कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

पर्यटक पर्खिरहेछन् व्यवसायी

भन्छन्, ‘हाम्रा मुख्य ग्राहक विदेशी पर्यटक हुन्, उनीहरू नआएसम्म व्यवसाय चल्दैन ।’
नुमा थाम्सुहाङ

काठमाडौँ — ठमेलका हस्तकला व्यवसायी स्वप्निल महर्जनले लकडाउनयता व्यापार गर्न सकेका छैनन् । ठमेल, ज्याठास्थित चार वर्षदेखि हेरिटेज आर्ट एन्ड क्राफ्ट सञ्चालन गर्दै आएका उनले ‘वुडन मास्क’ (काठको मखुन्डो) बनाई बिक्री गर्छन् ।

पर्यटक पर्खिरहेछन् व्यवसायी

उनका मुख्य ग्राहक युरोप र अमेरिकाका पर्यटक हुन् । लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि उनले आफ्ना सामान पर्यटकलाई बेच्न पाएका छैनन् ।

‘नयाँ पर्यटक छैनन् । अन्तर्राष्ट्रिय उडान बन्द छ । यस्तो बेला आउन सक्ने अवस्था पनि छैन,’ उनले भने, ‘विदेशी पर्यटकले नेपाली हस्तकलाका सामान मन पराउँछन् । हाम्रा मुख्य ग्राहक नै तिनै हुन् ।’ उनले काठका बुद्ध, हात्ती, ड्र्यागन, भैरव र गणेशका मुकुट बनाउँछन् । आफ्नो पसलमा न्यूनतम ४ सय ५० रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्मका हस्तकलाका सामान भएको उनले जानकारी दिए ।

‘नोभेम्बर र डिसेम्बर महिना पर्यटक आउने मुख्य सिजन हुन् । अन्य समय अर्डर लिने र सामान पठाउने गर्थ्यौं,’ महर्जनले भने, ‘लकडाउनअघि महिनामा १० लाख रुपैयाँसम्म कारोबार हुन्थ्यो । अहिले पसलमा मोबाइल चलाएर बस्नुपरेको छ ।’ दिनभर पसलमा सरसफाइ, मुकुटहरूमा रङरोगन गर्ने र फिल्म हेरेर समय बिताइरहेको उनले बताए । ‘अहिले अनलाइन व्यापार राम्रो छ । मैले पनि कोसिस गरिरहेको छु,’ उनले थपे ।

ठमेलकै अर्का व्यवसायी सञ्जीव लामिछानेले ह्याम्पका सामग्री बनाउँछन् । उनले १८ वर्षदेखि क्रिएसन हेम्प सप चलाइरहेका छन् । उनले ह्याम्पका ब्याग, टोपीलगायत सामग्री बिक्री गर्छन् । उनका ग्राहक पनि विदेशी पर्यटक नै हुन् । होलसेलर व्यवसायी उनले युरोप, अस्ट्रेलिया र अमेरिकामा सामान निर्यात गर्ने गरेको जानकारी दिए । दिनको खुद्रा व्यापार २५ हजार र महिनाको १० लाख रुपैयाँबराबरका सामान बाहिर पठाउने गर्ने गरेकामा यति बेला खाली बस्नुपरेको उनको भनाइ छ ।

‘व्यापार ठप्प छ । स्टक सामानबाट काम चलाइरहेका छौं,’ उनले भने, ‘विदेशी पर्यटकलाई लक्ष्य गरेर हामीले सामान बनाएका हुन्छौं । त्यसैले व्यापार गर्न विदेशी नै चाहिन्छ । आन्तरिक पर्यटकले यो व्यवसाय धान्दैन ।’ बिस्तारै सबैको आर्थिक अवस्था सुधार हुँदै गएपछि पहिला जस्तै राम्रो व्यापार गर्न सकिने आशा पलाएको उनले बताए ।

ठमेलमै ३० वर्षदेखि ओकिल ह्यान्डी क्राफ्ट सेन्टर सञ्चालन गर्दै आएका सुनील खनालले पनि व्यापार नभएर समस्या भएको गुनासो गरे । नेपाली सुतीका कपडा बनाउने उनको आफ्नै गार्मेन्ट फ्याक्ट्री छ । गार्मेन्टले बच्चादेखि वृद्धवृद्धासम्मका सबै उमेरसमूहलाई मिल्ने खालका कपडा उत्पादन गर्छ । ‘व्यापार नभएपछि कर्मचारी पाल्न नि समस्या छ । पसलमा स्टक सामान मिलाएर बसिरहेका छौं,’ उनले भने, ‘मानिस सबै गाउँ गएका छन् । यहाँकैलाई सामान बेचेर व्यापार धानिँदैन । बाहिरबाट मानिस आउनुपर्छ ।’ लकडाउन सुरु भएपछि अनलाइनबाट कपडा बेच्न थालिएको उनले जानकारी दिए । लकडाउनमा घरमा खाली बस्नुभन्दा व्यापार हुने आसले पसल खोल्ने गरेको उनको भनाइ छ ।

ठमेल सातघुम्ती चोकस्थित ओम गणेशा ह्यान्डी क्राफ्टकी सञ्चालक कमला शिवाकोटीले बिट्स माला, ब्रासलेट बनाउने र बिक्री गर्छिन् । उनले पनि विदेशी पर्यटकमा भर परेका ठमेलका व्यवसायी अहिले समस्यामा परेको बताइन् । लकडाउनअघिसम्म दिनको १५ हजार रुपैयाँसम्म व्यापार गर्ने गरेकामा अहिले खाली बस्नुपरेको उनको गुनासो छ ।

‘दिनभर खाली भएको समयमा नयाँ मालाका डिजाइन बनाउने गरेका छौं,’ उनले भनिन्, ‘लकडाउनपछि व्यवसाय अलिक राम्रो हुन्छ जस्तो लाग्छ । घरभित्र धेरै दिन थुनिएर बस्दा मानिसलाई बाहिर घुम्ने रहर हुन्छ ।’ अन्तर्राष्ट्रिय उडान सहज भए पर्यटक आउने वातावरण हुने उनले सुनाइन् ।

विदेशी पर्यटकहरूले नेपाली हस्तकलाका सामग्री बढी मन पराउँछन् । नेपाली हातले बनेका फेल्ट, मूर्ति, थाङ्का, काठका वस्तु, नेपाली कपडालगायत सामग्री उनीहरूको रोजाइमा पर्ने गर्छन् । नेपालबाट आफ्नो देश फर्किंदा चिनोस्वरूप उनीहरूले यी सामान किन्ने गरेका हुन् । पर्यटकको चहलपहल भइरहने ठमेलमा फाट्टफुट्ट मात्र ह्यान्डी क्राफ्टका पसल खुलेका छन् । खुलेकामा पनि ग्राहक छैनन् ।

ठमेल क्षेत्रमा नेपाली हस्तकला र अन्य गरेर १० हजार व्यवसायी छन् । तीमध्ये २ सय ७० व्यवसायी विस्थापित भइसकेका ठमेल पर्यटन विकास परिषद्ले जनाएको छ । विदेशी पर्यटकले धानेको व्यवसाय अहिले नाजुक अवस्थामा पुगेको उनीहरूको भनाइ छ । व्यवसाय सुध्रिन अन्तर्राष्ट्रिय उडान सहज हुनुपर्ने उनीहरू बताउँछन् ।

प्रकाशित : असार २३, २०७७ ०६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?