आयात नहुँदा मोबाइल र ल्यापटप अभाव

नुमा थाम्सुहाङ

काठमाडौँ — कोटेश्वरका हीरालाल चौधरी ल्यापटप किन्न न्युरोड गए । मनपर्ने कम्पनीको ल्यापटप मोडलबारे घरमै बुझेर त्यहीअनुसारको किन्न उनले ५३ हजार रुपैयाँ छुट्याएका थिए । तर न्युरोडको ल्यापटप पसलमा बुझ्दा उनले त्यसको मूल्य व्यवसायीले ६८ हजार रुपैयाँ पुर्‍याइसकेका रहेछन् । अन्त्यमा उनले केही रकम थपे ५८ हजार रुपैयाँमा अर्कै मोडलको ल्यापटप किने ।

आयात नहुँदा मोबाइल र ल्यापटप अभाव

‘मैले किन्ने भनेको ल्यापटपको दाम धेरै भने,’ उनले भने, ‘पसलेले एक थान मात्र छ । लैजाने भए मात्र निकाल्छु भने । मूल्य नघटाएपछि मैले किनिनँ । अन्त्यमा अर्कै मोडलको ल्यापटप किनें ।’ त्यसमा पनि ५ हजार रुपैयाँ बढी तिर्नुपरेको उनले सुनाए । लेखासम्बन्धी काम गर्ने उनलाई कार्यालय प्रयोजनका लागि ल्यापटप चाहिएको थियो ।

‘लकडाउनमा घरैबाट काम गरिरहेको छु । घरमै कम्प्युटर छ । तर बाहिर हिँड्दा ल्यापटप सजिलो हुन्छ,’ उनले भने, ‘पसलेहरूले लकडाउनमा सामान आएको छैन । हामीसँग नि स्टक सकिएको छ । लैजाने भए मूल्य यति पर्छ, मगाइदिन्छु भन्छन् । सामान छैन भन्दै पहिलाको मूल्यभन्दा बढाउनु त भएन नि ?’

अन्तर्राष्ट्रिय उडान नचलेको र चाप बढी भएकाले ल्यापटप, मोबाइललगायत इलेक्ट्रोनिक्स सामान ढुवानी हुन नसकेको व्यवसायीहरूको भनाइ छ । अर्डर गरेको सामान समयमा नआएको हुनाले बजारमा माग बढेको उनीहरू बताउँछन् । लकडाउन खुकुलो भएसँगै ल्यापटपजस्ता इलेक्ट्रोनिक्स सामानको माग बढेको न्युरोडस्थित क्रिस्टल प्रालिका व्यवस्थापक राजन रिमालको भनाइ छ । ‘लकडाउनको चार महिना भइसक्यो, अर्डर गरेको सामान अहिलेसम्म आएको छैन,’ उनले भने, ‘हामीले पनि पहिलाको स्टक नै बिक्री गरिरहेका छौं । नयाँ सामान आएका छैनन् ।’ उनको कम्पनीले डेल, लेनोभो, एसर, एचपीलगायत कम्पनीका ल्यापटप बिक्री गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्य बढेकाले नेपालमा भाउ बढेको व्यवसायीहरू बताउँछन् । डलरको मूल्य बढेको र त्यहीअनुसार किनेर ल्याउँदा महँगो पर्ने उनीहरूको तर्क छ । चीनबाट मात्र सामान आइरहेको, दुबई, थाइल्यान्ड र सिंगापुरबाट सामान कम आएकाले बजारमा अभाव देखिएको बबरमहलस्थित जीएसएम इन्टरनेसनलका सञ्चालक राजेश सिजापतिले जानकारी दिए ।


‘तेस्रो मुलुकबाट आफैंले प्लोन चार्टर गरेर ल्याउन सक्ने अवस्था छैन,’ उनले भने, ‘होलसेलरसँग पि्न स्टक छैन । नयाँ सामान आउन अझै समय लाग्छ ।’ नेपाली बजारमा विभिन्न कम्पनीका ३० हजारदेखि ५ लाख रुपैयाँसम्म पर्ने ल्यापटप उपलब्ध छन् । मोबाइल पनि एक हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्म पर्ने रहेको व्यवसायी बताउँछन् । पछिल्लो समय ४० प्रतिशतसम्म माग बढेको न्युरोडस्थित ताम्राकार हाउसमा रहेको भर्जिन मोबाइल प्रालिका म्यानेजिङ डाइरेक्टर विवेक शर्माले बताए । ‘सामान आज एक दिन आयो भने १० दिन आउँदैन । हरेक दिन नयाँ मोडल आउँछ,’ उनले भने, ‘खुला बजार छैन । सरकारले यसमा सहज वातावरण तयार गरिदिनुपर्‍यो ।’

लकडाउनका बेला अनलाइन कक्षा, विभिन्न अनलाइन बैठकलगायत गतिविधि बढेका छन् । त्यसैले लकडाउन खुकुलो भएको एक महिना नपुग्दै बजारमा मोबाइल, ल्यापटप एवं इन्टरनेटसँग सम्बद्ध सामग्री र विभिन्न स्पेयर पार्ट्सको अभाव देखिएको छ । यसैको मौकामा व्यवसायीले सामान नभएको भन्दै ५ प्रतिशतसम्म मूल्य बढाएर बिक्री गरिरहेको ग्राहकको गुनासो छ ।

ल्यापटप आयात घट्यो, मोबाइल बढ्यो

पछिल्लो समय ल्यापटप आयात घटेको र मोबाइल आयात बढेको देखिएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ को ११ (साउन–जेठ) महिनाको तथ्यांकले यस्तो देखाएको हो । तथ्यांकअनुसार आव ०७५/७६ को ११ महिनासम्ममा २ लाख १७ हजार ३ सय ४१ थान ल्यापटप आयात भएको थियो । आव ०७६/७७ को सोही अवधिमा भने १ लाख ४४ हजार ५ सय ६६ थान ल्यापटप भित्रिएको विभागको तथ्यांक छ । यो अघिल्लो आवको तुलनामा ७२ हजार ७ सय ७५ थानले थोरै हो । आव ०७५/०७६ को ११ महिनासम्ममा ५ अर्ब ९५ लाख रुपैयाँ बराबरको ल्यापटप आयात भएको थियो । आव ०७६/७७ को सोही अवधिमा भने ४ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ बराबरको आएको छ । यसबाट विभागले आव ०७५/७६ मा ६५ करोड १ लाख रुपैयाँ र आव ०७६/७७ मा ५८ करोड ९८ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

आव ०७५/७६ का ११ महिनामा ३९ लाख ६२ हजार ७ सय ३४ थान मोबाइल भित्रिएको विभागको तथ्यांक छ । आव ०७६/७७ को सोही अवधिमा भने १ लाख ९ हजार ९ सय ६५ थानले बढेर ४० लाख ७२ हजार ६ सय ९९ थान मोबाइल भित्रिएको छ । मोबाइल आयात परिमाण बढे पनि मूल्य भने घटेको छ । आव ०७५/७६ को ११ महिनामा १७ अर्ब ८७ करोड २५ लाख रुपैयाँ बराबरको मोबाइल भित्रिएकामा आव ०७६/७७ मा अर्ब ७४ करोड ५४ लाख रुपैयाँ बराबरको आएको छ । यसबाट विभागले आव ०७५/७६ मा ३ अर्ब ३० करोड २६ लाख रुपैयाँ र आव ०७६/७७ मा २ अर्ब ४९ करोड ४१ लाख रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

लकडाउनका कारण डलरको भाउ बढेकाले नेपालमा ल्यापटपको मूल्य १० प्रतिशतदेखि १५ प्रतिशतसम्म वृद्धि भएको क्यान महासंघका अध्यक्ष नवराज कुँवरले बताए । ‘लकडाउनअघि १ सय १४ डलर पुगेको थियो । अहिले १ सय २० देखि २२ सम्म पुगेको छ,’ उनले भने ।

प्रकाशित : श्रावण ७, २०७७ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?