कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौता हुने

काठमाडौँ — नेपाल सरकारले तीनवटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

इन्डोनेसिया, फिनल्यान्ड र रुससँग हवाई सम्झौता हुने

मन्त्रालयका अनुसार बैठकले मंगलबारदेखि हुन लागेको नियमित उडान गर्ने वायुसेवा कम्पनीलाई चर्को भाडा नलिन निर्देशन दिने भएको छ । ‘कोभिड–१९ को महामारी पूर्वनियमित अवस्थामा लिने हवाई भाडादरभन्दा बढी नलिन सबै वायुसेवा निगमहरूसँग समन्वय गर्ने,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत वायुसेवा कम्पनीहरूलाई सचेत गराउने निर्णय गरिएको छ ।’

त्यस्तै विदेशमा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्नेलगायत विषयको अनुगमन र सहजीकरण गर्न पर्यटन मन्त्रालयका उपसचिव रामकृष्ण लामिछानेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको छ । समितिका सदस्यमा पर्यटन विभागका निर्देशक सुरेन्द्र थापा, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक हिराजन काफ्ले र नेपाल पर्यटन बोर्डका प्रबन्धक सुनील शर्मा छन् ।

समितिलाई हवाई उडान भाडादर, यात्रुहरूको परिवहनका विषयमा अनुगमन गर्न, होटलले प्रदान गर्ने मापदण्डका विषयमा स्थलगत अनुगमन गरी पृष्ठपोषण गर्न, होटल संघलगायत संघसंस्थाहरूसँग आवश्यक समन्वय गर्ने र स्वदेश फिर्ता प्रक्रियासँग जोडिएको गुनासो व्यवस्थापन गर्न कार्यादेश दिइएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईसमेतको उपस्थिति रहेको बैठकले हिमाल आरोहणका लागि खटाइने सम्पर्क अधिकृत र उद्धारलगायत विषयमा मापदण्ड र कार्यविधि बनाउने निर्णय पनि गरेको छ ।

मन्त्री भट्टराईले मन्त्रालयको वार्षिक कार्ययोजनामा समावेश गरिएका योजनालाई तोकिएको समयमै सम्पन्न गर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका थिए ।

प्रकाशित : भाद्र १५, २०७७ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?