कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बंगलादेशबाट मल आयात : ट्रकबाट ल्याउनु उत्तम विकल्प

कृषि कार्यालयले समुद्री मार्गबाट कोलकाता ल्याएर नेपाल ढुवानी गर्ने वा रेलमार्गबाट ल्याउने विषयमा पनि छलफल गरिरहेको छ ।
राजु चौधरी

काठमाडौँ — बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाएसँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गृहकार्य तीव्र पारेको छ । मल ढुवानी गर्न मन्त्रालयले तीन विकल्पबारे छलफल गरिरहेको छ । त्यसमा ट्रकबाट ढुवानी छिटो छरितो हुने मन्त्रालयको निष्कर्ष छ ।

बंगलादेशबाट मल आयात : ट्रकबाट ल्याउनु उत्तम विकल्प

‘बंगलादेशले सापटी दिन सहमति जनाइसकेको छ । कसरी ल्याउने भन्नेमा छलफल गरिरहेका छौं,’ कृषि सामग्री व्यवस्थापन तथा प्रविधि शाखा अधिकृत अरुण जीसीले भने, ‘अहिलेसम्मको छलफलमा ट्रकबाटै छिटो हुने देखिन्छ ।’ खेतीपातीको मुख्य समयमै रासायनिक मल अभाव भएपछि सरकारले बंगलादेशसँग पैंचोमा मल लिन लागेको हो । यसका लागि कृषि मन्त्रालयले केही महिनअघि नै गृहकार्य थालेको थियो । दुई साताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग यसबारे टेलिफोन संवाद गरेका थिए ।

संवादमा हसिना सकारात्मक भएपछि मन्त्रालयले ढुवानी गर्ने तयारी थालेको हो । मन्त्रालयका अनुसार बंगलादेशले आफूलाई चाहिने करिब १० लाख टन मल मौज्दात राखेको छ । हालका लागि बंगलादेशबाट नेपाललाई आवश्यक रासायनिक मल ल्याउने र पछि ग्लोबल टेन्डर गरेर उसलाई फिर्ता गरिदिने कृषि मन्त्रालयको योजना छ ।

ढुवानीका तीन विकल्प रहेको जीसीले जानकारी दिए । पहिलो विकल्प हो— समुद्रीमार्गबाट कोलकाता ल्याएर नेपाल ढुवानी गर्ने । तर जहाजमार्फत कोलकाता ल्याउँदा फेरि ढिलाइ हुने सम्भावना उच्च छ । करिब १० हजार टन युरिया आयात गर्न बाँकी नै रहेको साल्ट ट्रेडिङ कर्पोरेसनका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले बताए । उक्त मल आउन करिब १० दिन लाग्छ । त्यसपछि पुनः ७ हजार डीएपी आउँछ । ‘कोलकातामा रहेको ३२ हजार ५ सय टनमध्ये करिब १० हजार टन ल्याउन बाँकी छ । त्यो करिब १० दिनभित्र आउँछ,’ उनले भने, ‘त्यसपछि पुनः ७ हजार डीएपी आउँदै छ । युरियाको ढुवानीलगत्तै डीएपी सुरु गर्छौं ।’ सामान्य अवस्थामा कोलकाताबाट छुटेको रेलको र्‍याक वीरगन्ज पुग्न ३८ देखि ४३ घण्टा लाग्छ । तर रेलको र्‍याक पाउनै मुस्किल पर्छ ।

लकडाउनका कारण श्रमिकको अभाव छ । समयमै मल ब्यागिङ गर्न सकिएको छैन । जहाजबाट आयात गर्दा कोलकाता हुँदै नेपाल आउने हो । यसले ढिलाइ हुने सम्भावना बढी छ । दोस्रो विकल्प हो— रेलमार्गबाट ढुवानी । रेलबाट ल्याउँदा पनि बीचबीचमा लोडअनलोड गर्नुपर्ने हुन्छ । ‘त्यो पनि झमेला भयो । त्योभन्दा ट्रकमै ढुवानी गर्दा चाँडो हुन्छ । अहिलेसम्मको हिसाब हेर्दा ट्रक नै छिटो छरितो देखियो,’ जीसीले भने, ‘पेमेन्ट कसरी गर्ने भन्नेमा छलफल भइरहेको छ । एक/दुई दिनमा टुङयाउँछौं ।’

यसै पनि बंगलादेशमा रेलको संख्या कम छ । त्यही भएर भारतकै रेलबाट ल्याउनुपर्छ । भारतसँग अनुरोध गर्नुपर्ने पनि हुन सक्छ । ‘त्यसरी ल्याउँदा पहिलो लट आउनै लगभग ४/५ दिन लाग्छ,’ जीसीले भने । त्यसैले तेस्रो एवं उत्तम विकल्पका रूपमा मन्त्रालयले ट्रकबाट ढुवानीलाई लिएको हो । ट्रकबाट आयात गर्दा भने करिब ३ दिनमा ल्याउन सकिने मन्त्रालयको अनुमान छ । बंगलादेशकै ट्रकबाट ल्याउनेबारे छलफल भइरहेको छ । एक दिनमै एक सय ट्रकमा लोड गर्न सकिन्छ । यसो गर्दा बीचमा लोडअनलोड गर्नुपर्ने झन्झट पनि हुन्न । कुनै अवरोध नभए करिब ३ दिनमा नेपालको सीमासम्म ल्याउन सकिने जीसीले जानकारी दिए । ‘तर ट्रक भारतीय मार्ग हुँदै आउनुपर्छ । यसमा भारतले स्वीकृति दिन्छ भन्ने विश्वास छ,’ उनले भने ।

मन्त्रालयका अनुसार मलको वार्षिक माग साढे ७ लाख टन हो । वार्षिक करिब ५ लाख टन आयात गर्न सके किसानले अभाव झेल्नुपर्दैन । तर सरकारी निकायबाट औसतमा साढे ३ लाखभन्दा बढी आयात हुन सकेको छैन । कोभिड–१९ का कारण अहिले बाँझो जमिनमा पनि बाली लगाउने क्रम बढेको छ । यसले पनि मलको माग बढेको छ । तर पर्याप्त योजना र समयमै टेन्डर नहुँदा किसानले हरेक वर्ष मल अभावको पीडा खेपिरहनुपरेको छ ।

प्रकाशित : भाद्र ३०, २०७७ ०६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?