कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फड्के कीराले सखाप पार्‍यो धान

कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरमा खैरो फड्के कीराको प्रकोपले करिब १५ हेक्टर क्षेत्रफलको धान बाली पूर्ण रूपमा नोक्सान गरेको छ । प्रारम्भिक अनुगमनका क्रममा कीराले जिल्लाभरिमा उक्त परिमाणको धान बालीमा क्षति गरेको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ ।

फड्के कीराले सखाप पार्‍यो धान

अनुगमनमा दोधारा चाँदनी, भीमदत्त नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा कीराले बढी क्षति गरेको केन्द्रले बताएको छ । पछिल्लो दुई सातामा मात्रै धान बालीमा ठूलो क्षति गरेको हो । केही दिनअघि परेको वर्षाले यसको प्रकोप कम हुने अपेक्षा गरिएको छ । ‘दुई दिन लगातार वर्षा भएका कारण फड्के कीराको प्रकोप केही कम हुने अपेक्षा छ,’ केन्द्रका निमित्त प्रमुख रामचन्द्र भट्टले भने, ‘पछिल्लो दुई सातायता यसको प्रकोप देखिएको हो, छोटो समयमै ठूलो क्षति भएको छ ।’ केन्द्रले प्रभावित क्षेत्रको अनुगमनसँगै किसानलाई विषादीसमेत वितरण गरिरहेको छ । पछिल्लो पटक स्थानीय तहका कृषि प्राविधिकसँग छलफल गरेर तथ्यांक संकलनको काम सुरु भएको भट्टले बताए ।

कञ्चनपुरका वेदकोट नगरपालिका–९ सुन्दरपुरकी सुन्दरी धामीको आधा बिघा खेतको धान पूरै सुकेको छ । खेतमा रोग कीरा लागेको देखेर उनले विषादी पनि हालिन् । तर त्यसले केही काम गरेन । ‘आधा बिघाको धान पूरै सुकेर गयो,’ धामीले भनिन् । सुरुमा उनको खेतमा धान पहेंलो हुन लागेको थियो । वर्षभरि खान पुग्ने धान कीराले सुकाएपछि धामी निकै चिन्तित छन् । सुन्दरपुरकै हरेन्द्र भाटको पनि १२ कट्ठाको धान फड्के कीराले खाएको छ । भदौ अन्तिमदेखि असोज पहिलो सातासम्म धान बालीमा उक्त कीराको प्रकोप देखिएको भाटले जानकारी दिए । ‘सुरुमा अलिकति पहेंलो देखिन थाल्यो, हेर्दाहेर्दै पूरै धान सुकेर गयो,’ भाटले भने, ‘खेतमा केही पनि बाँकी छैन ।’

प्रकाशित : आश्विन ११, २०७७ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?