कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सपिङ मलमा भाडा विवाद चर्किंदै

नुमा थाम्सुहाङ

काठमाडौँ — उपत्यकाका सपिङ मलमा व्यापारी र सञ्चालकबीच भाडा छुटको विषयलाई लिएर विवाद सिर्जना भएको छ । लकडाउन अवधिभर (चैत–असार) को भाडा छुट हुनुपर्ने मलस्थित व्यापारीहरूको माग छ । लकडाउनमा व्यापार ठप्प भएकाले भाडा तिर्न नसक्ने उनीहरू बताउँछन् । मल सञ्चालकले भने छुट दिन नसक्ने भन्दै भाडा बुझाउन दबाब दिइरहेका छन् ।

सपिङ मलमा भाडा विवाद चर्किंदै

व्यापारीहरूका माग सम्बोधन गर्न नसक्ने अडानमा मल सञ्चालकहरू रहेको र भाडा छुट नभए आन्दोलन गर्ने व्यापारीहरूको चेतावनीले उपत्यकाका प्रायः सपिङ मलमा यति बेला विवाद चर्किएको छ । यहाँका सिभिल मल, विशाल बजार, पिपल्स प्लाजा, ताम्राकार कम्प्लेक्स र रञ्जना ट्रेड सेन्टरमा सटरको भाडालाई लिएर छलफल जारी छ । लकडाउन अवधिभरको भाडा छुटलाई लिएर सिभिल मलका व्यवसायीले सञ्चालकलाई असार २६ मै सटरको चाबी जिम्मा लगाइसकेका छन् । विशाल बजारका व्यवसायीले मंगलबार कम्पनीलाई लकडाउन अवधिभरको भाडा पूर्ण छुट गर्न माग राख्दै ज्ञापनपत्र बुझाएका छन् । रञ्जना, पिपल्स र ताम्राकारमा पनि यस विषयमा छलफल जारी रहेको बताइएको छ ।

विशाल बजार कम्पनीलाई लकडाउन अवधिभरको भाडा शतप्रतिशत छुटको माग गर्दै ज्ञापनपत्र बुझाइएको विशाल बजार व्यापार संघका उपाध्यक्ष नरेन्द्रकुमार गुप्ताले जानकारी दिए । ‘कम्पनीबाट हामीलाई चैतदेखि असारसम्मको भाडा छुट गर्न नसक्ने भन्दै बहाल तिर्न भनेर चिठी आयो,’ उनले भने, ‘हामीले एक साताभित्र घरभाडा छुटसम्बन्धी निर्णय नगरे आन्दोलन गर्नेछौं ।’

सहमतिका लागि मल सञ्चालकहरूको निर्णय पर्खिरहेको सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरेले बताए । ‘हामी १ सय ५ व्यवसायीले आफ्नो सटरको चाबी बुझाइसकेका छौं,’ उनले भने, ‘हाम्रो आन्दोलन जारी छ । सहमतिका लागि कोसिस गरिरहेका छौं ।’ रञ्जना व्यापार संघका उपाध्यक्ष विनय अग्रवालले पनि सटरधनी र व्यापारीहरूबीच सहमतिका लागि प्रयास गरिरहेको दाबी गरे । ‘लकडाउन अवधिभरको ५० प्रतिशत भाडा छुट गर्नेसम्बन्धी समझदारी भइसकेको छ,’ उनले भने, ‘यसलाई कसरी कार्यान्वयन गर्नेबारे अन्योल छ । चाँडै छलफल गरेर समाधान निकाल्छौं ।’

उपत्यकामा करिब एक सय सपिङ मल छन् । ती मल असार १ बाट पुनः सञ्चालनमा आएका हुन् । तर एक महिना नबित्दै भाडा छुटलाई लिएर मल सञ्चालकसँग व्यापारीको असन्तुष्टि बढ्दै गएको छ । मलहरूमा देखिएको समस्यालाई सञ्चालक आफैंले आफ्नै किसिमले सम्बोधन गरिरहेको मल एसोसिएसनका महासचिव राजेश श्रेष्ठले बताए । ‘सबैको आ–आफ्नो समस्या छन्,’ उनले भने, ‘यसलाई मल सञ्चालक र त्यहाँका व्यवसायीहरूले समझदारीमा समस्या समाधान गर्नुपर्छ ।’ मल सञ्चालनमा आए पनि एक महिनाको व्यापारले त्यही महिनाको बहाल तिर्न नसक्ने अवस्था भएपछि कसरी भाडा तिर्ने भन्नेमा व्यापारी चिन्तित छन् । उनीहरूले भाडा छुट गर्न विभिन्न दबाब दिइरहेका छन् ।

आईप्लेक्सले दियो ६० प्रतिशत भाडा छुट

बानेश्वरस्थित आईप्लेक्स मलले आफ्ना व्यवसायीलाई घरभाडामा ६० प्रतिशत छुट दिने भएको छ । चैतदेखि असारको भाडामा ६० प्रतिशत छुट दिने निर्णय गरिएको मलका अध्यक्ष प्रभुशमशेर जंगबहादुर राणाले जानकारी दिए । साउन र भदौको भाडामा ५० प्रतिशत छुट दिने निर्णय पनि भएको उनले बताए । ‘साउन १५ भित्र चार महिनाको भाडा बुझाए ६० प्रतिशत छुट दिने निर्णय भएको छ,’ उनले भने, ‘नभए ५० प्रतिशत मात्र भाडा छुट गर्छौं भनेका छौं ।’ सरकारले गत चैत ११ देखि साउन ७ सम्मलाई लकडाउन घोषणा गरेको छ । आईप्लेक्स मल सञ्चालनमा आएको नौ महिना भएको छ । मलमा ४० वटा फेन्सी वेयर, फुट वेयरलगायतका सटर रहेका छन् । लगातारको लकडाउनका कारण व्यापारीहरूलाई पनि समस्यामा भएकाले मलका तर्फबाट गर्न सक्ने सहयोग गरिएको उनको भनाइ छ । ‘झगडा गरेर बसे मल बन्द हुने अवस्था आउँछ,’ उनले भने, ‘एउटा सहमतिमा गएर निर्णय गर्नुपर्‍यो । हामीले पनि त्यही गरेका हौं ।’ मल सञ्चालकसँग मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको मलका व्यापारी धीरेन्द्र श्रेष्ठले बताए । ‘लकडाउनका कारण व्यापार ठप्प छ,’ उनले भने, ‘हाम्रो सम्पत्ति भनेको पसल हो । मलले गरेको यो निर्णले हामीलाई धेरै राहत मिलेको छ ।’

सीजी ल्यान्डमार्कमा ४ महिनाको छुट

चितवनको भरपुरस्थित सीजी ल्यान्डमार्कले व्यवसायीहरूलाई चैतदेखि असारसम्मको भाडा छुट दिने भएको छ । उद्यमी एवं सांसद विनोद चौधरीको निर्देशनमा ल्यान्डमार्कले भाडा छुट दिने निर्णय गरेको हो । ल्यान्डमार्क चौधरी अध्यक्ष रहेको सीजी ग्रुप ग्लोबलअन्तर्गतको व्यापारिक कम्प्लेक्स हो । लकडाउनका कारण समस्या झेलिरहेका मझौला व्यवसायीलाई राहत दिन भाडा छुटको निर्देशन दिइएको चौधरीले बताए ।

प्रकाशित : श्रावण १, २०७७ ०६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?