कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निषेधाज्ञाले हेटौंडाका प्रायः उद्योग बन्द

प्रताप विष्ट

हेटौंडा — कोरोना संक्रमण बढेपछि जारी निषेधाज्ञाका कारण हेटौंडा औद्योगिक क्षेत्रका प्रायः उद्योग सञ्चालनमा छैनन् । स्थानीय प्रशासनले हेटौंडा उपमहानगरमा निषेधाज्ञा घोषणा गरेपछि औद्योगिक क्षेत्रका अधिकांश उद्योग बन्द अवस्थामा छन् ।

निषेधाज्ञाले हेटौंडाका प्रायः उद्योग बन्द

औद्योगिक क्षेत्रभित्र रहेका दाना, बिस्कुट र प्लास्टिक उद्योग न्यून क्षमतामा सञ्चालनमा छन् । उद्योगभित्रै थोरै मजदुरको व्यवस्थापन गरेर दाना, बिस्कुट, डेरी र प्लास्टिक उद्योग चलिरहेको मकवानपुर उद्योग संघका अध्यक्ष लेखराज पोख्रेलले जानकारी दिए ।

लकडाउन खुकुलो भएपछि असार पहिलो सातापछि उद्योग क्रमशः सञ्चालनमा आउन थालेका थिए । पुनः निषेधाज्ञाले उद्योग मारमा परेको उनी बताउँछन् । ‘कोरोना संक्रमण नियन्त्रण गर्ने उपाय लकडाउन र निषेधाज्ञा मात्रै होइन, अरू विधि पनि अपनाउनुपर्छ,’ पोख्रेलले भने, ‘स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर बिहानदेखि बेलुकासम्म उद्योग चलाउने व्यवस्था भए उद्योगीलाई केही राहत पुग्थ्यो ।’ औद्योगिक क्षेत्रभित्रका १ सय ११ उद्योगमध्ये यति बेला ११ उद्योग पनि सञ्चालनमा छैनन् । चलेका पनि आठ/दस जना कामदारको भरमा जेनतेन सञ्चालनमा छन् । ‘यो अवस्था लामोसम्म रहिरह्यो भने उद्योगीले ठूलो समस्या बेहोर्नुपर्छ,’ औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका प्रबन्धक राजेन्द्र कँडेलले भने, ‘नयाँ उद्योग पनि सञ्चालन हुन पाएका छैनन् । पुराना उद्योग ठप्प छन् ।’

औद्योगिक क्षेत्रका प्रायः कामदार र प्राविधिक तराई क्षेत्रका छन् । तराई क्षेत्रमा कोरोना संक्रमण फैलँदो छ । मजदुरलाई भित्रै राखेर उद्योग सञ्चालन गर्न दिने व्यवस्था मिलाउनुपर्ने उद्योगीहरूको माग छ । उद्योग नै ठप्प गर्ने खालको लकडाउन र निषेधाज्ञाले मुलुकमा आर्थिक संकट पैदा गर्न सक्ने उनीहरू बताउँछन् । औद्योगिक क्षेत्रबाहिरका उद्योग पनि धीमा गतिमा चलिरहेका छन् ।

हेटौंडा उपमहानगरमा एक सरकारीसहित तीन सिमेन्ट उद्योग छन् । ती सबैमा पनि न्यून उत्पादन भइरहेको छ । बहुराष्ट्रिय कम्पनी युनिलिभरले पनि न्यून मात्रामा उत्पादन गरिरहेको छ । सिमेन्ट र युनिलिभरले केही कामदार र कर्मचारीलाई उद्योगभित्र राखेर उत्पादन गरिरहेका छन् । उत्पादन गरेका वस्तु पनि बजारमा पुर्‍याउन कठिनाइ भएको उद्योगीहरूको गुनासो छ ।

प्रकाशित : भाद्र ९, २०७७ ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?