कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गौतम बुद्ध विमानस्थलको म्याद थपेको थप्यै

 विमानस्थलका भौतिक संरचना तयार भए पनि  प्राविधिक नआउँदा आयोजनामा ढिलाइ
माधव ढुंगाना

भैरहवा — कोरोना संक्रमणले पारेको विश्वव्यापी असरले निर्माण सम्पन्न हुने चरणमा पुगेको गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल प्रभावित बनेको छ । पछिल्लोपटक म्याद थप गरी ३१ मार्च ०२० सम्म निर्माण सक्ने गरी तीन महिनाभित्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा सञ्चालन गर्ने तयारी गरिएको आयोजना निर्माण म्याद पुनः थप्ने तयारी गरिएको छ ।

गौतम बुद्ध विमानस्थलको म्याद थपेको थप्यै

केही उपकरण ढुवानी र उपकरण जडानका लागि तेस्रो मुलुकबाट प्र्राविधिक आउन नसक्दा आयोजना निर्माण अवधि बढाउनुपर्ने बाध्यता आइलागेको राष्ट्रिय गौरव आयोजनाका निर्देशक प्रदीप अधिकारीले जानकारी दिए । ‘कोरोना संक्रमणले पारेको विश्वव्यापी असरले उपकरण र जडान गर्ने प्राविधिक ल्याउन नसकिएपछि निर्माण म्याद थप्नुको विकल्प रहेन,’ उनले भने, ‘अब डिसेम्बरसम्मका लागि म्याद थप्ने तयारी छ ।’ यसका लागि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास विकास बैंकसँग सहमति भएको र म्याद थपको प्रक्रियाले चाँडै आधिकारिकता पाउने उनले जनाए । विमानस्थलको भौतिक निर्माणतर्फ ठेक्का (आईसीपी वान) चिनियाँ ठेकेदार कम्पनी नर्थवेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले लिएको हो । आयोजनाको एयर ट्राफिक, सञ्चार र मौसम व्यवस्थापनको उपकरणसम्बन्धी ठेक्का (आईसीपी टू) थाइल्यान्डको एरो थाई कम्पनीले लिएको हो ।

यसपटक थपिएपछि चिनियाँ ठेकेदार कम्पनीलाई म्याद थप गरिएको पाँचौं पटक हुनेछ । भूकम्प, मधेस आन्दोलन, नाकाबन्दी, ठेकेदार र सहठेकेदारबीचको विवादलगायत कारणले आईसीपी वानतर्फको ठेक्काको म्याद यसअघि थपिँदै आएको थियो । आईसीपी वान र टूतर्फको निर्माण एकअर्कासँंग जोडिएकाले दुवै आयोजनाको म्याद एकै पटक एउटै समायावधिका लागि थपिने निर्देशक अधिकारीले जनाए । आईसीपी टूतर्फको उपकरण करिब ९० प्रतिशत आयोजनास्थलमा आइसकेका छन् । बाँकी उपकरण भारतको कोलकाता बन्दरगाह हुँदै समुद्री मार्गबाट ल्याउन सकिने सम्भावना रहे पनि प्राविधिक आउन भने समस्या छ । ‘अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन नहुँदासम्म प्राविधिक आउन कठिनाइ देखियो,’ उनले भने, ‘आयोजनास्थलमा भौतिक निर्माणतर्फका काम करिब सकिएकाले उपकरण जडानसम्बन्धी काम मात्र बाँकी छन् ।’

६ महिना अघिसम्म द्रुत गतिमा निर्माण कार्य अघि बढेको यो आयोजना चीनको वुहानमा सुरु भएको कोरोना संक्रमण विस्तारसँगै प्रभावित बनेको हो । नयाँ वर्ष मनाउन आयोजना स्थलबाट घर गएका चिनियाँ कामदार त्यहाँ कोरोना संक्रमण फैलिएर सबै कलकारखाना, यातायात, विमानस्थल बन्द भएपछि फर्किन पाएनन् । चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट आयोजनाका लागि उपकरण पनि ल्याउन सकिएन ।

चिनियाँ ठेकेदार कम्पनीले टर्मिनल भवनमा जडान हुने ब्यागेज ह्यान्डलिङ सिस्टम (कन्भियर बेल्ट) र धावनमार्गका लाइट ल्याउन नसकेको हो । टर्मिनल भवनभित्र जडान गर्नुपर्ने एयरकन्डिसन, एक्सरे, विमान उडानबारे यात्रुलाई सूचना दिने, टेलिफोन, इन्टरनेट, सीसीटीभी, वारुणयन्त्रसम्बन्धी सूचना दिने कतिपय उपकरण आयोजनास्थलमा आइसके पनि जनशक्ति अभावमा जडान हुन सकेका छैनन् । कोरोना संक्रमणको असर आयोजनालाई नपरेको भए यतिबेलासम्म विमानस्थल सञ्चालनयोग्य बनेर परीक्षण उडान भइसक्ने आयोजनाका प्रमुख प्रवेश अधिकारीको भनाइ छ । ‘कोरोना संक्रमणको प्रतिकूल अवस्थामा पनि आयोजनाको काम एक दिन पनि रोकिएन,’ उनले भने, ‘तर उपकरण र जडानका लागि प्राविधिक आउन नसक्दा लक्ष्यअनुरूपको उल्लेख्य प्रगति हुन सकेन ।’

लकडाउनका कारण रोकिएका चिनियाँ ठेकेदार कम्पनीका तर्फबाट आयोजना स्थलमा ल्याउनुपर्ने उपकरण पनि बिस्तारै आउन थालेको उनले बताए । ‘एक्सरे मेसिन, केबल, एयरकन्डिसनका उपकरण, एप्रोन लाइट केही मात्रामा आइसकेका छन्,’ उनले भने, ‘रसुवागढी नाका खुलेपछि केही आउने क्रममा छन् ।’ तर, प्राविधिक भने तत्काल आउन सम्भव नभएको उनको भनाइ छ । आयोजनामा भौतिक निर्माणतर्फका ठूला संरचना धावनमार्ग वरिपरिको करिब १० किमि लम्बाइको सडक निर्माण जारी छ । अन्य ठूला संरचना तयार भएर फिनिसिङका क्रममा रहेको उनले जानकारी दिए । आयोजनाको समग्र निर्माण कार्य प्रगति ९१ प्रतिशत नाघेको छ ।

प्रकाशित : असार २४, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?