन्दा बढी हुँदैनन् ।’ गत वर्ष दसैंको मुखमा टिकट नपाउँदा उनलाई आफन्तले फोन गरेर टिकट मिलाइदिन सोर्स लाउँथे । ‘अहिले दसैं नजिकिए पनि दसैंका लागि अग्रिम बुकिङबारे सोध्न कोही आएका छैनन्,’ उनले भने, ‘कोरोनाको जोखिम बढेर यात्रु पनि घटेका छन्, दसैंमा त झन् आधी पनि यात्रु नहोलान् जस्तो छ ।’ यात्रु नै नभएकाले दसैंका लागि अग्रिम बुकिङ खुल्ने सम्भावना कम रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्य बताउँछन् । ‘न उपत्यका आउने यात्रु छन्, न यहाँबाट जाने नै,’ उनले भने, ‘असोज २२ मा यातायात व्यवसायी बसेर छलफल गरेर कसरी अघि बढ्ने भन्नेबारे निर्णय गर्नेछौं ।’

यति बेला गाडी संख्याको ४० प्रतिशत मात्र सञ्चालनमा रहेको महासंघका महासचिव सरोज सिटौलाको भनाइ छ । ‘सरकारले जहाजको संख्या थपिरहेको छ, गाडीलाई भने कुनै वास्ता गरेको छैन,’ उनले भने, ‘त्यही भएर गाडी चढ्ने मान्छे नै भएनन् ।’

व्यवसायीले भौतिक पूर्वाधार ताथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलाई असोज ७ मा सिट संख्याअनुसार यात्रु राख्न पाउनुपर्छ भन्दै ज्ञापन बुझाएका थिए । ‘सरकारले प्लेनको पूरै सिटमा यात्रु राख्न दिएको छ, गाडीले भने आधा मात्र यात्रु बोक्नुपर्ने ?’ उनले भने, ‘यो विभेदकारी निर्णय भएको छ ।’

फेरि लकडाउन भए त्यसको जिम्मेवारी लिने कोही नभएको उनले बताए । ‘त्यसैले अग्रिम बुकिङ खुल्ने सम्भावना एकदम कम छ,’ उनले भने, ‘तर सरकारको योजना के छ ? हामीलाई जानकारी छैन ।’ यात्रु भए शतप्रतिशत गाडी चल्ने उनको भनाइ छ । ‘हवाई यातायातको सुविधा भएका जिल्लामा जहाज चढेर जाने यात्रु धेरै छन् । तर यो सुविधा नभएका जिल्लामा मात्र गाडी चढ्ने यात्रु धेरै छन्,’ सिटौलाले भने, ‘जहाजको भाडा सस्तो भएकाले यात्रु त्यतै आकर्षित भएका हुन् ।’

चाडबाडमा कसरी यात्रुलाई सेवा दिने र अग्रिम बुकिङ खोल्ने भन्नेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालको भनाइ छ । ‘व्यवसायीसँग छलफल भइरहेको छ । तर कति गतेबाट अग्रिम बुकिङ खोल्ने भन्ने विषयमा निर्णय भइसकेको छैन,’ उनले भने, ‘फेरि आइतबार, सोमबार पनि छलफल गर्छौं, त्यसपछि टुंगो लाग्नेछ ।’ विगतमा दसैंका बेला २० लाखभन्दा बढी यात्रु उपत्यकाबाट बाहिरिन्थे ।

‘अहिले ४ देखि ६ लाख मात्र जाने भएकाले यातायातको सामान्य सेवाबाटै पनि हुन सक्ने जस्तो देखिएको छ,’ उनले भने, ‘फेरि यात्रुलाई असुविधा होला कि भनेर व्यवसायीलाई अग्रिम बुकिङ खोल्न अनुरोध गरेका छौं ।’ आन्तरिक छलफल गरेर अन्य परामर्शका लागि विभाग आउने व्यवसायीले बताएको उनको भनाइ छ ।

प्रकाशित : आश्विन १७, २०७७ ०६:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?