२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

केही मलले दिए भाडा छुट, केहीमा सहमति जुटेन

नुमा थाम्सुहाङ

काठमाडौँ — उपत्यकाका केही सपिङ मलले व्यवसायीलाई घर भाडामा छुट दिएका छन् भने केहीले अझै निर्णय गर्न सकेका छैनन् । सुन्धारास्थित सिभिल मल, न्युरोडस्थित रञ्जना ट्रेड सेन्टर, त्रिपुरेश्वरस्थित ब्लुबर्ड मल, बानेश्वरस्थित आइप्लेक्स मल र चितवनस्थित सीजी बिजनेस ग्रुपअन्तर्गतको सीजी ल्यान्डमार्कले आफ्ना व्यवसायीलाई लकडाउन अवधिभरको घर भाडामा आ–आफ्नै किसिमले छुट दिएका छन् । यी सपिङ मलले लकडाउन (चैत–साउन) अवधिभरको घर भाडामा छुट दिएका हुन् ।

केही मलले दिए भाडा छुट, केहीमा सहमति जुटेन

सिभिल मलले चार महिना (चैत–असार) को भाडामा ५० प्रतिशत र तीन महिना (साउन असोज) को भाडामा ४० प्रतिशत, रञ्जनाले तीन महिना (चैत–जेठ) को ५० प्रतिशत, ब्लुबर्डले एक महिनाको पूरा, आइप्लेक्सले चार महिना (चैत–असार) को ६० प्रतिशत, साउन र भदौको ५० प्रतिशत र सीजी ल्यान्डमार्कले चार महिना (चैत–असार) को घर भाडा छुट दिएका हुन् । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बिहीबार पत्रकार सम्मेलन गर्दै मल सञ्चालक र व्यापारीबीच भएको सहमतिबारे जानकारी दिए । व्यापारी र सञ्चालकबीच भाडा छुटको विषय नमिलेपछि सिभिलका व्यापारीले असार २६ गते सञ्चालकहरूलाई सटरको चाबी बुझाएका थिए ।

‘कात्तिकपछि भाडामा पसलअनुसार ६–१० प्रतिशतसम्म छुट दिने निर्णय भएको छ,’ घिमिरेले भने, ‘हामीबीच लगातार सहमतिको प्रयासपछि अहिले टुंगोमा आएका छौं ।’ करिब १८ दिनदेखि बन्द रहेको मल शुक्रबारदेखि सञ्चालनमा आउने उनले जानकारी दिए । मल सञ्चालनमा आएसँगै ग्राहकको सुविधालाई ध्यानमा राख्दै सामान खरिदमा ६० प्रतिशतसम्म छुट दिइने उनले जानकारी दिए । सहमतिसँगै मलमा व्यापारको वातावरण बन्नेमा आफू आशावादी रहेको मलका जनरल म्यानेजर विश्वप्रकाश मास्केले बताए ।

व्यापारीहरूको मागलाई घरधनीले गरेको सम्बोधनले केही हदसम्म राहत मिलेको रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले बताए । ‘हामीले असोजसम्म अझ व्यापारको स्थिति नसुध्रिउन्जेल छुट गरिदिन अनुरोध गरेका छौं,’ उनले भने, ‘यसका लागि घरधनी र व्यापारीबीच थप छलफल गरेर निर्णय गर्ने भएका छौं ।’ मलका व्यापारीहरूलाई असार मसान्तभित्र घर भाडा बुझाउनेलाई एक महिनाको भाडा छुट गरिएको ब्लुबर्ड मलका प्रबन्ध निर्देशक एवं मल एसोसिएसनका उपाध्यक्ष विनोद तुलाधरले जानकारी दिए ।

केही मल सञ्चालक र त्यहाँका व्यवसायीबीच भाडामा अझै सहमति जुटेको छैन । न्युरोडस्थित पिपल्स प्लाजा, विशाल बजार कम्पनी लिमिटेड र ताम्राकार कम्प्लेक्समा सहमति भएको छैन । मलका व्यापार संघहरूले सञ्चालकसँग लकडाउन अवधिभरको घरभाडा पूर्ण छुट माग गरेका छन् । सञ्चालकले भने यससम्बन्धी ठोस निर्णय गर्न नसकेकाले विवाद नटुंगिएको हो । उपत्यकाभित्र करिब एक सय सपिङ मल छन् । यी मल असार १ देखि सञ्चालनमा आएसँगै भाडाको विषयलाई लिएर सञ्चालक र व्यापारीबीच विवाद सिर्जना भएको हो ।

त्यस्तै लकडाउन अवधिभरको पूरा छुट र बाँकी ५० प्रतिशत छुट मागिएको पिपुल्स प्लाजा व्यापार संघका अध्यक्ष युवराज चापागाईंले बताए । उनले भने, ‘वार्ता चलिरहेकै छ । सकेसम्म चाँडो सहमतिमा जाने प्रयास छ ।’ विशाल बजार व्यापार संघका उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले कम्पनीका प्रमुख कार्यकारी अधिकृतको समय सकिएकाले नयाँ कार्यसमिति नबन्दासम्म कुनै निर्णय हुन नसकेको जानकारी दिए । ताम्राकार व्यापार संघका अध्यक्ष जगत साउदले पनि मल र व्यवसायीबीच छिट्टै सहमति हुने बताए ।

प्रकाशित : श्रावण ९, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?