कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दैनिक उपभोग्यसहितका वस्तुकाे गुणस्तरमा खेलबाड

राजु चौधरी

काठमाडौं — उद्योगीले बिक्री गर्दै आएको सिमेन्ट, स्टिल, खाना पकाउने ग्यास, तेल, बिस्कुटलगायत वस्तुमा व्यापक खेलबाड भएको पाइएको छ । गुणस्तर तथा नापतौल विभागले एक वर्षको अवधिमा गरेको नमुना परीक्षणका क्रममा सिमेन्ट उद्योगले पीपीसी सिमेन्टलाई ओपीसी सिमेन्ट भनेर बिक्री गरेको अनि ओपीसी र पीपीसी सिमेन्टमा मिसावट गरी उपभोक्तालाई बिक्री गरेको भेटिएको हो । 

दैनिक उपभोग्यसहितका वस्तुकाे गुणस्तरमा खेलबाड

ग्यास उद्योगीहरूले पनि चरम लापरबाही गरेको पाइएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए । कतिपय उद्योगमा ग्यास सिलिन्डरको भल्ब, लिकेज परीक्षणको सुविधा भए पनि हेलचेक्य्राइँ गरेको भेटिएको उनको भनाइ छ । ‘विगतको तुलनामा केही सुधार गर्न खोजे पनि पटकपटक त्यही समस्या देखियो,’ उनले भने, ‘उद्योगीहरूले बढी लापरबाही गरेको देखिन्छ ।’ परीक्षण गरिएको खानेतेल, स्टिल र बिस्कुट पनि नेपाल गुणस्तरअनुसार नपाइएको विभागले जनाएको छ । आर्थिक वर्ष ०७६/७७ मा करिब १ हजार नमुना परीक्षण गरिएको थियो । बजारबाट ६ सय र उद्योगबाट ४ सय नमुना ल्याइएको थियो । त्यस क्रममा केहीले जानीजानी गल्ती गरेको पुडासैनीले बताए ।ती व्यवसायीको इजाजतपत्र रद्द गरिएको उनले जानकारी दिए ।

विभागका अनुसार अर्घाखाँची सिमेन्ट प्रालिले उत्पादन गर्ने ओपीसी सिमेन्ट नेपाल गुणस्तरअनुरूप थिएन । उक्त उद्योगलाई असोज १४ मा स्पष्टीकरण मागिएको थियो । साथै सम्बन्धित ब्याचको सम्पूर्ण सिमेन्ट फिर्ता गर्न तथा गुणस्तर यकिन गरी मात्र बिक्रीवितरण गर्न पत्र पठाइएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि पुस २० को निर्णयबाट इजाजतपत्र स्थगन गरिएको विभागले जनाएको छ । पछि उद्योगले आवश्यक सुधार गरेपछि इजाजत फुकुवा गरिएको छ । अरनिको सिमेन्ट प्रालिको ओपीसी सिमेन्टमा पनि उस्तै समस्या थियो । उक्त उद्योगलाई पनि बिक्रीवितरण रोक्न र स्पष्टीकरण पेस गर्न विभागले पत्र पठाएको थियो । पछि बजारमा संकलित नमुनाको परीक्षण नतिजा गुणस्तर नै भेटिएकाले बिक्रीका लागि फुकुवा गरिएको विभागले बताएको छ ।

एमजेपी सिमेन्ट उद्योगले उत्पादन गर्ने सिमेन्टमा आईआरको मान गुणस्तर मापदण्डअनुसार नभएपछि विभागले फागुन १३ मा स्पष्टीकरण सोधेको थियो । साथै बजार पठाइएका उत्पादन फिर्ता लिन आदेश दिएको थियो । उद्योगबाट चित्तबुझ्दो जवाफ नआएपछि विभागले चैत १० मा उद्योगको इजाजतपत्र स्थगन गरेको छ ।

नेपाल अल्ट्राटेक सिमेन्टको ओपीसी सिमेन्ट पनि गुणस्तरअनुसारको नभएपछि विभागले बजारबाट उद्योगका उत्पादन फिर्ता लिन, ओपीसीको बिक्रीवितरण बन्द गर्न र स्पष्टीकरणसहित जवाफ पेस गर्न पत्र पठाएको थियो । पछि उद्योगको स्थलगत निरीक्षणबाट संकलित नमुना नेपाल गुणस्तरअनुरूप नै पाइएकाले उद्योगको कारबाही फुकुवा गरिएको छ । नेपाल अम्बुजा सिमेन्ट उद्योग प्रालिको उत्पादन श्रीराम ओपीसी, जानकी सिमेन्टको ओपीसी, चितवन सिमेन्ट प्रालिको उत्पादन पीपीसी, हिमालय सिमेन्ट र विशाल सिमेन्टमा पनि उस्तै समस्या देखिएको विभागले जनाएको छ ।

खाना पकाउने ग्यासमा पनि उद्योगीले चरम लापरबाही गरेको पाइएको छ । एनएन चिह्न प्राप्त गरेकै सिद्धार्थ, ओम र श्रीकृष्ण ग्यासले उपभोक्तमाथि खेलबाड गरेको भेटिएको हो । विभागका अनुसार सिद्धार्थ ग्यास उद्योगमा ग्यासको भल्ब, लिकेज परीक्षणको व्यवस्था नै थिएन । उक्त बोटलिङ कार्य बन्द गरिएकामा कात्तिक १५ को निर्णयबाट फुकुवा गरिएको छ । ओम ग्यास उद्योगमा भल्ब, लिकेज परीक्षण गर्ने मेसिन भए पनि परीक्षणबिनै बजारमा पठाउने गरिएको थियो । विभागले गत कात्तिक ७ मा बोटलिङ बन्द गरिदिएको थियो ।

पछि गुणस्तरअनुसार पाइएपछि बोटलिङ कात्तिक १५ गते पुनः फुकुवा गरिएको विभागले जनाएको छ । नमस्ते ग्यास उद्योगले बोटलिङ प्लान्टमा सेफ्टी क्याप नलगाई सिलिन्डर बिक्रीका लागि पठाएको भेटिएको थियो । उक्त उद्योगलाई पनि विभागले स्पष्टीकरण मागेको थियो । उद्योगले अहिलेसम्म एनएस चिह्न प्राप्त गरेको छैन । यस्तै श्रीकृष्ण, साइबाबा, भानु र त्रिवेणी ग्यास उद्योगले पनि बजारमा पठाउने ग्यास गुणस्तर मापदण्डअनुसार नभएको पाइएको विभागको दाबी छ । यी उद्योगलाई पनि विभागले स्पष्टीकरण सोधेको थियो ।

स्टिल उद्योगको पनि उस्तै समस्या रहेको विभागले बताएको छ । विभागका अनुसार बारामा रहेको हुलास स्टिलले म्यादभित्र नवीकरण गरेको थिएन । ०७६ साउन १३ मा उद्योगको इजाजत रद्द गरिएको थियो । पछि नवीकरण गरेपछि मंसिरमा पुनः नयाँ इजाजतपत्र दिइयो । बारास्थित जगदम्बा स्टिल्स प्रालिको जीआई तार पनि नेपाल गुणस्तरअनुसार भेटिएन । उक्त उद्योगलाई असार १८ मा स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरण चित्तबुझ्दो नभएपछि भदौ १७ मा इजाजतपत्र स्थगन गरियो । पछि गुणस्तरअनुसारको पाइएपछि असोज ७ मा इजाजत फुकुवा गरिएको विभागको भनाइ छ । नेबिको प्रालि काठमाडौंका उत्पादन नेबिको खाजा बिस्कुट, थिन आरारोट तथा कोकोनट बिस्कुट गुणस्तर ऐनअनुसार नभेटिएको विभागले जनाएको छ ।

प्रकाशित : असार ३१, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?