कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बुटवलमा फस्टाउँदै होम डेलिभरी

अमृता अनमोल

बुटवल — कोरोना सन्त्रास र लकडाउनले व्यापार चौपट भएपछि यहाँका व्यवसायीले अहिले हरेक सामान होम डेलिभरी गर्न थालेका छन् । सेमलारका देवराज पोखरेलले वैशाख पहिलो सातादेखि ढाक्रे डटकम खोलेर होम डेलिभरी थालेका हुन् ।

बुटवलमा फस्टाउँदै होम डेलिभरी

सुरुमा रूपन्देहीका गाउँले किसानका तरकारी बुटवलका घरघरमा पुर्‍याए । अहिले जुम्लाका स्याउ, सिमी, आलुदेखि भारतको नासिक सहरको प्याज, खाद्यान्न होम डेलिभरी गरिरहेको पोखरेलले बताए । ‘भान्सामा आवश्यक पर्ने सबै खाद्यान्नको होम डेलिभरी गर्छौं,’ उनले भने, ‘दिनमा ८० वटा जति डेलिभरी हुन्छ । भ्याइनभ्याइ छ । व्यापार सुरु गरेदेखि पछाडि फर्केर हेर्नुपरेको छैन ।’ ५० लाखको लगानी रहेको बताउने उनीसँग एउटा गाडी र १६ जना कर्मचारी छन् । फोन र इन्टरनेट दुवैबाट अर्डर संकलन गर्छन् । २ वर्षयता खाद्यान्न डेलिभरी सुरु गरेको विशाल होम डेलिभरी सप्लायर्सले लकडाउनको अवधिमा एक दिन खाली हुनुपरेन । व्यापार अरू बेलाभन्दा राम्रो रहेको सञ्चालक विशाल थापाले बताए । ‘कोरोना भाइरसको डर र लकडाउनअघि होटल रेस्टुरेन्टमा मात्रै डेलिभरी हुन्थ्यो । घरायसी रूपमा पुग नपुग एक प्रतिशत थियो,’ उनले भने, ‘अहिले घरायसी प्रयोजनकै लागि होम डेलिभरी गर्न भ्याइनभ्याइ छ ।’ दिनमा ७० घरसम्ममा सामान पुर्‍याउने गरेको उनले बताए । ‘खाद्यान्नका सबै सामानदेखि घरमा प्रयोग हुने सामग्री निःशुल्क डेलिभरी गर्छौं,’ उनले भने, ‘त्यसैले लकडाउनले पनि व्यापार घटेन ।’

लकडाउनले होटल र रेस्टुरेन्ट बन्द छन् । खाद्यान्न सामग्रीका पसल पनि खुल्ने र बन्द हुने समय तालिका छ । त्यसबेला पसलमा भीडभाड हुन्छ । भीडभाडले कोरोना संक्रमण हुने डर हुन्छ । यही डरका कारण पनि धेरै उपभोक्ता अहिले होम डेलिभरीबाट सामान झिकाउँछन् । यसले होम डेलिभरी व्यापार फस्टाउँदै गएको छ । उपभोक्तालाई पनि सहज भएको छ । पछिल्लो समयमा खाद्यान्नदेखि लत्ताकपडासमेत होम डेलिभरी गराएको सुक्खानगरकी उपभोक्ता कविता भुसालले बताइन् । ‘घरमै बसीबसी सबै सामान उही मूल्यमा पाइन्छ,’ उनले भनिन्, ‘त्यसैले कोरोनाको जोखिम मोलेर पसल जानभन्दा होम डेलिभरी रोजेका छौं ।’

लकडाउनअघि व्यापारीहरूले निश्चित मूल्यसम्मको मात्र होम डेलिभरी गर्थे । अहिले जतिसुकै थोरै सामानको पनि डेलिभरी हुन्छ । यसले पनि होम डेलिभरी व्यापार बढेको छ । २ वर्षअघि सुरु एभरग्रिन सप्लायर्सले फ्रोजन फुड्स सप्लायर्स गर्छ । होटल, रेस्टुरेन्टमा सामान पुर्‍याउने सप्लायर्सले पछिल्लो समय होम डेलिभरी सुरु गरेको छ । ‘होम डेलिभरीका कारण महामारीका बेला पनि खाली बस्नुपरेन । व्यापार भयो,’ सञ्चालक राजेन्द्र पन्तले भने, ‘घरघरमा सामान झिकाउने ग्राहक दिनैपिच्छे बढ्दो छन् ।’ बुटवलमा होम डेलिभरीकै लागि खुलेका १८ संस्था छन्  ।

प्रकाशित : भाद्र ३०, २०७७ ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?