कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

द्रुतमार्गमा परामर्शदाताले थाल्यो काम

परामर्शदाताले भौतिक स‌ंरचना डिजाइन र कन्स्ट्रक्सनको सुपरभिजन गर्नेछ । यसमा पुल निर्माण र सुरुङ दुवैको डिजाइन पर्छ ।
विमल खतिवडा

काठमाडौँ — काठमाडौं–तराई/मधेस द्रुतमार्गमा अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गरिएसँगै सर्भेको काम थालिएको छ । परामर्शदाताका रूपमा छानिएको कोरियन कम्पनी युसिन इन्जिनियरिङ कर्पोरेसनले आइतबारबाट काम थालेको हो । युसिनसँग असार १ मा सम्झौता भएपछि टिम लिडरले उक्त मार्गको अवलोकन गरेका थिए ।

द्रुतमार्गमा परामर्शदाताले थाल्यो काम

‘असार ३१ मा आएको टोलीले ललितपुरको खोकोनादेखि बाराको निजगढसम्म पुगेर फिल्ड भिजिट गरेको थियो,’ नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘त्यसपछि आइतबारबाट सर्भेको काम थालिएको हो ।’ परामर्शदाताको काम आयोजनामा निर्माण गर्नुपर्ने भौतिक संरचनाको डिजाइन र कन्स्ट्रक्सनको सुपरभिजन गर्नु हो । यसमा सुरुङ र पुल निर्माण दुवैको डिजाइनको काम पर्छ । परामर्शदाताको सानो टिम आएर काम थालेको हो । ‘कोभिड १९ ले गर्दा सबै टिम ल्याउन गाह्रो भएको छ,’ उनले भने, ‘हवाइमार्ग पुनः सुरु भएपछि सबै टिम जम्मा हुनेछन् ।’

०७७ मंसिरभित्र सुरुङको दुइटा प्याकेजमा टेन्डर गर्ने तयारी रहेको प्रवक्ता पौडेलले जानकारी दिए । एक नम्बर प्याकेजमा महादेवटार छ । त्यस्तै लेनडाँडा र धेद्रेलाई दुई नम्बर प्याकेजमा राखिएको छ । परामर्शदाताले सर्भे सकेपछि मंसिरबाट यसको टेन्डर गर्ने योजना छ । ‘त्यसपछि मूल्यांकनको काम सकेर वैशाखबाट निर्माणको काम थाल्नेछौं,’ उनले भने । युसिन कम्पनीलाई भारतको एउटा राज्यले २०१७ मा कालोसूचीमा राखेको भनिए पनि सेनाले परामर्शदाताका रूपमा छानिसकेको छ । ‘कम्पनी कालोसूचीमा परेका कुरा आएका थिए । तर यसमा हाम्रो कानुन आकर्षित हुन्छ कि हुँदैन भन्ने हो,’ पौडेलले भने, ‘हामीले हेर्ने नेपालको कानुन हो । त्यसैले यस विषयमा कुनै पनि नियम कानुन आकर्षित भएको देखिँदैन ।’

आयोजनाको मुख्य काम नै सुरुङ निर्माण गर्नेछ । त्यसपछि पुलको काम अघि बढाइनेछ । सडकमा पर्ने पहाड कटिङ र माटो फिलिङको काम पनि सकिएको छैन । ‘अहिलेसम्म आयोजनाको ४२ प्रतिशत भौतिक र वित्तीय प्रगति छ,’ पौडेलले भने, ‘थोरै कटिङ र फिलिङको काम ४ किमि बाँकी छ ।’ १ दशमलव ५ किमि ०७७ माघ र थप २.५ किमि ०७८ को जेठसम्म सक्ने योजना रहेको उनले सुनाए । द्रुतमार्गमा पर्ने रूख कटानको काम पनि अझै सकिएको छैन ।

‘रूख कटानको काम धेरै छैन,’ उनले भने, ‘यो काम पनि समन्वय गरेर फागुनसम्म सक्नेछौं ।’ उक्त मार्गमा ८७ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये ९ वटा पुल सुरुङको प्याकेजमा पर्छ । विशेष प्रकृतिका १६ वटा पुल निर्माण गरिनेछ । बढीमा ५ सय २० मिटर लामा र ८० मिटर अग्ला पुल निर्माण हुने पौडेलले बताए ।

केही समयअघि ललितपुर खोकनाका स्थानीयले जग्गाको मुआब्जा नपाएको भन्दै उक्त मार्गमा पर्ने खेत खनजोत गर्दा विवाद भएको थियो । यो क्षेत्रको विवाद अझै टुंगिएको छैन । ‘जग्गा प्राप्ति र अधिग्रहणको विषय गृह मन्त्रालयअन्तर्गत प्रमुख जिल्ला अधिकारीअन्तर्गत पर्छ,’ उनले भने, ‘यसमा आयोजनाले सहजीकरणको काम गर्नेछ ।’ सेनाको निर्माण व्यवस्थापनमा ०७४ जेठ १४ बाट द्रुतमार्ग निर्माण थालिएको हो । कुल ७२.५ किमि सडकको कुल लागत १ खर्ब ७५ अर्ब रुपैयाँ छ । आयोजना निर्माणको काममा लागि सेनाले विभिन्न १० ठाउँमा क्याम्प राखेको छ । ३० वटा प्याकेजमा ठेक्का गरेर निर्माणको काम जारी छ । ५ वटा प्याकेज मख्खुबेसी, सिस्नेरी, लेनडाँडा, बुदुने र निजगढमा सेनाले सेनाले आफ्नै जनशक्ति र साधन प्रयोग गरी काम गरिरहेको छ ।

आयोजनाका अनुसार महादेवडाँडामा ३.३५५ किमि, धेद्रेमा १.६३० र लेनडाँडामा १.४३० किमिको सुरुङ निर्माण हुनेछ । भित्रिने र बाहिरिने गरेर साढे १२ किमि सुरुङमार्ग निर्माण गरिनेछ । चार लेन सडकको ५३ किमि क्षेत्र मकवानपुरमा पर्छ । काठमाडौं ४ किमि, ललितपुर ७.९ र बारामा ७.६ किमि पर्छ । आव ०८०/८१ निर्माण समयावधि रहेको यो मार्ग सञ्चालनमा आएपछि १ घण्टामा काठमाडौंबाट बारा पुगिनेछ ।

प्रकाशित : श्रावण २८, २०७७ ०७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?