कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेको कारोबार प्रणालीमा समस्या

अनलाइन कारोबार मात्र खुला गरिए पनि कारोबार प्रणालीमा समस्या देखिँदा लगानीकर्ता ब्रोकर कार्यालय धाउन थाले
यज्ञ बञ्जाडे

काठमाडौँ — नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएकाले सहज कारोबार गर्न नपाइएको लगानीकर्ताले गुनासो गरेका छन् । लकडाउनका कारण बन्द भएको बजार खुल्नुअघि कारोबार प्रणालीमा भएका सबै समस्या समाधान भएको बताइए पनि व्यवहारमा यथावत् भएको उनीहरूको भनाइ छ ।

नेप्सेको कारोबार प्रणालीमा समस्या

नेप्सेको वेबसाइट नखुल्नेदेखि फ्लोर सिट नदेखाउने, एउटा संख्यामा सेयर अर्डर गर्दा अर्कै देखाउने, खातामा सेयर भए पनि नदेखाउने, अर्डर गरेको सेयर संख्या कम वा धेरै देखाउनेलगायत समस्या नेप्सेको कारोबार प्रणालीमा देखिएको उनीहरूको आरोप छ ।

‘समस्या नेप्सेको वेबसाइटबाटै सुरु हुन्छ, जुन हरेक पटक खोल्दा कम्तीमा ५/७ मिनेट खुल्दैन,’ नाम नबताउने सर्तमा एक लगानीकर्ताले भने, ‘वेबसाइट सहज नखुल्दा लगानीकर्ता सूचनाबाट वञ्चित हुन्छन् । आज मैले एउटा कम्पनीको ४ हजार कित्ता सेयर खरिदका लागि अर्डर पोस्ट गरें । पहिलो पटक सबमिट देखाएन, पुनः दोस्रो पटक सबमिट भयो, पछिमात्र थाहा भयो, सिस्टममा ८ हजार कित्ता सेयर सबमिट भइसकेको रहेछ ।’

अहिले अनलाइन प्रणालीमार्फत मात्र सेयर किनबेच गर्न पाइन्छ । अफलाइन (ब्रोकरलाई अर्डर गरेर सेयर किनबेच गर्न लगाउने) मार्फत कारोबार गर्न पाइँदैन । अनलाइन कारोबारका लागि लगानीकर्ताले ब्रोकरमार्फत ‘युजर नेम र पासवर्ड’ लिनुपर्छ । त्यसपछि अनलाइनमार्फत आफैं कारोबार गर्नुपर्छ ।

कोरोनाको जोखिम कायमै रहेकाले ब्रोकर कार्यालयमा भीड नगर्न अनलाइन कारोबारमात्र खुला गरिएको हो । तर कारोबार प्रणालीमा समस्या भएपछि लगानीकर्ता ब्रोकर कार्यालय नै जान थालेको नेपाल लगानीकर्ता पुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले जानकारी दिइन् । ‘सोमबार म दुई–तीनवटा ब्रोकर कार्यालय गएकी थिएँ, लगानीकर्ता त्यहीँ आएरै कारोबार गरिरहेको भेटियो,’ उनले भनिन्, ‘कारोबार प्रणालीमा धेरै समस्या आएकाले लगानीकर्ता मर्कामा परेका छन् ।’

पछिल्लो पटक बजार खुल्नुअघि धितोपत्र बोर्डसँग भएको सम्झौताअनुसार बजारका सबै समस्या समाधान गर्ने भनिए पनि त्यो पालना नभएको उनको आरोप छ । ‘सेबोनले लगानीकर्ता झुक्यायो, बजारका समस्या ज्युँका त्युँ छन्,’ उनले भनिन्, ‘हामीलाई त्यत्तिकै सम्झौता गरायो ।’ कारोबार प्रणालीमा अहिले पनि फ्लोर सिट नदेखाउने, एउटा संख्यामा सेयर अर्डर गर्दा अर्कै देखाउने, खातामा सेयर भए पनि नदेखाउने, अर्डर गरेको सेयर संख्या कम वा धेरै देखाउनलगायत समस्या रहेको उनले बताइन् ।

सेयर कारोबार प्रणालीमा समस्या आएको नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पनि स्विकारेको छ । ‘प्रणालीमा समस्या भएको धेरै गुनासो आएको छ,’ सेबोनका प्रवक्ता नीरज गिरीले भने, ‘यथाशीघ्र समाधानका लागि नेप्सेलाई आग्रह गरेका छौं ।’ केही दिनयता नेप्सेको कारोबार प्रणालीमा समस्या देखिएको स्टक ब्रोकर्स एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि बताए । ‘केही समस्या देखिएका छन्, लकडाउनका बेला सिस्टममा केही अपडेट गरिएको थियो, त्यसपछि केही समस्या देखिएका छन्,’ उनले भने, ‘लगानीकर्ताले अर्डर पोस्ट गर्दा नहुने, खातामा सेयर नदेखिने, फ्लोर सिट नखुल्नेलगायत समस्या देखिएको छ ।’ यही कारण ब्रोकरको सिस्टम धेरै ढिलो (स्लो) हुने गरेको छ ।

नेप्सेले भने कारोबार प्रणालीमा समस्या नभएको दाबी गरेको छ । लगानीकर्ता अनलाइन कारोबारमा आउन नचाहेकाले समस्या सिर्जना भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘सुरुमा इन्टरनेटका कारणले वेबसाइटमा समस्या थियो,’ उनले भने, ‘सिस्टममा केही समस्या छैन, अनलाइन कारोबार आउन नचाहने लगानीकर्ताले समस्या भनेर हल्ला फैलाएका हुन् ।’ कुनै लगानीकर्तालाई केही समस्या भए नेप्सेमा आएर समाधान गर्न पनि उनले सुझाए ।

लकडाउनपछि खुलेको बजारमा सर्टसेल (खातामा सेयर नहुँदा पनि किनबेच गर्न पाइने) बन्द गरिएको छ । अहिले सेयर कारोबारअघि लगानीकर्ताको खातामा पर्याप्त सेयर छ कि छैन भनेर जाँच हुन्छ । पर्याप्त सेयर नभए कारोबार रद्द हुन्छ । यसअघि अफलाइन कारोबार हुँदा ‘सर्टसेल’ गर्न पाइने व्यवस्था थियो । उक्त व्यवस्था लगानीकर्तालाई चित्त नबुझेकाले समस्या देखाएको नेप्सेको आरोप छ । अहिले एक जना लगानीकर्ताले एकै दिन दुईभन्दा बढी सेयर ब्रोकरमार्फत कारोबार गर्न पाउँदैनन् । नयाँ ब्रोकरसँग कारोबार सुरु गर्दा पुरानोसँगको सबै हरहिसाब (रकम, सेयर सबै) फर्छ्योट गर्नुपर्छ ।

पुरानोसँगको हिसाब बाँकी नै रहेको अवस्थामा नयाँ ब्रोकरमार्फत कारोबार गर्न अहिलेको सिस्टमले नदिने भएकाले लगानीकर्ताले त्यसलाई समस्याका रूपमा औंल्याएको साउदको भनाइ छ । यही कारण नेप्सेले विज्ञप्तिमार्फत सर्वसाधारणलाई कारोबार प्रणालीमा समस्या नभएकोबारे प्रस्ट्याएको छ । कारोबार प्रणालीमा समस्या छ भने पनि सोमबार नेप्से ३३ अंकले बढेर १ हजार २ सय ९८.७३ बिन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा यो २.६३ प्रतिशत बढी हो । सोमबार करिब साढे १७ हजार कारोबारबाट १ सय ७६ कम्पनीका २७ लाख ४१ हजार कित्ता सेयर किनबेच भए । त्यसबाट ९२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । सो दिन सेयर बजारको आकार १७ खर्ब ३ अर्ब रुपैयाँ कायम भएको छ ।

प्रकाशित : असार २३, २०७७ ०६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?