कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खस्कियो चियाको पश्चिमा व्यापार

यसअघिको तुलनामा यो वर्ष ४० प्रतिशतले चियाको अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको छ
विप्लव भट्टराई

इलाम — अघिल्ला वर्षहरूमा चियाको फस्टफ्लस सुरु हुनासाथ पश्चिमा देशका व्यापारी पूर्वी पहाडी जिल्लाका चिया बगान चहार्दै गरेका भेटिन्थे । विशेषगरी जर्मनी, अमेरिकालगायत मुलुकका चिया खरिदकर्ताले बगान र कारखानासम्मै पुगेर चिया माग गर्ने गरेका थिए ।

खस्कियो चियाको पश्चिमा व्यापार

यो पटक भने कोभिड–१९ का कारण विश्वभर छाएको सन्त्रासले कुनै पनि चिया खरिदकर्ता बगान आउन सकेनन् । जसको प्रत्यक्ष प्रभाव पश्चिमा देशमा निर्यात हुने चियामा परेको छ ।

यसअघिको तुलनामा यो वर्ष ४० प्रतिशतले चियाको अन्तर्राष्ट्रिय बजारमा गिरावट आएको छ । नेपाली चिया निर्यात हुने देशमा पनि कोरोनाका कारण लकडाउन हुनु, हवाईमार्गमार्फत नेपाली चिया त्यहाँ पुर्‍याउन नसक्नु जस्ता कारणले निर्यातमा समस्या देखिएको उद्यमीहरू बताउँछन् । नेपाली चियालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले चिया तथा कफी विकास बोर्ड र हिमालयन अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन (होड्पा) ले लोगोसमेत तयार पारेर प्रचार भइरहेका बेला कोरोनाको प्रभावले चिया बजारमा समस्या भएको हो । ‘आन्तरिकसहित पश्चिमा देशमा निर्यातमा सुधार हुँदै गएको अवस्थामा कोरोना महामारीले स्पेसल टी उत्पादन गर्नेहरूलाई सबैभन्दा धेरै प्रभावित बनाएको छ,’ उद्यमी चन्द्रभूषण सुब्बाले भने, ‘आफैंले पनि न्यून मात्रामा तयारी चिया उत्पादन गर्ने कारखाना र कर्मचारी थेग्ने काम मात्र गरिरहेको छु ।’ यो पटक पानी धेरै परेको र फस्टफ्लस सुरु हुँदै गर्दा लकडाउन भएकाले चियाको उत्पादनमा कमी आएको किसानको भनाइ छ । लकडाउनको सुरुवाती केही साता कारखाना बन्द हुँदा हरियो चियापत्ती टिपाइ हुन सकेन । त्यसपछि कारखाना सञ्चालन भए पनि इन्धन, कर्मचारी अभाव जस्ता कारणले लामो समय नै कारखाना पूर्ण क्षमतामा चल्न सकेको थिएन । सुरुवातमा भारतीय बजारमा नेपाली चिया निर्यात नभए पनि पछिल्लो समय सहज बन्यो ।

इलामसहित पाँचथर, धनकुटा, तेह्रथुमलगायत जिल्लामा उत्पादन हुने वार्षिक ६० लाख किलो तयारीमध्ये करिब ५ लाख किलो चिया युरोपेली तथा अमेरिकी देशमा जाने अनुमान छ । तर यो वर्ष ४० प्रतिशतले कम मात्र निर्यात हुने गोर्खा टी इस्टेटका सञ्चालक उदय चापागाईं बताउँछन् । ‘अघिल्लो वर्ष यही अवधिसम्म १८ हजार किलो तयारी चिया युरोप पठाएकोमा यो वर्ष मुस्किलले १० हजार किलो मात्र पठाउँदै छौं,’ उनले थपे, ‘अझै पनि लोगोलाई प्रचार गर्दै बजारको पहुँच बढाउने काममा लागेका छौं ।’ ‘नेपाल चिया क्वालिटी अफ हिमालयज’ नामक लोगो सरकारले स्वीकृत गरिसकेको छ । नेपालको चिया गुणस्तरीय रहे पनि पहुँच र प्रचारका अभावमा पश्चिमा बजारमा प्रवर्द्धन हुन नसकेको सरोकारवालाको भनाइ छ । पश्चिमा बजारमा चिया निर्यात गर्ने केही उद्योगले हरियोपत्तीको मूल्य प्रतिकिलो साढे ९२ रुपैयाँसम्म दिए पनि अन्य कारखनाले न्यून मूल्य दिएको र समयमा भुक्तानी नगरेको किसानको गुनासो छ ।

प्रकाशित : भाद्र ३०, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?