कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘पसल बन्द गर्नु मात्र समस्याको समाधान होइन’

नुमा थाम्सुहाङ

काठमाडौँ — न्युरोड उत्तरतर्फमा महाबौद्ध, रञ्जना गल्ली, असन र उत्तर–पश्चिममा इन्द्रचोक पर्छन् । न्युरोड आसपासमा भने खिचापोखरी, पाँकु र संकटा पर्छन् । काठमाडौंको व्यापारिक केन्द्र मानिने न्युरोडको उत्तरी क्षेत्र साउन २३ देखि बन्द भए पनि आसपासमा व्यापार व्यवसाय चलिरहेका छन् ।

सरकारले लकडाउन खोल्ने निर्णय गरेयता आफ्नो पसल चलाइरहेको पाँकुस्थित आईटी स्टोर प्रालिका सञ्चालक जयराम केसीले बताए । ‘न्युरोडको मुख्य सडकतिर मात्र पसल बन्द छन्,’ उनले भने, ‘पाँकु र खिचापोखरी क्षेत्र बन्द गर्ने निर्णय भएको छैन ।’ काठमाडौं महानगरपालिका वडा नम्बर २२ ले सूचना जारी गर्दै उक्त क्षेत्रका पसल तथा कार्यालय बन्द गर्ने निर्णय गरेको हो । त्यहाँका केही व्यवसायीलाई कोरोना संक्रमण देखिएपछि व्यवसायीको समन्वयमा बन्द गर्ने निर्णय भएको थियो ।

करिब तीन महिनापछि सरकारले लकडाउन खोल्ने निर्णय गर्दा व्यवसायीमा आशा पलाएको थियो । अहिले कोभिड–१९ संक्रमित देखिएको स्थान सिल गर्ने निर्णय भएसँगै पुनः निराशा छाएको व्यवसायी बताउँछन् । ‘सिल गर्नु मात्र विकल्प होइन । व्यापारीहरूको पीडा अहिले पनि उस्तै छ,’ उनी भन्छन्, ‘अहिले अलिक रिकभर हुने आशा थियो । फेरि संक्रमित देखिएसँगै बन्द गरे व्यवसाय धरापमा पर्छ ।’

सोमबारदेखि रञ्जनाका व्यवसाय सञ्चालन गर्ने तयारी रहेको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले जानकारी दिए । ‘यहाँका ६०/७० जना व्यापारीको पीसीआर रिपोर्ट नेगेटिभ आइसकेको छ । तत्काललाई सेवाग्राही नल्याउने गरी आफ्नै पसलको काम गर्न मात्र खोल्ने भनेका छौं,’ उनले भने, ‘अहिले रञ्जना ट्रेड सेन्टर, रञ्जना गल्ली र महाबौद्धका पसल भने बन्द छन् ।’

व्यवसाय चल्नैपर्छ भनेर पसल खोलेको असनस्थित लुम्बिनियन्स ब्युटिपार्लरकी सञ्चालक पेमा सिलवाल बताउँछिन् । ‘असनका पसल सबै खुला छन् । बन्द गरे पनि पछि पहिलेकै अवस्थामा फर्किनुपर्छ,’ उनले भनिन्, ‘निश्चित क्षेत्र सिल गरेर केही हुँदैन, कि पूरै बन्द गर्नुपर्छ ।’ सुरक्षाका उपायलाई ध्यान दिएर व्यवसाय निरन्तर चल्नुपर्ने उनले सुनाइन् । व्यवसाय चले मात्र अर्थतन्त्र सुध्रिने उनको भनाइ छ । साउन र भदौ जस्तो व्यापारको सिजनमा पसल बन्द गर्नु नहुने इन्द्रचोकस्थित मीरा कस्मेटिक्सका सञ्चालक रमेश महर्जनले बताए । ‘एक/दुई जना संक्रमित भए पूरै टोल समस्यामा पार्छ ।’ व्यापारको सिजनमा पनि ५/१० प्रतिशत मात्र व्यवसाय चलिरहेको उनले सुनाए । पसल बन्द भए पनि घरभाडा र बैंकको ब्याज तिर्नुपर्ने भएकाले बन्द गरेर झन् समस्या निम्तिने उनको भनाइ छ ।

व्यवसाय चलाउन र अर्थतन्त्र चलायमान बनाइरहन व्यवसायय बन्द गर्न नहुने व्यवसायीहरूको भनाइ छ । कोरोनाबाट बच्दै अर्थतन्त्रलाई जोगाउन व्यवसाय चलाउनुपर्ने उनीहरूले बताए । परीक्षणको दायरा बढाएर समुदायमा फैलिएको/नफैलिएको पत्ता लगाएपछि मात्र लकडाउन वा सिल गर्नु उचित हुने नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालको भनाइ छ । ‘अहिले ६१ प्रतिशत उद्योग बन्द छन्,’ उनले भने, ‘कोरोना संक्रमण उपत्यका मात्र नभई देशैभरि बढेको छ । यस्तो बेला स्थानीयस्तरमा निश्चित ठाउँमा बन्द गर्दा यसले कति अर्थ राख्छ भनी सोच्नुपर्छ ।’

प्रकाशित : श्रावण २६, २०७७ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?