कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अर्थमन्त्रीले सुनाए ७ क्षेत्रका ४५ उपलब्धि

भोकमरी अन्त्यदेखि दैनिक ५ किलोमिटर कालोपत्रसम्म
अर्थतन्त्रमा देखिएका समस्याग्रस्त विषयमा भने अर्थमन्त्री खतिवडाले विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणलाई दोष दिएका छन्
कृष्ण आचार्य

काठमाडौँ — परिणाम दिन नसकेको भन्दै पार्टीभित्र र बाहिर आलोचना खेपेका अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिनुअघि शुक्रबार मन्त्रिपरिषद् बैठकमा ७ क्षेत्रका ४५ उपलब्धि सुनाए । मन्त्रिपरिषद् स्रोतबाट प्राप्त उनको वक्तव्यमा ‘अर्थमन्त्रीको हैसियतमा जिम्मेवारी सम्हाल्दा अर्थतन्त्रका अधिकांश पक्ष कमजोर स्थितिमा रहेको’ उल्लेख छ ।

अर्थमन्त्रीले सुनाए ७ क्षेत्रका ४५ उपलब्धि

आयातमा आधारित राजस्व, विप्रेषणमा आधारित उपभोग चक्र, अनौपचारिक अर्थतन्त्रले राजस्वको दायरा संकुचित, बजेट प्रणाली र वित्तीय अनुशासनमा कमजोरी, मुलुकले धान्नै नसक्ने व्यापार घाटा, विदेशी मुद्रा सिञ्चितिमा चाप, शोधनान्तर स्थिति घाटा, निजी लगानीको वातावरण असहज, विकास सहायता र वैदेशिक परिचालनमा चुनौतीपूर्ण अवस्थामा आफूले जिम्मेवारी सम्हालेको उनको दाबी छ । यी क्षेत्रमा आफ्नो २ वर्ष ६ महिनाको कार्यकालमा सुधार भएको विवरण उनले मन्त्रिपरिषद् बैठकमा पढेर सुनाएका थिए ।

समष्टिगत आर्थिक क्षेत्र, वित्तीय क्षेत्र, राजस्व प्रणाली, बजेट प्रणाली, विकास सहायता परिचालन, कानुन निर्माण र कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणसहित सात शीर्षकका उपलब्धिबारे उनले चर्चा गरेका हुन् । अर्थतन्त्रमा देखिएका समस्याग्रस्त विषयमा भने उनले विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणलाई दोष दिएका छन् । उनले भोकमरी अन्त्यदेखि दैनिक ५ किलोमिटर कालोपत्रसम्म गरेका विवरण राखी उपलब्धी भन्दै पेश गरेका हुन् ।

‘कोभिड–१९ संक्रमण जोखिम सिर्जना हुनुअघिका दुई वर्षमा उत्पादन शक्तिको विकास, लगानीमैत्री वातावरण निर्माण र शासकीय सुधारको निरन्तर प्रयासले समष्टिगत आर्थिक परिसूचक उत्साहजनक हुँदै गएका थिए,’ उनले मन्त्रिपरिषद्मा भने । यो सरकार गठन हुनुअघिको १० वर्षको अवधिमा औसत आर्थिक वृद्धिदर ४.६ प्रतिशत रहेकोमा पछिल्ला वर्ष सुधार भएको तथ्यांक पनि उनको वक्तव्यमा उल्लेख छ ।

‘यो सरकार गठन भएयता ०७४/७५ मा ६.७, ०७५/७६ मा ७ प्रतिशत आर्थिक वृद्धि हासिल हुन सकेको थियो,’ उनले भने, ‘कोभिड–१९ का कारण ०७६/७७ मा आर्थिक वृद्धि २.३ प्रतिशतमा खुम्चिएको अनुमान छ ।’ ‘विश्वव्यापी रूपमा आर्थिक वृद्धि नकारात्मक भएको अवस्थामा यो पनि सन्तोषकै विषय हो,’ उनले भने । तर तथ्यांक विभागका अधिकारीहरूले ०७६/७७ को आर्थिक वृद्धि २.३ को सट्टा शून्य वा माइनसमा जाने जोखिम रहेको बताइसकेका छन् । खतिवडाले भने उच्च आर्थिक वृद्धिको दाबी गर्दै वार्षिक करिब ४ लाख रोजगारी सिर्जना भएको अनुमानसमेत पेस गरेका छन् ।

‘वर्तमान सरकार गठन भएयता र मैले अर्थमन्त्रीको बागडोर सम्हालिरहँदा उच्च आर्थिक वृद्धिका बाबजुत मुद्रास्फीति नियन्त्रित अवस्थामा छ,’ उनले भने, ‘यो सरकार गठनअघिको एक दशकको औसत मुद्रास्फीति दर करिब ९ प्रतिशत रहेकामा पछिल्ला ३ वर्षमा औसत ५ प्रतिशतभन्दा तल नै सीमित छ ।’ कोभिड–१९ का कारण वैदेशिक व्यापारमा आएको संकुचनले व्यापार घाटा घटे पनि अर्थमन्त्री खतिवडाले आफ्नो कार्यकालको उपलब्धि मानेका छन् । ‘भूकम्प गएको वर्षबाहेक ०७३/७४ सम्मको एक दशकमा आयातको वृद्धि वार्षिक औसत २० प्रतिशत रहेकामा पछिल्ला तीन वर्षमा सुधार आउँदै औसत ७.९ प्रतिशत मात्रै बढेको छ,’ उनले मन्त्रिपरिषद्मा भने, ‘यसबाट आयात प्रतिस्थापन हुँदै गएको प्रस्ट हुन्छ ।’ निर्यात वृद्धिको तथ्यांकसमेत उनले प्रस्तुत गरेका थिए ।

आयातमा कमी र निर्यातको वृद्धिले व्यापार घाटा कम भएको उनको भनाइ छ । ‘०७४/७५ मा व्यापार घाटा कुल गार्हस्थ्य उत्पादनको ३८ प्रतिशत रहेकामा ०७५/७६ मा पनि ३८ प्रतिशत हुँदै ०७६/७७ मा २९ प्रतिशतमा सीमित रहन सकेको छ,’ उनले भने । व्यापार घाटा नियन्त्रणले चालु खाता घाटा, भुक्तानी सन्तुलन र विदेशी मुद्रा सञ्चितिमा सुधार भएका तथ्यांक उनले पेस गरे ।

कोरा आर्थिक तथ्यांकसँग मतलब नराख्ने आमनागरिकको जीवनस्तरमा अर्थमन्त्री खतिवडाको विज्ञताले कुनै प्रभाव नपारेको भन्ने विषयमा समेत उनले प्रतिरक्षा गरे । त्यसका लागि नागरिकको जीवनस्तरमा गुणात्मक सुधार आएको भन्ने शीर्षकभित्र रहेर ११ बुँदामा चर्चा गरे । ‘वर्तमान सरकारको कार्यकालमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षालगायत क्षेत्रमा गरिएको लगानीको सूचकमा राम्रो प्रतिफल हासिल हुन थालेको छ,’ उनको दाबी छ । यातायात, विद्युत्, सञ्चार तथा सूचना प्रविधि पूर्वाधारमा उल्लेख्य विस्तार भएको उनले बताए ।

‘नागरिकको औसत आयु वृद्धि भइरहेको छ । स्वास्थ्य बिमा तथा नि:शुल्क स्वास्थ्य सेवाका कारण स्वास्थ्यसम्बन्धी अरू परिसूचकमा पनि सुधार आएको छ,’ उनले वक्तव्यमा भनेका छन्, ‘सबै नागरिकमा सरसफाइ र खानेपानीको स्रोतमा पहुँच पुग्ने स्थिति बनेको छ ।’ गरिबीको रेखामुनि रहेको जनसंख्या १९.६ प्रतिशतबाट करिब १७ प्रतिशतमा झरेको अनुमान छ । ‘कोभिड–१९ को असर नपरेको भए यस अवधिमा गरिबीको दर १६ प्रतिशत रहने अनुमान थियो,’ उनले भने, ‘भोकमरी पूर्णरूपमा अन्त्य भएको छ ।’ सडक मानवमुक्त समाज निर्माण भइरहेको उनको भनाइ छ । ‘टुहुरा, असहाय, अशक्त एवं वृद्धवृद्धालाई राज्यले संरक्षण गर्ने काम गरिरहेको छ,’ उनले भने, ‘श्रम कानुनको कार्यान्वयन र ज्यालामा वृद्धि भएबाट श्रमिकको जीवनस्तर माथि उठेको छ ।’

नागरिकमा इन्टरनेटको पहुँच दुई वर्षमा ६१ प्रतिशतबाट करिब ७३ प्रतिशत पुगेको उनको दाबी छ । यो सरकार बनेपछि समग्रमा दैनिक ५.१ किलोमिटरका दरले सडक कालोपत्र भएको पनि खतिवडाको दाबी छ । ‘यस अवधिमा ४९९ पुल निर्माण सम्पन्न भएका छन्,’ उनले भने, ‘दुई वर्ष ६ महिनाको अवधिमा मात्र विद्युत् उत्पादन ३० प्रतिशतले वृद्धि भई १०३१ मेगावाटबाट १३९७ मेगावाट पुगेको छ । आगामी तीन वर्षभित्र कम्तीमा ५ हजार मेगावाट जलविद्युत् उत्पादन हुने गरी निर्माण कार्य अघि बढिरहेको छ ।’

व्यावसायिक, नीतिगत र कानुनी सुधारका कारण भन्दै निजी लगानी आकर्षित भएको पनि खतिवडाले उल्लेख गरेका छन् । ‘गत वर्ष सफलतापूर्वक सम्पन्न गरिएको लगानी सम्मेलनका कारण लगानी बोर्डमार्फत ८ आयोजना निर्माण गर्न २ खर्ब १० अर्ब बराबरको विदेशी लगानी स्वीकृति भएको छ,’ उनले भने, ‘१४ आयोजनाका लागि १४ खर्ब रुपैयाँभन्दा बढीको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ ।’ उद्योग विभागमार्फत आउने विदेशी लगानीमा समेत उल्लेख्य सुधार आएको उनको दाबी छ । ‘वर्तमान सरकार गठन हुँदासम्मको एक वर्षको अवधिमा २१ अर्बको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता प्राप्त भएकोमा यो २ वर्ष ६ महिनाको अवधिमा ९५ अर्ब बराबरको प्रतिबद्धता प्राप्त भएको छ ।’

आफ्नो कार्यकालमा ब्याजदर नियन्त्रण भएको र कम दरमा समेत रहेको खतिवडाले बताए । ‘०७४ माघमा कर्जाको औसत ब्याज ११.९० प्रतिशत रहेकामा ०७७ असारमा १० प्रतिशत कायम भएको छ,’ उनले भने, ‘०७४ माघमा निक्षेपको औसत ब्याज ६.४ प्रतिशत रहेकामा ०७७ असारसमा ६ प्रतिशत कायम भएको छ ।’

ब्याजदर थप पारदर्शी र प्रतिस्पर्धी हुँदै गएकाले बचत र लगानी दुवै प्रोत्साहित भएको उनको दाबी छ । आफ्नो कार्यकालमा निकै निराशाजनक रहेको सेयर बजारबारे भने उनले धेरै चर्चा गरेका छैनन् । ‘पुँजी बजारतर्फ हालसम्ममा बजार पुँजीकरण १९ खर्ब ६५ अर्ब पुगेको छ । सेयर बजार सुधारोन्मुख एवं गतिशील बनेको छ,’ उनले भने ।

आफ्नो कार्यकालमा बजेट प्रणालीको विश्वसनीयता कायम गर्न सकेको भन्दै कुल वैदेशिक सहायताको ३० प्रतिशत रकम बजेटरी सहायताका रूपमा प्राप्त भएको उनको दाबी छ । ‘यस अवधिमा विश्व बैंक, आईएफएफ, एसियाली विकास बैंक र युरोपियन युनियनबाट १ खर्ब ४४ अर्ब बजेट सहायता प्राप्त भएको छ भने थप २४ अर्ब बराबरको बजेटरी सहायता प्राप्त हुने चरणमा छ,’ उनले भने । वैदेशिक अनुदानतर्फ ९१ अर्ब र ऋणतर्फ ४ खर्ब १ अर्ब गरी ४ खर्ब ९२ अर्ब विकास सहायता प्रतिबद्धता प्राप्त भएको तथ्यांक उनले प्रस्तुत गरे । त्यसको प्रयोजनका विषयमा भने उनले खुलाएका छैनन् ।

‘व्यक्तिगत अभीष्टका लागि केही गरिनँ’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थमन्त्री खतिवडाले राजीनामा बुझाएपछि अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका कर्मचारीसँग छुट्टाछुट्टै सम्बोधन गरेका थिए । उनले त्यहाँ पनि आफूले गरेका केही कामको विवरण सुनाउँदै निष्ठाका विषयमा चर्चा गरे ।

‘दुवै मन्त्रालयबाट राजीनामा दिएको छु । सरकारबाहिर रहेर पनि राष्ट्रहित, राष्ट्रिय विकास र समृद्धिको अभियानमा कुनै न कुनै रूपमा म जुटिरहनेछु,’ उनले सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘आधारभूत रूपमा अध्ययन, अध्यापन, अनुसन्धान र नीति निर्माणमा बहस पैरवी गर्न रुचाउने मान्छे हुँ । त्यो काममा लागिरहनेछु ।’

काम गरिरहँदा सबै कुरा नमिलेको तर त्यसलाई राष्ट्रिय हितका दृष्टिकोणले हेरिदिन उनको अनुरोध थियो । ‘राष्ट्रिय दृष्टिकोणले गर्नुपर्ने कुरा व्यक्तिको हितमा नहुन सक्छन् । आफ्नो ब्यक्तिगत हितमा केही नगरी बृहत्तर राष्ट्रिय हितका कुरा गरिरहँदा कसैलाई चित्त दुखेको रहेछ भने तपाईंहरूले बुझिदिनुपर्छ,’ उनले भने, ‘किनभने मैले व्यक्तिगत अभीष्टका लागि केही गरिनँ, गरेको पनि छैन । यो मेरो निष्ठा हो । मेरो निष्ठा, ज्ञान र अनुभवले मैले यहाँसम्मको जिम्मेवारी पाएको हुँ ।’ सरकार बाहिर रहेर पनि त्यसलाई निर्वाह गर्ने उनले पत्रकार सम्मेलनमा बताए ।

मन्त्री खतिवडाले मन्त्रिपरिषद्‌मा सुनाएको उपलब्धिको पूर्णपाठ

प्रकाशित : भाद्र १९, २०७७ २३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?