कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वाग्मती प्रदेश सरकारले उत्पादनमूलक क्षेत्रमा ३ अर्ब ऋण लगानी गर्ने

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ ।

चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा अनुदानको पूर्णरुपमा सदुपयोग नभएको भन्दै सहुलियतपूर्ण ऋण उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने घोषणा अनुसार प्रदेश सरकाले यस्तो निर्णय गरेको हो ।

बुधबार बसको मन्त्रिपरिषद्‌को बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी कार्यक्रमलाई व्यवस्थित, सरल, सहज, प्रभावकारी र पारदर्शी रुपमा सञ्चालन कार्यविधि पास गर्दे ऋण लगानी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

कार्यविधी अनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ३ अर्ब ऋण लगानी गरिने आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । कृषि बिकास बैंकमार्फत हुने लगानीले देशमा रोजगार र व्यवसाय बढ्ने सरकारले अपेक्षा गरेको छ ।

प्रदेश सरकारले बैंकसँग सहुलियतपूर्ण ब्याजदरमा ऋण लगानी गर्नका लागि सम्झौता गरिसकेको छ । यस कार्यक्रम कार्यान्वयनको नीतिगत विषयमा आवश्यक निर्देशनका लागी सम्बन्धित मन्त्रालयका मन्त्री संयोजक हुनेगरी निर्देशक समिति रहने बताइएको छ ।

प्रदेशले कृषि व्यवसाय सम्बन्धी उत्पादन, प्रशोधन, भण्डारण र बजारीकरण सम्बन्धी, उद्योग व्यवसाय,पर्यटन प्रवर्द्धन, व्यापार व्यवसाय, वन तथा वातावरण जन्य उद्योग,महिला उद्यमशीलता,दलित समुदाय व्यवसाय विकास र फोहरमैला व्यवस्थापन तर्फ ऋण लगानी गर्ने भएको हो ।

बैठकले नै प्रहरी इकाई भवन निर्माणार्थ बजेट निकासा गर्न स्वीकृत गर्ने, प्रदेश विश्वविद्यालयको भौतिक पूर्वाधार, विधेयक, संगठनात्मक संरचना, तथा पाठ्यक्रमको आधारभुत संरचना समेतका लागि सिफारिस गर्न कार्यदल गठन गरि काम कर्तव्य र अधिकार स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?