२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

अन्तर्राष्ट्रिय उडानको कोटा हट्यो, वायुसेवाले मागे जति उडान पाइने

आन्तरिक उडान असोज १५ पछि
सुरज कुँवर

काठमाडौँ — १० दिनअघि अन्तर्राष्ट्रियतर्फ आंशिक नियमित उडान खुला गरेको सरकारले शुक्रबारदेखि लागू हुने गरी उडान कोटा हटाएको छ । अब पीसीआर परीक्षण सहज भएका मुलुकबाट विदेशी तथा स्वदेशी वायुसेवा कम्पनीलाई मागे जति उडान अनुमति दिइने भएको छ । 

अन्तर्राष्ट्रिय उडानको कोटा हट्यो, वायुसेवाले मागे जति उडान पाइने

‘यात्रुको पीसीआर नेगेटिभ हुनुपर्‍यो, वायुसेवा कम्पनीले मागेअनुसार अनुमति दिइने छ, अब कोटा हुँदैन,’ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार कान्तिपुरसँग भने । यसअघि भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चार्टर र नियमित दुबै उडानबाट आउने यात्रुको संख्या ३ सय थप्दै ८ सय पुर्‍याएको थियो । त्यसअघि दैनिक यात्रु संख्या ५ सयको कोटा थियो ।

यो निर्णयले सबैभन्दा ठूलो राहत युरोप तथा अमेरिकालगायत पीसीआर सहज भएका मुलुकमा ५ महिनादेखि अलपत्र परेका नेपालीलाई हुने छ । सरकारले पर्यटकलाई भने अझै नेपाल आउन अनुमति दिइसकेको छैन । तर, नेपालमा कूटनैतिक नियोग, दूतावास, अन्तर्राष्ट्रिय विकास साझेदार संस्था, संयुक्त राष्ट्र संघका नियोगमा कार्यरत कर्मचारी र तीनका परिवारलाई भने पीसीआर तथा भिषाका आधारमा आउन छुट नै छ ।

यो निर्णय बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबिच भएको उच्चस्तरीय छलफलपछिको सहमतिबाट भएको पर्यटनमन्त्री भट्टराईले बताए । उनले यस विषयलाई आवश्यक परेमा मन्त्रिपरिषद्ले अनुमोदन गर्न सक्ने बताए ।


यो निर्णयले मनपरी भाडा असुलिरहेका वायुसेवाबीच प्रतिस्पर्धा हुने अपेक्षा मन्त्रालयको छ । तर, पीसीआरबाहेक विधिबाट जाँच भएका र जाँचै नगरेर यात्रु ल्याएमा ती सबैलाई ७ दिन काठमाडौंका होटल क्वारेन्टाइन राखिने छ । ‘पीसीआर नेगेटीभ भएका र जाच नगरेका यात्रु मिसाएर ल्याउन पाइने छ,’ मन्त्री भट्टराईले भने, ‘यदि त्यस्तो पाइएमा त्यो वायुसेवा कम्पनीकै खर्चमा सबै यात्रुलाई होटलमा राखिने छ ।’

त्यसैगरी पीसीआर सहज नभएका श्रम गन्तव्यमा अलपत्र नेपालीलाई पनि अब स्वदेश फर्किन सहज गरिएको छ । ‘विदेशस्थित कुनै कम्पनीले आफ्नो खर्चमा उसँग रहेका कामदारलाई नेपाल फर्काउन चाहेमा त्यस्तो प्रस्तावलाई पनि प्राथमिकतामा राखेर उडान अनुमति प्रदान गरिने छ,’ मन्त्री भट्टराईले भने ।

यस विषयमा बिहीबारै पर्यटन, श्रम र उपप्रधानमन्त्रीबीच छुट्टै छलफल भएको थियो । ‘श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्नेका लागि श्रम मन्त्रालयले सम्बन्धित देशमा रहेको नेपाली नियोगसँग समन्वय गर्नुपर्ने छ,’ पर्यटनमन्त्रीले कान्तिपुरसँग भने, ‘दूतावासको सूचीअनुसार, उडानको व्यवस्था गरिने छ दूतावासले माग्नु पर्‍यो । मागका आधारमा उडान संख्या थपिने छ ।’ पीसीआर जाँच सहज नभएका मुलुकबाट आउने यात्रुले भने काठमाडौंका होटलमा ७ दिन क्वारेन्टाइनमा बस्नुपर्ने छ । सरकारले उनीहरुलाई जाँच गरेर थप १४ दिन होटल क्वारेन्टाइन बस्ने सर्तमा मात्रै घर पठाउने छ ।

बिहीबारसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अन्तर्राष्ट्रिय यात्रु ल्याउन बिहान ६ देखि बेलुकी ६ बजेसम्म समयसीमा थियो । अब त्यो सीमा पनि हट्ने छ । ‘उडान संख्या वृद्धि हुँदा त्यो नियम पनि हट्ने छ’ मन्त्री भट्टराईइले भने ।

तर, आन्तरिकतर्फ उडान भने असोज १५ पछि मात्रै हुनेछ । ‘मन्त्रालयले असोज १५ पछि आन्तरिक उडान सुचारु गर्ने प्रस्ताव पठाएको छ,’ उनले भने । यसअघि असोज १ गतेदेखि आन्तरिक उडान सुचारु गर्ने भनिएको थियो ।

प्रकाशित : भाद्र २५, २०७७ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?