सलहले पहाडमा बढी क्षति

प्रदेश ब्युरो

काठमाडौँ — शनिबार प्रवेश गरेको सलहले प्रदेश ५ का पहाडी क्षेत्रका बालीनालीमा बढी क्षति पुर्‍याएको छ । तराईमा तरकारी र पहाडमा मकै, तरकारी र धान नष्ट गरेको छ । बुधबार कर्णाली प्रदेश र हिमालपारिको मुस्ताङ पनि सलह पसेको छ ।

सलहले पहाडमा बढी क्षति

दाङका विभिन्न ठाउँमा मंगलबार र बुधबार सलह पसेर क्षति पुर्‍याएको छ । जिल्लामा ५ सय ९० हेक्टरमा लगाएको बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र घोराहीले जनाएको छ । मकै, तरकारी र धानमा क्षति पुर्‍याएको केन्द्र प्रमुख सन्देश धितालले बताए ।

घोराही र तुलसीपुर उपमहानगरपालिका, शान्तिनगर, बंगलाचुली र राप्ती गाउँपालिकामा धेरै क्षति पुगेको उनको भनाइ छ । ‘मंगलबार र बुधबार सलहले क्षति पुर्‍याएको छ । नियन्त्रणका लागि किसान सक्रिय भएका छन्,’ उनले भने, ‘धूवाँ र आवाज निकाल्ने काम भइरहेको छ । सलह भगाउन गाउँगाउँमा किसानलाई सक्रिय बनाइरहेका छौं ।’

यसलाई कसरी नियन्त्रण गर्ने भनेर स्थानीय तहका कृषि शाखासँग समन्वय गरेर काम गरिरहेको धितालले बताए । ‘भेटेसम्म छोपेर नष्ट गर्ने, तितरबितर पार्ने र कता जाँदै छ भनेर निगरानी गर्ने काममा किसानलाई सतर्क पारेका छौं,’ उनले भने, ‘तीनवटा झुन्डमा सलह आएको थियो । अहिले पनि विभिन्न ठाउँमा फैलिरहेको छ ।’ गाउँगाउँमा सलह धपाउन किसान जागराम बस्न थालेका छन् ।

राप्ती गाउँपालिका–२ र ९ मा बालीमा क्षति पुर्‍याएको गाउँपालिकाले जानकारी दिएको छ । सलह डेढ बिघा जमिनमा केही समय बसेर मकैका बिरुवा खाएको राप्ती गाउँपालिकाका कृषि प्रसार अधिकृत महेश अधिकारीले बताए । सलह आउनेबित्तिकै सबै मानिस निस्केर थाल बजाउने, आगो बाल्ने गरेका कारण सलह भागेको उनको भनाइ छ ।

प्यूठानमा बालीनाली जोगाउने चिन्ता छ । दाङ र अर्घाखाँची हुँदै सलह भित्रिएर पहाडी क्षेत्रमा किसानले लगाएको खेतीपातीमा ठूलो क्षति पुर्‍याएको छ । झिमरुक खोलैखोला मंगलबारदेखि सलह गाउँमा भित्रिएको गौमुखी गाउँपालिका–१ अर्खा पैयुपाँटाका स्थानीय रविश्वर थापाले जानकारी दिए । सलह आएर गाउँका पाखापखेरा जताततै भरिएको उनको भनाइ छ । ‘महिनौं मिहिनेत गरेर लगाएको खेती एकैछिन बसेर सखाप पार्‍यो,’ उनले भने, ‘हेर्दाहेर्दै आँसु नै आउने बनायो । यो पीडा कोसँग पोख्नु ?’ फौजी कीरा मारेर बल्लबल्ल जोगाएको मकै सलहले खाएको उनको गुनासो छ ।

डाँडामाथिबाट उड्दै सलह बागलुङतिर जान खोजे पनि कुइरो लागेर चिसो भएकाले बिजुवार र बाग्दुला क्षेत्रबाट आएको सहल फर्केर अर्खा रजबारामै बास बसेको स्थानीय सीताराम थापाले बताए । सलह आएपछि गाउँमा अनिकाल लाग्ने त्रास बढेको उनले सुनाए ।

गौमुखी–३ रजबाराका जोगेन्द्र मल्लले पनि सलह आएर गाउँमा हरियाली सखाप पारेको बताए । जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रबाट सलह भित्रिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जानकारी दिए । मंगलबार दिउँसो मल्लरानीमा प्रवेश गरेको झुन्ड प्यूठानमा प्रवेश गरेमध्ये सबैभन्दा ठूलो रहेको उनको भनाइ छ ।

सलहले अर्घाखाँचीका सबै स्थानीय तहका मकै र धान बालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र अर्घाखाँचीका अनुसार बुधबार दिउँसोसम्म जिल्लाको ३५ प्रतिशत मकैमा क्षति पुगेको छ । क्षति रोक्न सरकारी निकायबाट कुनै पहल भएको छैन ।

आइतबार, सोमबार र मंगलबार गरी अर्घाखाँचीमा तीन समूहमा सलह प्रवेश गरेको थियो । सलहले सबैभन्दा धेरै क्षति भूमिकास्थान नगरपालिकामा गरेको छ । सलहले त्यहाँको ३ हजार ९ सय ४० रोपनी क्षेत्रफलमा लगाएको मकैमा ४० देखि ५० प्रतिशत क्षति गरेको नगरपालिकाका कृषि विकास अधिकृत रामबहादुर थापाले बताए ।

दिनमा फैलिएर बस्ने र रातिमा अग्ला रुखमा बास बस्ने गरेकाले धपाउन विषादी छर्न नसकिएको उनको भनाइ छ । वरिपरि जंगलले घेरिएको शीतगंगा नगरपालिकामा लगाएको मकैबालीमा सलहले आतंक मच्याएको छ । कपिलवस्तु हुँदै यहाँ प्रवेश गरेको सलह ५, ६, ७, ८ ९ र १३ वडामा फैलिएको कृषि विकास अधिकृत अनिलकुमार शर्माले बताए ।

धानचमर फाल्ने बेलामा मकैका पात खाइदिँदा प्रजनन र उत्पादनमा प्रत्यक्ष प्रभाव पार्ने उनको भनाइ छ । सलह धपाउन नसकेपछि नगरपालिकाले प्रदेशमा विषादी मागेको थियो । ज्ञानकेन्द्रमार्फत २ सय मिलिलिटर मालाटिन मात्रै उपलब्ध भएको अधिकृत थापाले जानकारी दिए ।

सन्धिखर्कमा लगाएको ३५, पाणिनिको ३० प्रतिशत मकैबालीमा क्षति पुर्‍याएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । मंगलबार र बुधबार घाम लागेकाले मकैबालीमा धेरै क्षति गरेको निर्देशनालयका खाद्य अधिकृत श्रीधर ज्ञवालीले बताए ।

पाल्पाका निस्दी गाउँपालिका बाहेक अन्य सबै तहका विभन्नि स्थानमा सलह देखिएको स्थानीयको भनाइ छ । रामपुर, पूर्वखोला, माथागढी, बगनासकाली, तानसेन, रिब्दीकोट, तिनाउ, रैनादेवी छहरालगायतका स्थानीय तहमा कहींकतै देखिएको छ । जिल्लाका विभिन्न स्थानमा सलहको झुन्ड आकाशमा निरन्तर घुमिरहेको रैनादेवी छहराकी मेनुका रायमाझीले बताइन् ।


हिमाल उक्लियो सलह

सलहको एउटा झुण्ड म्याग्दी नदी किनारैकिनार धौलागिरी बेस क्याम्पतर्फ लागेको छ । अर्को थोरै संख्यामा हिमालपारिको मुस्ताङ पनि पसेको छ । सलहको एउटा झुण्ड म्याग्दी नदी पछ्याउँदै ताकम, धौलागिरी हिमालमुनिका अन्तिम बस्ती मुदीबगर हुँदै धौलागिरी बेस क्याम्पतर्फ लागेको स्थानीयले बताए ।

केही सलह ताकम, मुना, लुलाङ, खिवाङ, मुदी, बगारा बस्तीमा पनि बसेका छन् । ‘धौलागिरी गाउँपालिकाका बस्तीमा फाट्टफुट्ट देखिएका छन् । समूहमा आएका झुण्ड भने बस्ती नाघेर माथि हिमालतिर लागेका छन्,’ धौलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुनले भनिन्, ‘बालीनाली ढाक्ने गरी सलह देखिएको छैन ।’

सलहको सानो झुण्ड पोखराबाट अन्नपूर्ण हिमालको फेदीबाट मुस्ताङ पुगेको छ । कास्कीको पोखरा, अन्नपूर्ण गाउँपालिका हुँदै घोडेपानी काटेर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको घार, पाउद्वार, दाना हुँदै मुस्ताङको लेतेसम्म देखिएका छन् । कुनै समुहबाट हावाको झोक्काले केही टुक्राएर यता पुर्‍याएको स्थानीयले अनुमान गरेका छन् ।

टिन ठटाएरै लखेटे

सिन्धुलीको मरिणका किसानले टिन ठटाएरै सलह लखेटेका छन् । मरिण गाउँपालिका—१ कुरिन पाखा, रातमाटा, वडा २ को सिर्थौली, थकानडाँडा र रातमाटामा मकै र तरकारीमा बसेको सलहलाई किसानले टिन ठटाएर र धुवा बालेर लखेटेको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए । टिन ठटाउँदा ८० प्रतिशत किरा भाग्ने र बाँकी मरेको पाएको उनले सुनाए ।

सलह आएको सूचना पाएकाले प्रायः किसान बाली कुरेर बसेका थिए । कमलामाई नगरपालिकाको खोल्माडाडा, खोपी खर्क, चियाबारी, सिमबारी, लामीस्वारा, मुडेखर्क, खुर्सानीडाडा, कर्करे माईस्थान, भाडार, बाघमाराका किसानले पनि सलह धपाएका छन् ।

सिन्धुपाल्चोकको हेलम्बु पाँचपोखरीसम्म सलह भित्रिएपछि कृषक आत्तिएका छन् । बुधवार चौतारा आसपासबाट सलहको हुल उड्दै जुगल गाउँपालिकाको बोल्दे, पाङताङ, गुम्बाथान हुँदै तेम्बाथान्सम्म देखिएपछि स्थानीयले प्रशासन र जनप्रतिनिधिलाई गुहारेका थिए । सुरुमा बाह्रबिसे बजारमा मात्रै देखिएको सलहको झुण्ड विस्तारै गाउँतिर उडेको बाह्रबिसेका कृषक देवीबहादुर तिवारीले जानकारी दिए ।

कर्णालीमा पनि भित्रियो

पहिलोपटक मंगलबार सुर्खेतको लेकवेशी नगरपालिका–३ दशरथपुरस्थित कृषि अनुसन्धान केन्द्र (नार्क) मा सलह देखा परेको हो । बीउ उत्पादनका लागि लगाएको मकैबारीमा थोरै संख्यामा सलह देखिएको अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक बन्धुराज बरालले जनाए । ‘किसानले सलह नचिनेकाले थाहा पाएका छैनन्,’ उनले भने, ‘उनीहरुले फट्यांग्रो जस्तो मानेर सामान्य रुपमा लिएका छन्, तर सलह कर्णालीका बारी बारीमा पसिसकेको छ ।’ अहिले सलह दक्षिणबाट उत्तरतर्फ प्रवेश गरेको उनको भनाइ छ ।

सल्यानका शारदा, बाग्चौर, कपुरकोट, छत्रेश्वरी, त्रिवेणीलगायत स्थानीय तहमा सलहको झुन्ड देखिएको छ । झुन्डमा देखिएको सलह किराले मकै र तरकारी नष्ट गर्न थालेको छ । सलह बारीमा पसेपछि बाली बचाउन हम्मे परेको छत्रेश्वरीका किसान वीरबहादुर बस्नेतले बताए । उनका अनुसार बाली र तरकारी बचाउन किसानले पहरा दिन थालेका छन् । सलहले हुर्किंदै गरेको मकैबाली सखाप पार्न थालेको झिम्पेका किसान देवबहादुर रोकाले गुनासो गरे ।

दुर्गालाल केसी (दाङ), गिरुप्रसाद भण्डारी (प्युठान), अमृता अनमोल (बुटवल) र माधव अर्याल (पाल्पा), घनश्याम खड्का (म्याग्दी), राजकुमार कार्की (सिन्धुली), अनिश तिवारी (सिन्धुपाल्चोक), चाँदनी कठायत (वीरेन्द्रनगर)

प्रकाशित : असार १८, २०७७ ०७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?