प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रतितोला सुनको मूल्य १ लाख नाघ्यो

रासस

काठमाडौँ — कोभिड–१९ को महामारीका कारण अन्तर्राष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बुधबार अप्रत्याशित रुपमा बढेको छ ।

मंगलबार प्रतितोला ९९ हजार ८ सयमा कारोबार भएको पहेंलो धातुमा बुधबार एक हजार ६ सयले वृद्धि भएको हो ।

बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य एक लाख ९०० निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । एक तोला सेतो धातुको मूल्य बुधबार एक हजार २९५ रुपैयाँ निर्धारण भएको छ ।

कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य १० हजार ४०० ले बढेर ८७ हजार पुगेको थियो । त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २,०२४.५३ अमेरिकी डलर कायम भएको छ ।त्यसैगरी प्रतिऔँस चाँदी २५.९६ अमेरिकी डलर निर्धारण भएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्

वीरगन्ज महानगरका प्रमुख प्रशासकीय अधिकृतसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण

भूषण यादव

वीरगन्ज — नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला, वीरगन्ज कारागारका जेलर श्रवण पोखरेलसहित थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये १७ जना बाराको सिमरा क्‍वारेन्टाइन र बाँकी पर्साका हुन् । 

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायका अनुसार २४ महिलासहित ५ देखि ७४ वर्ष उमेर समूहका १ सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौलाले फ्रन्टलाइनमा काम गर्दागर्दै कोरोना संक्रमित भएको बताए ।

रिपोर्ट आउनमा ढिलाई भएको प्रति उनको गुनासो छ । ‘श्रीमती र छोरा मसँगै छन्,’ उनले भने, ‘मेरो र श्रीमतीको रिपोर्ट पोजिटिभ आएको छ, छोराको निगेटिभ । तर, छोरा यो बीचमा हामीसँग बसेको छ ।’ साउन १६ मा दिएको स्वाबको नतिजा साउन २० को राति आयो । रिपोर्ट छिट्टै आएको भए छोरालाई अलग्गै राख्न हुन्थ्यो । रिपोर्टको ढिलाईले पनि समुदायमा कोरोना फैलिएको हो । महानगरपालिका कार्यालयका अरु १० जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कारागारका जेलर श्रवण पोखरेलले साउन १८ गते दिएको स्वाब परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको बताए । साउन १२ गतेको स्वाब परीक्षणमा पोखरेलको रिपोर्ट निगेटिभ आएको थियो । त्यसबेला कारागारका २२ जनाले स्वाब परीक्षण गर्न दिएकोमा कैदीबन्दीसहित १३ जनाको पोजिटिभ आएको थियो । 'कन्ट्याक्ट ट्रेसिङ'को क्रममा साउन १८ गते जेलरसहित १ सय १८ जनाले स्वाब दिएका थिए । जसमध्ये जेलर पोखरेलसहित ३४ जनामा कोरोना पोजिटिभ देखिएको हो ।

नेपाली सेनाका ३ जना, वीरगन्ज भन्सारमा खटिएका ३ जना सशस्त्र प्रहरीमा समेत कोरोना पुष्टि भएको छ ।

प्रकाशित : श्रावण २१, २०७७ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×