कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५४

निषेधाज्ञा खुकुलो बनाउन निजी क्षेत्रको माग

विमल खतिवडा

काठमाडौँ — निषेधाज्ञा खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउन निजी क्षेत्रले माग गरेको छ । लकडाउन खुलेको केही समयपछि गरिएको निषेधाज्ञाले पुनः व्यापार व्यवसाय ठप्प बनेको निजी क्षेत्रको गुनासो छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ निजी क्षेत्रसँग गरेको छलफलका क्रममा व्यवसायीले समस्याको समाधान निषेधाज्ञा मात्र नरहेको बताए ।

निषेधाज्ञा खुकुलो बनाउन निजी क्षेत्रको माग

बजेटले सम्बोधन गरेका कतिपय कार्यक्रम कार्यान्वयन नभएको र ठोस रूपमा कार्यान्वयन गर्न आफूहरूले माग गरेको छलफलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् । ‘प्रधानमन्त्रीज्यूले नीतिगत तहमा के–कसो गर्न सकिन्छ भन्नेबारे जानकारी लिनुभयो,’ उनले भनिन्, ‘साथै अर्थतन्त्र चलायमान कसरी गराउने भन्नेमा पनि चासो लिनुभयो ।’

भदौ २४ पछि सरकारले गर्ने विषयमा भने प्रधानमन्त्रीले व्यवसायीलाई केही नभनेको उनको भनाइ छ । ‘हामीले केही खुकुलो बनाएर अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ भन्यौं,’ उनले भनिन् । कोभिड–१९ को संक्रमण रोकथाम र नियन्त्रणसँगै अर्थतन्त्र पनि चलायमान हुनुपर्नेमा आफूहरूले जोड दिएको उनको भनाइ छ । विद्युत् महसुलमा उद्योग व्यवसायलाई छुट दिने विषय बजेटमा आए पनि व्यवहारमा लागू नभएको आफूहरूले प्रधानमन्त्रीसमक्ष राखेको उनले बताइन् । छलफलमा हालै अर्थमन्त्रीबाट राजीनामा दिएका युवराज खतिवडा पनि उपस्थित थिए । खतिवडाले यसअघि उद्योग व्यवसायका लागि डिमान्ड शुल्कमा दिइएको छुट कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ । सरकारले निषेधाज्ञा खुकुलो बनाएर अर्थतन्त्र चलायमान बनाउनेमा आफूहरू आशावादी रहेको उनले बताइन् ।

रोग र भोकबाट कुनै किसिमको समस्या नआओस् भन्ने कुरा आफूहरूले प्रधानमन्त्रीसमक्ष राखेको नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश मोरको भनाइ छ । ‘निजी क्षेत्रले जे–जे सुझाव दिएको छ, त्यो कार्यान्वयन होस् भन्ने हाम्रो आग्रह हो,’ उनले भने, ‘हामीेले निषेधाज्ञा खुकुलो बनाउन माग गर्दै आएका छौं, कोभिडको प्रोटोकल मेन्टेन गरेर उद्योग खोल्ने वातावरण बनाउनुपर्छ ।’ उनका अनुसार निजी क्षेत्रले आपूर्ति व्यवस्था सहज गर्न पनि माग गरेको छ ।

‘प्रधानमन्त्रीले सबै कुरा नोट गरेका छौं, कसरी हुन्छ, काम गर्छौं भन्नुभयो,’ उनले भने, ‘अर्थतन्त्रलाई ध्वस्त पार्ने गरी कुनै काम गर्दैनौं भनेर आश्वासन दिनुभयो ।’ समस्याको समाधान गर्ने कुरामा आश्वस्त पारेको उनको भनाइ छ । निषेधाज्ञाले आफूहरूलाई पिरोलेको र यसलाई खुकुलो बनाएर अघि बढ्नपर्ने विषय प्रधानमन्त्रीसमक्ष राखेको पनि उनले बताए ।

‘उद्योग चलेपछि हामीले राजस्व तिर्न सजिलो हुन्छ, त्यसले आर्थिक गतिविधि पनि बढ्छ,’ उनले भने । लकडाउन र निषेधाज्ञाका कारण प्रत्येक दिन अवस्था झन्भन्दा झन् जटिल बन्दै गएको उनको गुनासो छ । त्यसैले सरकारलाई प्याकेजका कार्यक्रम पनि ल्याउन भनेको मोरले जानकारी दिए । धेरै समयपछि प्रधानमन्त्रीले निजी क्षेत्रसँग छलफल गरेको र सरकारबाट पक्कै सकारात्मक निर्णय हुने अपेक्षा गरेको उनले बताए । छलफलमा उद्योगमन्त्री लेखराज भट्ट, उद्योग राज्यमन्त्री मोतीलाल दुगड, गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल एवं सचिवलगायतको उपस्थिति थियो ।

लकडाउन खुकुलो बनाउने र उद्योग क्षेत्र चलायमान बनाउनुपर्नेमा उद्योगी सबैको एकमत रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । आफूहरूले भोगेका र भविष्यमा अपनाउनुपर्ने विषयमा आफूहरूले सुझाव पनि दिएको उनको भनाइ छ । उद्योगहरूमा पनि एक दिन गार्मेन्ट चल्न दिने र अर्को दिन अरू उद्योग चलाउने गरी वातावरण तयार गर्न पनि आफूहरूले आग्रह गरेको उनले बताए । ‘कसरी हुन्छ, उद्योग व्यवसाय चल्ने वातावरण बन्नुपर्‍यो,’ उनले भने ।

उद्योगी व्यवसायीसँगको छलफलमा प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइँ सबैको साझा रहेको र यसको नियन्त्रणमा सरकार लागिपरेको बताएका थिए । साथै अर्थतन्त्र विनाशतर्फ जानबाट जोगाउन सन्तुलन कायम गरी अघि बढ्न प्रयत्नशील रहेको उनको भनाइ छ । ‘कोरोना संक्रमण नियन्त्रण गर्न र अर्थतन्त्र विनाशमा जानबाट जोगाउन सरकार प्रयत्नशील छ,’ प्रधानमन्त्री ओलीले भने । व्यवसायीले प्रधानमन्त्रीसमक्ष विद्युतीय सवारीमा लगाइएको कर घटाउन पनि माग गरेका थिए । 

प्रकाशित : भाद्र २२, २०७७ ०६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?