कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुन भाउ उकालो लागेको लाग्यै, प्रतितोला १,०२,५०० रुपैयाँ

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ । बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ पुगेको छ । बुधबारको तुलनमा नेपाली बजारमा सुनको भाउ एक हजार एक सय रुपैयाँले बढेको हो ।

सुन भाउ उकालो लागेको लाग्यै, प्रतितोला १,०२,५०० रुपैयाँ

अन्तर्राष्ट्रिय बजारम सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि भाउ बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं महासंघअन्तर्गतका मूल्य निर्धारण समिति संयोजक तेजरत्न शाक्यले जानकारी दिए । त्यस्तै बिहीबार नेपाली बजारमा तेजाबी सुनको भाउ एक लाख २ हजार रहेको छ ।

त्यस्तै बिहीबार नेपाली बजारमा चाँदीको पनि भाउ बढेर प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँ पुगेको छ । बुधबार नेपाली बजारमा चाँदीको भाउ प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ कायम भएको थियो ।

अहिले परिस्थिति विषम भएकाले लगानीका अन्य क्षेत्र सुरक्षित नमानिएकाले लगानीकर्ताले सुनमै लगानी गर्न चाहेको शाक्यले जानकारी दिए । कोभिड–१९ का कारण विश्व अर्थतन्त्र शिथिल अवस्थामा पुगेको छ । यसको असर सबै क्षेत्रमा परेपछि लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनमा लगानी गरिरहेका छन् । सुनको माग बढिरहँदा उत्पादन भने घटेको छ । २०१८ मा अन्तर्राष्ट्रिय बजारमा वार्षिक उत्पादन र कारोबार ४ हजार ५ सय टन रहेकोमा घटेर ३ हजार ५ सय टनको मात्रै भएको छ । जसले गर्दा भाउ अकासिएको महासंघले जनाएको छ ।

महासंघको तथ्यांकअनुसार केही महिनायता भाउमा लगातार नयाँ रेकर्ड बनाएको छ । भाउ दिनहुँ बढ्नुको एक कारण अमेरिका र चीनबीचको व्यापारिक युद्ध पनि हो । यीबाहेक अन्तर्राष्ट्रिय बजारमा बैंकहरूले ब्याजदर घटाएका छन् । जसले गर्दा लगानीकर्ताले सुनलाई नै प्राथमिकता दिएका छन् । ‘अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुन थप २/३ सय डलर बढ्न सक्ने अनुमान छ,’ शाक्यले भने, ‘त्यो भनेको नेपाली बजारमा थप १०/१२ हजार रुपैयाँ थप मूल्य बढ्नु हो ।

सुनको भाउ बढे पनि नेपाली बजारमा माग भने सुस्त छ । भाउ बढेकै कारण बजार सुनसान भएको व्यवसायी बताउँछन् । ‘सुनको भाउले दैनिक नयाँ रेकर्ड बनाएपछि बिक्री शून्य छ,’ शाक्यले भने, ‘भाउ थप बढ्ने आकलनले सर्वसाधारणले पुराना गहना पनि बेचेका छैनन् ।’

प्रकाशित : श्रावण २२, २०७७ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?