कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्याउ नफल्दा मुगुका किसान चिन्तित 

राजबहादुर शाही

मुगु — छायानाथरारा नगरपालिका–४, ताल्चाका ८२ वर्षीय गोर्ख रावल स्याउ बारीतिर हेरेर निराश हुन थालेका छन् । उनको बारीमा ४ सय बोट स्याउ छन् । तर यस वर्ष कुनै पनि बोटमा स्याउको दाना लागेको छैन । उनकी छिमेकी मायादेवी भामलाई स्याउ नफल्दा जीविकोपार्जर्न कसरी गर्ने भन्ने चिन्ताले सताएको छ ।

स्याउ नफल्दा मुगुका किसान चिन्तित 

उनीहरु मात्र होइन, यस वर्ष स्याउ नफलेपछि छायानाथरारा नगरपालिकाका झन्डै ५ सय किसान समस्यामा परेका छन् । गत जेठ पहिलो साता परेको असिनाले फुल्दै गरेका स्याउमा क्षति पुर्‍याएपछि आसपासका क्षेत्रका स्याउ बगैंचा खाली बनेका हुन् । ‘यसपालि स्याउ नफल्ने भयो,’ बारीमा १ सय ८० बोट स्याउका बोट लगाएकी भामले भनिन्, ‘छोराछोरी पठाउन र घरखर्च टार्न समस्या हुने देखियो ।’ अन्य खाद्यवस्तुको उत्पादन नहुने भएकाले वर्षौदेखि स्याउ बेचेकै रकमले घरखर्च जुटाइरहेको उनले बताइन् ।

रावलले गत वर्ष ३ ट्रक स्याउ बाहिर पठाएर ४ लाख रुपैयाँ कमाएका थिए । ‘यो वर्ष असिनाले रुखमा दाना देख्न मुस्किल भयो,’ उनले भने, ‘अन्नबाली छोडेर सबै जग्गामा स्याउ रोपियो, असिनाले एक दाना पनि स्याउ बाँकी राखेन ।’ उनका अनुसार विगत वर्षमा यतिबेलासम्म लटरम्म स्याउ फलिसकेको हुन्थ्यो । उनले केही वर्षयता गाउँभरिका किसान स्याउबाटै आत्मनिर्भर बनेको बताए ।

यस वर्ष स्याउ नफलेपछि गाउँका झन्डै २ सय परिवार समस्यामा परेको स्थानीय सुत्त भामले बताए । उनीसहित जगत भाम, हरि रोकाया, बिजुल्ली खत्री र बााचे महतराका बारीमा झन्डै ५/५ सय स्याउका बोट छन् । सडक पुगेपछि किसानले स्याउ जिल्लाबाहिर पठाउन थालेका थिए । ‘भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउ खेतीमा लगेका थियौं,’ उनले भने, ‘बारी उजाड भएपछि कसरी घरखर्च चलाउने भन्ने चिन्ता हुन थाल्यो ।’ रोकायाले गत वर्ष २ ट्रक स्याउ सुर्खेत र नेपालगन्ज पठाएका थिए ।

अहिले नगरपालिकाको मइतु, झापार्गाड, माथितुम, झयारीलगायत क्षेत्रमा पनि स्याउका रुख नांगै छन् । स्याउ नफलेपछि किसानले नगरपालिका र कृषि विकास कार्यालयमा क्षतिपूर्ति माग गर्दै निवेदन पेस गर्न थालेका छन् । दाना लाग्ने बेलामा स्याउबारी उजाड बनेको छायानाथरारा नगरपालिका प्रमुख हरिजंग शाहीेले बताए । ‘स्याउ बेचेरै वर्षभरिको खर्च धान्ने किसानलाई समस्या भएको छ,’ उनले भने, ‘नगरपालिकामा किसानका निवेदनको चाङ लाग्न थालेको छ ।’ जिल्ला कृषि विकास कार्यालयका अनुसार मुगुमा वार्षिक २८ देखि ३५ मेट्रिक टन स्याउ उत्पादन हुने गरेको छ ।

प्रकाशित : श्रावण ६, २०७७ १८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?