कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

तिलोत्तमा औद्योगिक ग्रामको शिलान्यास

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण हुने औद्योगिक ग्रामको बिहीबार शिलान्यास गरिएको छ । वडा १० सग्रहवामा निर्माण हुने औद्योगिक ग्रामको नगर प्रमुख बासुदेव घिमिरे र उप–प्रमुख जगेश्वरदेवी चौधरीले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।

तिलोत्तमा औद्योगिक ग्रामको शिलान्यास

रोहिणी नदी उकासको झण्डै १९ बिगाहा क्षेत्रफलमा औद्योगिक ग्राम बनाउने गरी तिलोत्तमा नगरपालिकाले काम अघि बढाएको हो । औद्योगिक ग्रामको डीपीआर तयार भैसकेको र चालू आर्थिक वर्षमा पहिलो चरणको निर्माण कार्य हुने नगर प्रमुख घिमिरेले बताए ।

'पहिलो चरणको निर्माण कार्यको लागि २ करोड ५२ लाख बजेट रहेकोमा १ करोड ९५ लाखमा निर्माण ठेक्का सम्झौता भएको छ,' उनले भने, 'औद्योगिक ग्रामसम्म पुग्ने एप्रोज रोड, पुल, गेट, सेक्युरिटी पोष्ट, रोड मार्किङ लगायतका काम अहिले हुनेछन् ।' डीपीआर अनुसार रोहिणी नदी ड्राइभर्सनको काम समेत गर्ने गरी औद्योगिक ग्रामको सम्पूर्ण काम सम्पन्न हुन ५२ करोड लागत अनुमान गरिएको छ ।

नगर प्रमुख घिमिरेले तीन तहका सरकारले विनियोजन गर्ने बजेटको आधारमा औद्योगिक ग्रामको निर्माण कार्य अघि बढ्ने जनाए । औद्योगिक ग्राममा अत्यन्त कम प्रदूषण हुने र कम्तिमा ५३ वटा साना तथा घरेलु उद्योग स्थापना हुनेछन् । संघीय सरकारले ल्याएको एक पालिका : एक औद्योगिक ग्रामको नीतिअनुसार तिलोत्तमाले औद्योगिक ग्राम निर्माणको काम अघि बढाएको हो ।

औद्योगिक ग्राममा पहुँच मार्ग, जग्गा विकास (ल्याण्ड पुलिङ), विद्युत प्रशारण लाइन, भूमिगत र सतही ढल, औद्योगिक फोहोर व्यवस्थापन र फोहोर पानी प्रशोधन संयन्त्र, प्रशासनिक भवन, बैंक तथा वित्तीय संस्था लगायतका पूर्वाधारको साथै प्रदर्शनी र बिक्री कक्ष, अग्नि नियन्त्रक, चमेना गृह, पार्किङ र आराम कक्ष पनि बनाइनेछ ।

तिलोत्तमामा निर्माण हुन थालेको औद्योगिक ग्राम निर्माण गरिने स्थान नजिकै बहुउपयोगी रोहिणी जलाशय निर्माणको काम भैरहेको छ । यो स्थान मंगलापुरबाट झण्डै ७ किलोमिटरमा छ ।

प्रकाशित : भाद्र २५, २०७७ १३:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?