बस्ती स्थानान्तरण गर्न समिति- अर्थ / वाणिज्य - कान्तिपुर समाचार

बस्ती स्थानान्तरण गर्न समिति

कान्तिपुर संवाददाता

काठमाडौँ — पहिरोपीडितको पुनःस्थापना र बस्ती स्थानान्तरणको कार्ययोजना बनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अनिल पोखरेलको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।

समितिमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहसचिव, सिँचाइ विभागका उपमहानिर्देशक, वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक, सहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक छन् ।

समितिमा जल तथा मौसम विज्ञान विभागका उपमहानिर्देशक, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सम्बन्धित सहसचिव, सिन्धुपाल्चोक जिल्ला समन्वय समिति प्रमुख, प्रदेश सरकारको सम्बन्धित मन्त्रालयका प्रतिनिधि एवं सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी छन् ।

समितिले १५ दिनभित्र जोखिम बस्तीको पहिचान गर्नेछ । साथै संरक्षण गर्न सकिने बस्तीका लागि त्यससम्बन्धी कार्ययोजना बनाउनेछ ।

सिन्धुपाल्चोकलगायत जिल्लामा पहिरोको जोखिम रहेका बस्तीको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनःस्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वयलगायत कार्यबारे गरिएको छलफलले उक्त समिति गठन गरेको हो ।

प्रकाशित : भाद्र ३१, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्

विस्थापित भोकै, बटुलिएको राहत कुहिँदै

वर्षा भइरहेकाले बस्न र रात कटाउन समस्या छ । खाने कुरा छैन, तर संकलित राहत सामग्री नगरपालिकामा कुहिँदा पनि सरोकारवाला भने एकद्वार प्रणालीको रटानमा छन् ।
प्रकाश बराल

बागलुङ — झमझम पानी परिरहन्छ । ओत लाग्न छिमेकीको मकैबारी मासेर बनाएको अस्थायी छाप्रोमा दुई परिवारका ७ जना कोचिन्छन् । भुजी खोलाको पश्चिम किनारमा एउटा पुरानो र दाताले दिएका दुई गरी तीनवटा पाल गाँसेर टाँगिएको छ । छाप्रोको एकातिर चित्राले बारिएको छ, अर्कोतर्फ खाली । बाछिटाले सुतेकै ठाउँ भिजाउँछ ।

बागलुङको ढोरपाटन–९ मा बाढीपहिरोले घर बगाएपछि एउटै पालभित्र बसेका नमलाल र छमेन्द्र पुनका दुई परिवार । तस्बिर : प्रकाश बराल/कान्तिपुर

भदौ १७ मा बाढीपहिरोले विस्थापित भएका ढोरपाटन नगरपालिका–९ सुकुरदुङका नमलाल पुन र उनका भाइ छमेन्द्रको परिवार १३ दिनदेखि पालमुनि जीवन निर्वाह गरिरहेका छन् । ३ वर्षको नाति, बुहारी बिनासहित पुनकी पत्नी एकातिर र दाजुभाइ, छोरा अर्कोतर्फ सुत्छन् । खान, बस्न र रात कटाउन उनीहरूलाई निकै कष्टकर छ ।

मकैबारीभित्रै चित्राले बारेर शौचालय बनाएका छन् । घर बग्दाबग्दै एकजोर कपडा र एउटा खाट मात्रै निकाल्न भ्याएका थिए । त्यही खाटमा बस्ने र खाने गर्छन् । चिसो सहँदै भुइँमै सुतिरहेका छन् । बाढीपहिरो गएपछि यहाँको अवस्था हेर्न धेरै मानिस आए, अहिले पनि आउने क्रम घटेको छैन । पहिरोले क्षतविक्षत सडक हुँदै हातमा चप्पल समातेरै आइपुग्नेले फोटो खिच्छन्, पहिरो गएको दिनको घटना सोधेर फर्कन्छन् ।

तर उनीहरूको घरमा घटनाको भोलिपल्ट पाएको पाल र केही चामलबाहेक अन्य राहत पुगेको छैन । ‘पहिलो दिनमा आएको दुई बोरा चामल र पालबाहेक अरू भेटेको छैन,’ छमेन्द्रले भने, ‘कांग्रेसका टोली आएर चामल र पाल दिएका हुन्, त्यसैमा बसेका छौं, अरू कोही आएनन् ।’

नगरपालिकामा जम्मा भएको राहत सामग्री गाउँमा नपुगेको विस्थापितको गुनासो छ । नगरपालिकामा घरजस्तै बनाउन मिल्ने डेढ सय टेन्ट छन् । सामान्य पानी ओत्ने पाल त्योभन्दा बढी छन् । विभिन्न दाताले दिएका सयौं थान सिरक–डसना नगर प्रमुख देवकुमार नेपालीको दरबार होटलमा थन्किएका छन् । सयौं बोरा चामल वडा कार्यालयमा थुप्रेको र कीरा (चिलेसा) पर्न थालिसकेको वडाध्यक्ष हरिबहादुर घर्ती नै बताउँछन् । तर एकद्वार प्रणालीमार्फत राहत वितरण गरिने भन्दै हालसम्म पीडितकोमा राहत पुर्‍याइएको छैन । विस्थापितहरूको बिजोग हुँदा पनि सरोकारवालाहरू भने योजना रहेको मात्रै सुनाइरहेका छन् । ‘अब समय मिलाएर वितरण गर्ने योजना छ,’ वडाध्यक्ष घर्तीले भने ।

छमेन्द्र र उनकी श्रीमती बेलमती दुवै घाइते हुन् । लाकुरीबोटमा रहेको स्वास्थ्य चौकी बगाएपछि औषधि अभावमा उनीहरूको उपचारमा समेत ढिलाइ भयो । बुर्तिवाङदेखि औषधि पुगेपछि स्थानीय स्वास्थ्यकर्मीले छाप्रोमै गएर उपचार गरिदिए । आराम गर्नुपर्ने अवस्थाका उनीहरूको जीवन भने कष्टपूर्ण छ ।

बाढीपहिरोले सुकुरदुङका मात्रै १५ घर बगाएको थियो । थप १५ घर बस्नै नमिल्ने गरी भत्केका छन् । सबैका घरमा हिलो, ढुंगा र काठ पसेर भत्काएको छ । छानो बचे पनि भित्र बस्ने अवस्था छैन । झोलुंगे पुल बगाएकोले वारपार ठप्पप्राय: छ । वडा कार्यालय जान भीरमा निगालो समातेर हिँड्नुपर्ने बाध्यता छ । घर गुमेका र बस्न नमिल्नेहरू कोही छिमेकीको पालीमा त कोही मकैबारीमा पाल टाँगेर बसेका छन् ।

घर बग्यो, ऋण बगेन

भीमबहादुर सुनारको परिवार स्थानीय प्राथमिक विद्यालयको कोठामा बसेको छ । उद्धारमा खटिएका केही प्रहरी पनि विद्यालयमै छन् । ५ छोरी, १ छोरासहित सुनार दम्पतीको ८ जनाको परिवारलाई ओढ्ने, ओछ्याउने छैन । गुन्द्री र तन्नाको भरमा रात काटिरहेका छन् ।

विद्यालयको छानोमुनि भएकोले तत्काललाई ओत लाग्न समस्या छैन । भन्छन्, ‘यो त अस्थायी न हो, कतिन्जेल यसरी चल्ला र ?’ घटनालगत्तै सुनारले २ बोरा चामल, एक पोका तेल, एक केजी नुन पाएका थिए । ‘वडाबाट चामल थपिदिने भनेको छ, खानका लागि समस्या नहोला,’ उनले दोहोर्‍याए, ‘बस्ने ठाउँको भने समस्या हुने भयो ।’

बाढीपहिरोले बगाएकोले उनको घरको नामोनिसान भेटिँदैन । नयाँ बनाउन जग्गा पनि छैन । धेरै सन्तान भएकोले पालनपोषणको समस्या छ । ‘१७ वर्षदेखि ३ वर्षसम्मका छोराछोरी छन्, एउटै कोठामा खान, बस्न सास्ती छ,’ उनले भने, ‘अब त बाँच्नै पनि गाह्रो हुने भो, ऋण कसरी तिर्ने ?’ सिलाइकटाइ पेसा गरेर परिवार पालिरहेका उनीमाथि कपडा र मेसिन किन्दा लागेको ५० हजार ऋणको बोझ छ । सुरक्षित जग्गामा घर बनाउनसके मात्रै परिवारको सुरक्षा हुने उनलाई लाग्छ ।

छमेन्द्रले नगरपालिकामा दर्ता गरेर कुखुरा फार्म चलाएका थिए । अघिल्लो दिन ल्याएको एक ट्रयाक्टर दाना र २ सय वटा कुखुरासमेत बगे । ‘घरसम्पत्ति सबै बग्यो,’ उनले भने, ‘अघिल्लो दिन ल्याएको दाना कोठामा भित्र्याएको पनि थिएन, सबै बगायो ।’ परिवार दु:खले बसे पनि बैंकको ऋण कसरी तिर्ने भन्ने उनलाई थप चिन्ता छ । ‘नगरपालिकामा दर्ता गरेर फार्म थालेको थिएँ, केही राहत पाए पनि ऋण तिर्थें,’ उनले भने । भुजी खोला पाँचौं लघु जलविद्युत् आयोजनाका अपरेटर नमलाल बाढीबाट एक मिनेटले बाँचेका थिए । विद्युत् गृहमै सुत्ने उनी त्यस दिन एकाएक कुलो सुकेर बिजुली उत्पादन बन्द भयो । उनी खोलामा हेर्न जाँदा बाढी आउँदै गरेको देखेपछि हतारहतार घर दौडिए । उनी खोला तरेको एक मिनेटमै पुल बगायो ।

घटनाका बेला पैसा, मोबाइल र अन्य सामान निकाल्न भन्दै फेरि घरमा पसेका अधिकांश बगेको उनले बताए । ‘रित्तो हात भागेकोले बाँच्यौं, सम्पत्ति ल्याउँछु भन्नेहरू बेपत्ता छन्,’ उनले भने, ‘रातको समयमा हेलचेक्य्राइँ गर्दा क्षति ठूलो भयो ।’

‘तत्काल पुन:स्थापना असम्भव’

विस्थापितहरूलाई तत्काल अन्यत्र स्थानमा घर बनाएर पुन:स्थापना गर्न सम्भव नरहेको बताउँछन् ढोरपाटन नगर प्रमुख नेपाली । ‘पहिरोमा १ सय २६ घरपरिवार विस्थापित भएको तथ्यांक निकालेका छौं,’ उनले भने, ‘उनीहरूको पुन:स्थापनाको काम जटिल छ । यो वर्षात्मा सम्भव छैन । पानी रोकिएपछि घर बनाउने काम थालिन्छ ।’

उनका अनुसार विस्थापितमध्ये केहीको अन्यत्र पनि घर छ । संघीय र प्रदेश सरकारबाट आउने रकममा नगरपालिकाले थपेर घर बनाउने योजना रहेको उनले सुनाए । ‘माथिबाट पैसा आयो भने हामीले तत्काल थपेर ३ महिनामै घर ठड्याउने काम गर्छौं,’ उनले भने, ‘छाना छाउने जिम्मा मेरो हो, सबै घरमा जस्तापाता म सहयोग गर्छु ।’ उनका अनुसार अहिलेसम्म नगरपालिकामा झन्डै ५५ लाख रुपैयाँ राहत संकलन भएको छ ।

प्रकाशित : भाद्र ३१, २०७७ ०६:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×