कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी

शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार
व्यवसायी भन्छन्, ‘दसैंसम्म प्रतितोला १ लाख पुग्छ, चैतसम्म सवा लाख
राजु चौधरी

काठमाडौँ — स्थानीय बजारमा सुनको मूल्यले प्रतिदिन नयाँ कीर्तिमानी कायम गरिरहेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिसँगै यहाँ पनि भाउले दिनहुँ नयाँ ‘रेकर्ड’ बनाएको हो । ९ दिनको अवधिमा सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँ बढेको महासंघको तथ्यांक छ ।

सुनको मूल्यमा दिनदिनै कीर्तिमानी

‘अन्तर्राष्ट्रिय बजारमा मूल्य अझै बढ्ने संकेत देखिएको छ,’ महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘केही महिना मूल्य घट्ने छाँट छैन ।’ महासंघले शुक्रबार बिहान मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको मूल्य १८ सय ८८ अमेरिकी डलर थियो । बेलुकासम्म आइपुग्दा प्रतिऔस १८ सय ९३/९५ डलर भइरहेको थियो । डिसेम्बरसम्म अन्तर्राष्ट्रिय बजारमा प्रतिऔस २ हजार अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा २ हजार डलर पुग्दा यहाँ प्रतितोला करिब १ लाख रुपैयाँसम्म पुग्ने महासंघको दाबी छ । ‘दसैंसम्म २ हजार डलर पुग्छ । त्यो भनेको नेपाली बजारमा प्रतितोला १ लाख रुपैयाँभन्दा बढी नै हो,’ महासंघका निर्वमान अध्यक्ष मणिरत्न शाक्यले भने, ‘०७७ सालको अन्तिमसम्म २२ सय डलर पुग्ने प्रक्षेपण गरिएको छ । नेपाली बजारमा १ लाख २५ हजार रुपैयाँसम्म पुग्न सक्छ ।’

महासंघका अनुसार ०७६ सालको सुरुवातमा ७५ हजारदेखि ७७ हजार रुपैयाँसम्ममा कारोबार भएको थियो । सरकारले चैत ११ देखि लकडाउनको घोषणा गरेपछि महासंघले चैत १० देखि मूल्य तोकेन । १० गते प्रतितोला ७७ हजार हजार रुपैयाँ थियो । महासंघले जेठ २५ मा पुनः मूल्य तोक्यो । बजार खुलेलगत्तै मूल्य प्रतितोला ८७ हजार ४ सय रुपैयाँ पुग्यो । अहिले डेढ महिनाभित्रै ९५ हजार ८ हजार रुपैयाँ पुगेको छ ।

यसकारण बढ्यो मूल्य

सुनलाई सुरक्षित लगानी मानिन्छ । अन्तर्राष्ट्रिय बजारमा देखिने अस्थिरता, आर्थिक संकट र युद्धका बेला लगानीकर्ता सुरक्षित हुन खोज्छन् । अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँछन् । अहिले सुनको भाउ बढ्नुको कारण पनि यही नै हो ।

पहिलो कारण कोभिड–१९ को संकट नै रहेको महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य बताउँछन् । कोरोनाका कारण विश्व अर्थतन्त्रलाई नै शिथिल बनाएको छ । यस्तै हङकङका कारण चीन र अमेरिकाबीच उत्पन्न तनाव पनि सुनको मूल्य बढ्नुको अर्को कारण रहेको जानकारहरुको भनाइ छ ।

निवर्तमान अध्यक्ष मणिरत्न शाक्यको भनाइ पनि उस्तै छ । उनले ५० वर्षको अवधिपछि यतिबेला व्यवसाय शिथिल भएको बताए । चीनमा कोरोना देखिएदेखि लगानीकर्ता सुनतर्फ आकर्षिर्त भएको उनको भनाइ छ । ‘विगतदेखि चीन र अमेरिकाको व्यापारिक युद्ध थियो । त्यसमा कोरोना थपियो । विश्वव्यापी लगानीकर्ता सुन खरिदमा दौडिए,’ उनले भने, ‘लकडाउनअघि सुनको मूल्य ७७ हजार थियो । कोरोना इटाली हुँदै अमेरिका पुग्यो । ग्लोबल इकोनमीमा लगानी गर्ने ठाउँ भएन । त्यही भएन सुनमा आकर्षण बढ्यो ।’

अमेरिकी केन्द्रीय बैंक (फ्रेडरल रिजर्भ) ले बन्ड रकममा दिँदै आएको ब्याजदर घटाएकाले पनि सुनको मूल्य बढेको उनको भनाइ छ । ब्याजदर ऋणात्मक हुने अवस्थामा जाने आँकलन भएसँगै लगानीकर्ता प्रतिफल खोज्न सुनतर्फ लागेको शाक्यले बताए ।

प्रकाशित : श्रावण १०, २०७७ ०८:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?